देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालद्वारा  समसामयिक प्रस्ताव पारित

प्रकाशित मिति : २०७६ बैशाख १

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । मोर्चाले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनबाट केही महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ । पारित प्रस्तावमा भनिएको छ :

१. वर्तमान सरकारले विपक्षी राजनीतिक पार्टीहरुलाई दमन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समुहमाथि लगाएको प्रतिबन्धको बिरोध गर्दै उक्त प्रतिबन्ध तत्काल हटाउन माग गर्दछ।

२. हाम्रो संगठन लगायत अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशासनद्वारा गिरफ्तार गरेर झुट्ठा मुद्दा लगाउने र मुद्दा मामिलामा फसाउने कार्यको घोर विरोध गर्दै वहाँहरुको विनाशर्त रिहाईको लागि जोडदार माग गर्दछ।

३. हालसालै बारा र पर्सा जिल्लामा आएको विध्वंसकारी आँधिहुरी जस्तो प्राकृतिक प्रकोपको कारण व्यापक जनधनको क्षति भएकोछ र त्यहाँका कैयौं स्थानीय जनताको मृत्यु भएको छ भने कैयौं पीडित र घाईते भएका छन् । मृतकहरु प्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजन प्रति सहानुभूति व्यक्त गर्दै पीडितहरुको लागि क्षतिपुर्ति र घाईतेहरुको उपचारको व्यबस्थापन गर्न माग गर्दछ।

४. अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गू देशका सरकारहरुले भेनेजुएलाको आन्तरिक मामिलामा गरेको हस्तक्षेपको घोर बिरोध गर्दै उक्त साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गर्दछ।

५. विगतको जस्तै वर्तमान सरकारले गरेका जलश्रोत लगायत विभिन्न असमान सन्धि सम्झौताहरु प्रति गम्भिर आपत्ति व्यक्तगर्दै सम्पूर्ण असमान सन्धि सम्झौताहरुको खारेजीको माग गर्दछ।

६. सत्ताको संरक्षणमा व्यापकरुपमा फैलिएको भ्रष्टाचारको घोर विरोध गर्दै त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न जोडदार माग गर्दछ।

७. दैनिक उपभोग्य वस्तुहरुमा भएको महंगी र कालाबजारी प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै महंगी र कालाबजारी नियन्त्रण गर्न मागगर्दछ।

८. देशमा भैरहेको अशान्ति, असुरक्षा, हत्या, बलात्कार जस्ता जघन्य अपराधहरु लाई नियन्त्रण गरी अमन चयन कायम गर्न र अपराधिहरुलाई कारवाहि गरी पीडित पक्षलाई न्याय र राहतप्रदान गर्न माग गर्दछ।

९. भारतद्वारा देशको विभिन्न स्थानहरुमा भएको सीमा अतिक्रमण र ज्यादतिको विरोध गर्दै सीमा अतिक्रमण रोक्न र विवादित क्षेत्रको सीमा नियमन गर्न माग गर्दछ।

१०. भारतले प्रकाशित गरेको नेपालको नक्कली नक्सा र त्यो नक्सा नेपाल सरकारले प्रयोगमा ल्याएको प्रतिगम्भिर आपत्ति जनाउँदै सक्कली नक्सा प्रयोगमा ल्याउन माग गर्दछ।

११. नागरिकता ऐन संसदमा प्रस्तुत भै विचाराधीन रहेको अवस्थामा गृह मन्त्रालयकातर्फबाट अंगिकृत नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने परिपत्र गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ र सरकारको त्यस प्रकारको कार्यको बिरोध एवं खारेजीको माग गर्दछ।

१२. ब्रिटीश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) द्वारा वेलायत सरकारले गरेका अन्याय र असमान व्यबहारका बिरुद्ध चलाएको आन्दोलन र संघर्षका कार्यक्रमप्रति समर्थन एवं एक्यवद्धता व्यक्तगर्दछ र वेलायत सरकारको थपगोर्खा रेजीमेन्ट बनाउने र नेपाली महिलालाई समेत भर्ति गर्ने नीतिप्रति गम्भिर आपत्ति जनाउँदै त्यसमाथि रोक लगाउन माग गर्दछ।