देजमोको बिराट जनप्रदर्शनले दिएको सन्देश

देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्तमोर्चा हो । चिनियाँ जनवादी क्रान्तिको अनुभवका आधारमा माओले भन्नु भएको चिनियाँ क्रान्तिलाई सफलतामा पुर्याउन तीनवटा हतियार, जसलाई उहाँले क्रान्तिका तीनजादुगरी हतियारको महत्वपूर्ण भूमिका रहेको र ती तीन जादुगरी हतियार क्रमशः पार्टी, सेना र मोर्चा थिए । माओले क्रान्तिलाई सफलतामा लैजान उपयोग गरेका तीन हतियार

अहिले विश्वका क्रान्तिकारी कम्युनिस्टले गर्ने क्रान्तिका लागि पनि उत्तिकै महत्वपूर्ण छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) ले पनि यी तीन हतियारलाई नेपाली क्रान्तिका लागि अनिवार्य मान्दै आएको छ । त्यसकै लागि केही वर्षदेखि उसले पार्टीलाई लेनिनवादी स्प्रीट, जसलाई बोल्सेविक स्प्रीट भनिन्छ, विकास गर्ने काममा काफी सफलता हासिल गरेको छ ।
अब उसको ध्यान अन्य बाँकी दुई हतियारहरु अर्थात् सेना र मोर्चाको विकासमा लगाएको छ ।

यहि नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्तमोर्चा वा देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)को प्रथमराष्ट्रिय सम्मेलन यही चैत्र २४गते काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकटी मण्डपमा विराट जनप्रदर्शनका साथ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’को प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ । र यसको बन्द सत्र २२ र २३ गते काठमाडौंको पुरानो बानेश्वरस्थित ओम साई क्याटरिंगमा भइरहेको छ ।

चैत्र २४ गते नेपालको इतिहासमा काठमाडौंका जनताले नेपालका क्रान्तिकारी कम्युनिस्टहरुको संयुक्तमोर्चा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन समिति’को आव्हानमा राजाको नाकै अगाडि ‘दरवार मार्ग’ वपिरि बृहत जनप्रदर्शन गरेर नेपालको राजतन्त्रका विरुद्ध नारा लगाएको दिन हो र यसकै दबाबमा नेपाली कांग्रेस र तत्कालिन माले लगायत अन्य केही दक्षिणपन्थी संशोधनवादीहरुको मोर्चा ‘वाममोर्चा’ ले दरबारमा गएर चैत्र २६ गते राजासित सम्झौता गरेर देशमा बहुदलीय संशदीय व्यवस्थाको पुनस्र्थापना गरेको दिन हो । चैत्र २६ गते ३० वर्से निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यभएको दिन हो । यद्धपि अहिले देशमा राजतन्त्रको अन्त्यभएर गणतन्त्र स्थापना भएको छ ।

२०४७ को चैत्र २४ गते जनआन्दोलनको उत्कर्षको दिन हो, जुन दिनको क्रान्तिकारी कम्युनिस्टहरुका लागि ऐतिहासिक महत्व छ । यहि ऐतिहासिक जनआन्दोलनको दिन देशभक्त जनगणतान्त्रिक मोर्चाको आव्हानमा काठमाडौंको भृकुटी मण्डप प्रदर्शनीमार्गमा विराट जनप्रदशनका साथ त्यसको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

देजमोले यो आन्दोलनलाई अग्रगामी परिवर्तन चाहने सबै नेपालीको साझाकार्यक्रमका रुपमा अघि बढाउन चाहेको छ । जसका लागि फेरि अर्को ऐतिहासिक जनआन्दोलनको आवश्यकता छ । विगतका आन्दोलन भन्दा यो आन्दोलन बिल्कुलै फरक हुनेछ किनभने अवको यो आन्दोलनले लिने दिशाभनेको संसदीय व्यवस्थाको पूर्ण उन्मूलनका साथै संघीय जनगणतन्त्र नेपालको स्थापना हुने छ । यसका लागि सबै खाले प्रतिक्रियावादी व्यवस्थाको उन्मूलन आवश्यक पर्दछ । आजसम्म नेपाली कम्युनिस्टहरुले नेपालका हरेक परिवर्तनका लागि त्याग तपस्या र बलिदान दिएका छन् ।

तर, अन्त्यमा, त्यसको प्रतिफल देशभित्रका र देशबाहिरका प्रतिक्रियावादी तत्वहरुले लिंर्दै आएका छन् । के स्पष्ट हो भने नेपालको सन्दर्भमा वर्तमानको संघीय लोकतान्त्रिक गणतन्त्रको अग्रगामी विकल्प संघीय जनगणतन्त्र नै हो । जसका लागि वर्तमान नेपालको संविधान २०७२ एउटा पश्चगामी संविधान हो र अहिलेको ओली सरकार कम्युनिस्ट नामको प्रतिक्रियावादी सरकार ती सबैको रक्षाकबज भएर सरकारमा छ र त्यसले लोकतान्त्रिक पद्धतीलाई ध्वस्त बनाउदै देशमा एउटा फासिस्ट सरकार सञ्चालन गर्न खोज्दैछ ।

गत संसदीय निर्वाचनमा दुईतिहाई मतप्राप्त गरेको दम्भ अहिले ओली सरकारले जताततै प्रदर्शन गर्न थालेको छ । जसको पछिल्लो परिणाम विप्लव नेतृत्वको नेकपा माथिको प्रतिवन्ध हो । त्यसलाई पनि माथगर्दै ओली सरकारका गृहमन्त्रीको आदेशमा देजमोले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्ने क्रममा मोर्चाका नाराहरुको भित्ते लेखनमाथि दमन गरेको छ र ओलीका प्रहरीहरु भन्दै छन्–“क्रान्तिकारी माओवादीलाई भित्ते लेखन गर्न नदिनु भन्ने माथिको आदेश छ ।”त्यो माथि भनेको कि त गृहमन्त्रीको आदेश हो कि त प्रधानमन्त्रीको । तर ती सबैलाई च्यातचुत पार्दै आखिरमा देजमोले आफनो ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सानदार रुपमा सफल गरेको छ ।

ओली सरकार बनेको लगत्तै पछि २०७४ फागुन २५ गते देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई राष्ट्रियता, जनतन्त्र र जनजीवीकासंग सम्वन्धित ९४बुँदाको ज्ञापनपत्र बुझाएको थियो । तर ओली सरकारले आफ्नो प्रतिवद्धतालाई विर्सेर झन ती मागहरुका विपरित कामहरु गरिहेको छ । मानौ ऊ एउटा मत्ताहात्ति हो, जसले कसैको स्वर सुन्न चाहदैन र अगाडि भेट भएका सबैलाई तहसनहस पार्दै अगाडि बढदछ ।

उसका लागि अहिले संविधान पनि आफै भएको छ । देश र जनता सबै आफै । यो भनेको हिटलर र मुसोलिनीको पदचापको अनुशरण हो । यसरी ती तानाशाहरुको अन्त्य जसरी भयो ओलीको सरकारको अन्त्य पनि त्यही हुने छ यदि फासिस्ट बन्ने सपना नछाडे ।

ओली सरकार एकातिर ‘कम्युनिस्टहरुको ऐतिहासिक बिजय’को सज्ञा दिंदै ‘अब समाजवादको यात्रा अघि बढेको’ भन्दै छ भने अर्कोतीर देशभित्र लगानी प्रवद्र्धन गर्न विदेशी दलाल तथा एकाधीकार पुँजीवादका हतियार ‘बहुरास्ट्रिय कम्पनीहरु’का लगानीका लागि हारगुहार गरिरहेको छ । यसले यो सरकारको समाजवाद एउटा प्रतिक्रियावादी समाजवाद–जसले इतिहासका यथार्थहरुलाई अंगीकार गर्न आनाकानी गर्दछ र जसले जनतामाथि भ्रम पारी रहन सर्वहारावर्गको मगन्ते झोलालाई आफ्नो झण्डा बनाउने गर्दछ ।

नेपालमा अहिले ओली सरकारले विगतको उसको सर्वहारावर्गीय मुक्तिको झोलालाई ‘बहुरास्ट्रिय कम्पनीहरु’का लगानीका लागि हारगुहार गर्दै एउटा मगन्ते झोलालाई यो सरकारको विकासको झण्डा बनाएको छ । ओली र प्रचण्डले नेपाली जनतालाई ठग्न लगाएका नाराहरु–“सिंहदरवारको अधिकार गाउँगाउँर समृद्ध नेपाल, सुखी नेपाली”ओलीको एक वर्से कार्यकालमै उल्टिएका छन् । जनता भन्दै छन्–“सिंहदरवारको भ्रष्टाचार गाउँगाउँमा र दरिद्र नेपाल, दुखी नेपाली” । माथि नै भनिसकियो–उसको समाजवाद अब ‘बहुरास्ट्रिय कम्पनीहरु’का लगानीका लागि हारगुहार गर्ने एउटा मगन्ते झोलाभित्र थन्किएको छ ।

यहि परिप्रक्ष्यमा चैत्र २४ गते देशभक्त जनगणतान्त्रिक मोर्चाको काठमाण्डौमा सम्पन्न भएको विराट जनप्रदर्शनबाट देशमा एउटा नयाँ खालको परिस्थितिको आंकलनको सम्भावना टडकारो देखिएको छ । यसले देशमा आमूल परिवर्तनका लागि एउटा नयाँ कार्यक्रमको घोषणाको आवश्यकता परिमार्जन हुने निस्चित देखिएको छ । आम नेपाली, जसले अग्रगामी परिवर्तन चाहन्छन, चैत्र २४ गतेको देशभक्त जनगणतान्त्रिक मोर्चाको काठमाण्डौमा भएको विराट जनप्रदर्शनमा भौतिक तथा नैतिक सहभागिताका साथ उपस्थित जनाएका छन् । यो भावी क्रान्तिका लागि एउटा सुखद र राम्रो सन्देश हो ।

उक्त उद्घाटन समारोह र त्यसले अगाडि सारेका परिवर्तनका एजेण्डाहरु र समारोहका क्रममा घन्काइएका नाराहरुले के स्पष्ट पारेको छ भने नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा गरिने क्रान्ति एउटा प्रतिक्रियावादी शासनसत्ताको स्थानमा अर्को प्रतिक्रियावादी शासन सत्ताको स्थापनान भई विद्यमान सत्तालाई ध्वंश पारि त्यसको चिहानमा अर्को नयाँ व्यवस्था–सही मानेमा जनताको व्यवस्थाको स्थापना हो । जनताको नाममा दलाल तथा नोकरशाहाहरुको हितमा कामगर्ने वर्तमान प्रतिक्रियावादी व्यवस्थाको अन्त्य र जनगणतन्त्र नेपालको स्थापना हो ।