यसरी आयो चक्रवात हावाहुरी

प्रकाशित मिति : २०७५ चैत्र १९

काठमाडौं । आइतवार नेपालको बारा र पर्सा जिल्लामा आएको हावाहुरी सामान्य प्रकृतिको मात्र नभएर चक्रवाती प्रकारको थियो । साँझको पाँच बजेतिर बिहारबाट सुरु भएको पश्चिम बंगालको हावाहुरी सातबजेसम्म नेपालको सीमानामा आइपुगेको थियो ।यसको बेग ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा रहेको थियो भने पश्चिमतिरबाट नेपालमा अर्को आँधीहुरी सोही समयमा भित्रिइसकेको थियो । पहाडी तथा उच्च पहाडी भूगोलमा ठक्कर खाँदै र अबरोधको सामना गर्दै आएको यो पश्चिमी हुरीको वेग ४५ देखि ५५ किलोमिटर प्रतिघण्टा रहेको थियो । बिहारतिरबाट आएको आँधीहुरीको भन्दा यसको बेग १० किलोमिटर प्रतिघण्टाका हिसाबले बढी थियो ।

पश्चिममा पहाडी भूगोलहरुमा कोचिदै र ठक्कर खाँदै आएको यो हावाहुरी बुटवलमा आइ पुग्दा निकै तेज गतिमा दक्षिणपूर्वतिर मोडिएको थियो । यसले यहाँबाट तराइको समथर मैदानी भाग च्यापेर अघि बढिरहेको थियो । मैदानी भाग पाएपछि अबरोधको कमीका कारण अझैं बेगिन पुगेको पश्चिमी हावाहुरी र बिहारतिरबाट आएको हावाहुरीका बीचमा बारापर्साको आकाशमा जम्काभेट हुँदा भुमरी वा चक्रवातमा परिणत भएको थियो ।

विपरीत दिशाबाट आएका हावाका झोक्काहरु एकपासमा पर्रा छुटाई बेह्रिन पुगेपछि चक्रवात वा भूमरीको रुप धारण गर्न पुगेको थियो । उत्कर्षमा चलेको यो भूमरी लगभग सुरुदेखि अन्त्य हुँदासम्म साढे तीन मिनेटसम्म चलेको थियो । यो बेलामा घुमिरहेको हावाको चक्रमा जमिन वा भूसतहमा रहेका कमजोर भौतिक तथा प्राकतिक निर्मित कुराहरु यसको मुखमा पर्न पुगे ।

रुखविरुवा, घरगोठ, पानी पोखरी, अन्नबाली तथा मानिस र अन्य जनावर यसको अत्याचारमा पिसिन पुगे । हावाहुरीले निर्मम रुपमा यी भौतिक उपस्थिमाथि रजाइँ गर्यो । जनधनको ठूलो नोक्सानी भयो । यो घटनाबाट पाठ सिकेर पूर्व सूचना प्रणाली जडानका लागि सरकारमाथि ठूलै दबाब परेको छ । तर यस अघिका घटनाहरुमा पनि यस्ता दबाब नपरेका होइनन् । सरकार ती घटना र जनगुनासाहरु पचाउन कानमा तेल हाले सुत्ने काम गर्यो ।

उता भारतमा आँधी आउँदै छ भनेर पूर्वसूचना प्रणलीले जनकारी दिए पछि जनतालाई पहिल्यै सचेत गराइएको थियो । र, त्यहाँ दुईतिरको हावा जुध्न पनि पुगेको थिएन । त्यहाँ जनजीवन सामान्य नै रहेको छ । नेपाल यस्ता प्राकृतिक प्रकोपहरुबाट सधैं प्रताडित नै छ । तर भूकम्प, चट्याङ, बाढीपहिरो, हिम पहिरो, हिमताल बिस्फोटन, हावाहुरी, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट बच्नका लागि पूर्वसूचना प्रणाली भने जडान गरिएका छैनन् ।

हावाहुरीले निम्त्याएको बारा पर्साको विपत्ति पछि मुस्किलले अनुसन्धानको लागि काम गरिने ओली सरकारले मौखिक प्रतिबद्धता जाहेर गरेको छ ।