मार्क्सवादको उदात्त आदर्शको हतियार हाम्रो विजयको मूल आधार हो

प्रकाशित मिति : २०७५ चैत्र १९

महासचिव कमरेड, देशभित्र अहिले सोचिएकाभन्दा फरक घटनाक्रमहरु सामुन्ने आएका छन् । पछिल्लो कालखण्डमा विकसित घटनाक्रमलाई कसरी विश्लेषण गर्नुभएको छ ?

अहिले देशमा केही फरकखालका राजनीतिक घटना क्रमहरु घट्दै आएका छन् । यस सन्दर्भमा सीके राउतको रिहाइ, रेशम चौधरी लगायतकाहरुलाई दिइएको सजाय र विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध जस्ता विषय बढी उल्लेखनीय देखिन्छन् ।

सिके राउतसँगको ११ बुँदे सहमति, कैलाली घटनामा रेशम चौधरीलगायत ११ जनालाई गरिएको जन्मकैदको सजाय, विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धलगायतका विषयको क्रान्तिकारी माओवादीले कडा विरोध गर्दै आएको छ । यी समस्याहरु के हुन् र कसरी समाधान गरिनु पर्दथ्यो ?

सीके राउतसित अप्रत्यासित रुपमा ११ बुँँदे सहमति गरियो । डबल नेकपाको नेतृत्व पंक्ति र प्रतिपक्षी राजनीतिक दललाई पनि थाह नै नदिई गरिएको त्यस प्रकारको सहमति आशंकाको घेराभित्र रहेको छ । सो सहमतिको गम्भीर विषय भनेको दोहोरो अर्थलाग्ने लाग्ने र जनमतसंग्रहको छनक दिने ‘जनअभिमत’ भन्ने विवादास्पद पदावली हो । सो सहमति गरेकै बेला प्रधानमन्त्रीसमक्ष सीके राउतले राज्यद्वारा जनमतसंग्रहको सम्प्रभुतालाई स्वीकार गरिएको भनेर बोले ।

परन्तु, त्यसबारे प्रधानमन्त्री ओलीबाट कुनै पनि प्रतिवाद गरिएन । यो देशको राष्ट्रिय स्वाधीनता, सम्प्रभुता र सार्वभौमिकतासित सम्बन्धित गम्भीर प्रकृतिको मुद्दा र समस्या हो । यो त्यत्तिकै हचुवाको भरमा हल हुन सक्ने विषय पनि होइन । यसले प्रधानमन्त्रीप्रति गम्भीर प्रकारको आशंका जन्माएको छ । कैलाली टीकापुरको हत्याकाण्डसित सम्बन्धित रेशम चौधरीलगायतका ११ जनालाई दिइएको जन्मकैद सजाय अत्यन्तै विडम्बनापूर्ण रहेको छ । कैलालीको त्यो घटना राजनीतिक प्रकृतिको रहेको छ ।

राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका क्रममा घटिएको त्यो घटना कसले घटायो भन्ने स्पष्ट छैन, राजनीतिक आन्दोलनसित जोडिएकाले त्यो घटनालाई अदालती प्रक्रियामा लैजानु सरकारको प्रतिशोधको भावनाले काम गरेको छ । त्यसो गरिनु हुन्न र त्यसलाई राजनीतिक रुपमा समाधान गरिनुपर्दछ ।

जहाँसम्म विप्लव नेतृत्वको नेकपामाथि सरकारद्वारा प्रतिबन्ध लगाइएको विषय हो, त्यो नितान्त गलत छ र यसबाट सरकार फासीवादको अभ्यास गर्न गइरहेको कुरा प्रष्ट हुन्छ । सरकारले उक्त प्रतिबन्ध फिर्ता लिनुपर्छ, विप्लव नेतृत्वको नेकपालाई राजनीतिक दलका रुपमा लिई त्यसप्रति राजनीतिक व्यवहार गरिनुपर्दछ । राजनीतिक समस्याको समाधान दमन र प्रशासनिक रुपमा होइन, राजनीतिक रुपमै गरिनुपर्दछ ।

खासगरी सिके राउत र उनीसँग सरकारले गरेको सहमतिलाई अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिसँग जोडेर व्याख्या गर्ने गरिएको पाइन्छ । यहाँहरुको अध्ययन तथा विश्लेषण के छ ?

सरकारद्वारा सिके राउतसित गरिएको सहमति अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिसित जोडिएको हुनसक्छ । यसलाई गम्भीरतापूर्वक लिनुपर्दछ । यो सामान्य प्रकारको सहमति जस्तो लाग्दैन ।

अमेरिका सिधै नेपाल पस्दैछ भनेर यहाँले धेरै ठाउँमा भन्दै आउनु भएको छ । अमेरिकाको नेपालमा प्रत्यक्ष र हस्तक्षेपकारी उपस्थितिले नेपालको समग्र राजनीति र क्षेत्रीय राजनीतिमा के कस्तो असर पार्ने देख्नुहुन्छ ?

अमेरिकाले इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत एकातिर नेपालमा आफ्नो चलखेल बढाउने र अर्काेतिर चीनलाई घेरामा हाल्ने सोच बनाइरहेको छ । यसले निश्चित रुपमा दूरगामी हिसाबले नकारात्मक असर पार्दै जाने देखिन्छ । यसलाई नेपाली जनता, सरकार र विभिन्न पार्टीहरुले के कसरी बुझ्छन् र के कस्तो भूमिका निर्वाह गर्छन् ती कुरा पनि ध्यान दिन योग्य छन् । जे होस्, यसबारे थप गम्भीर र सचेत बन्नुपर्दछ ।

नेपाल अहिले त्रिदेशीय स्वार्थको चेपुवा र तानातानमा परेजस्तो देखिन्छ । नेपालका शासकहरुले छिमेक तथा विदेश नीतिमा कुटनीतिक सन्तुलन कायम गर्न सकेको देखिएको छैन । शासकहरु विदेशी स्वार्थको गोटी बन्दै जाँदा नेपालको समग्र भविष्य कस्तो देख्नुहुन्छ ?

अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहिआएको नेपाल बाह्य शक्ति केन्द्रहरुको चेपुवा र तानातान पर्नु त कुनै अनौठो होइन । तर यहाँ सरकारको कूटनीति, विभिन्न राजनीतिक दलहरुको व्यवहार र जनताले खेल्ने भूमिकाको विशेष महत्व र अर्थ हुन्छ । सरकार जोसित कुरा गर्यो, त्यसैसित ठीक्क मिल्छ, त्यसलाई राजनीति के हो, कूटनीति के हो केही पनि थाहा छैन ।

कसले कहाँ फसाउने हो, त्यसको पनि कुनै चिन्ता गर्दैनन् । पुराना सरकार विदेशका गोटी बन्दै आएका छन् र अहिलेको सरकार पनि त्यही नै हो । यसबारे देशभक्त तथा क्रान्तिकारी कम्युनिष्टहरु सचेत र सतर्क बन्नु पर्दछ । नेपाली जनसमुदाय देशको राष्ट्रिय स्वाधीनता रक्षाको निम्ति संघर्षशील रहिआएका छन् । नेपालको समग्र भविष्य समुज्ज्वल छ ।

प्रसंग बदलौं, विप्लव नेतृत्वको नेकपालाई क्रान्तिकारी माओवादीको हेर्ने दृष्टिकोण के हो ?

विप्लव नेतृत्वको नेकपालाई हेर्ने हाम्रो दृष्टिकोण भौतिकवादी द्वन्द्ववाद हो, त्यस समूहका कमीकमजोरी वा दुर्बल पक्षको हामीले सैद्धान्तिक रुपमा आलोचना तथा विरोध र सबल पक्षलाई प्रोत्साहित गर्दछौं ।

वार्ता टोलीसमेत निर्माण गरी कार्यगत एकता र पार्टी एकताका प्रक्रियाहरु अगाडि बढाइएका थिए । त्यो किन अगाडि बढ्न सकेन ?

विप्लव नेतृत्वको नेकपासित कार्यगत एकता र पार्टीको एकताको आवश्यकता प्रक्रियाबारे हामीले गम्भीर जिम्मेवारीबोधका साथ निरन्तर पहल गर्यौं । परन्तु, उहाँहरुले विषयलाई गम्भीरतापूर्वक लिनु भएन ।

क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाबीच रहेका सैद्धान्तिक वैचारिक तथा नीति कार्यक्रमहरुमा रहेका भिन्नताहरु के हुन् र विप्लव नेतृत्वको नेकपा लगायत अन्य क्रान्तिकारी समूह तथा व्यक्तिहरुसँगको एकताको आधार के हुन सक्छ ?

विप्लव पक्षसित मार्क्सवाद–लेनिनवाद–माओवादलगायतका कतिपय विषयमा समान समझदारी भए पनि नेपाली क्रान्तिको आधारभूत कार्यक्रम, नीति र कार्यदिशाका बारेमा हाम्रा कैयौं भिन्नताहरु पनि छन्, उहाँहरु नेपाली क्रान्तिको वर्तमान चरणमा कहिले एकैसाथ नयाँ जनवाद तथा समाजवाद दुवै र कहिले समाजवाद भन्नुहुन्छ । अनि उहाँहरुले भन्ने गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा अत्यन्त अमूर्त, अस्पष्ट र रहस्यमय देखिन्छ ।

त्यसैगरी उहाँहरु सत्ता साझेदारीको कुरा गर्दै आउनुभएको छ । त्यो पनि के हो अस्पष्ट छ । अनि उहाँहरुले मजदुर वर्गको ठाउँमा मध्यमवर्गलाई क्रान्तिकारी बताउनुहुन्छ । त्यस्तै उहाँहरु उत्तर–साम्राज्यवादको कुरा गर्नुहुन्छ । उत्तर साम्राज्यवादी पदावलीले त साम्राज्यवाद समाप्त भएको भन्ने अर्थ दिन्छ । उहाँहरुको के कुरा हो, त्यो पनि स्पष्ट छैन । भिन्नताका कुरा यस्तै यस्तै छन् । यी विषयबारे हाम्रो कहिल्यै स्पष्ट र खुला छलफल र बहस भएको छैन ।

जहाँसम्म विभिन्न क्रान्तिकारी कम्युनिष्ट समूहहरुसित पार्टी एकताको आधारहरुको कुरा हो, ती मूलतः यी हुन् : (१) मार्क्सवाद, लेनिनवाद, माओवाद (२) नयाँ जनवाद (३) बल प्रयोगको सिद्धान्त (४) जनवादी केन्द्रीयताको मान्यता । यी पार्टी एकताका मोटामोटी आधार हुन् । यस अतिरिक्त अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनसित सम्बन्धित विषयमा पनि समान समझदारी हुन जरुरी छ ।

नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी धारको मूल नेतृत्व तथा शिखर व्यक्तित्वको हैसियतमा यहाँले छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहलकदमी पटकपटक गर्नुभयो र गरिरहनु भएको छ । यसमा के कस्ता चिन्तन र प्रवृत्तिहरुले अवरोध उत्पन्न गरिरहेका छन् ?

हो, यस सम्बन्धमा पहलकदमी बारम्बार तथा निरन्तर गरिएको छ । यस प्रक्रियामा अवरोध पैदा हुनुमा मूलतः वैचारिक तथा राजनीतिक कारणहरुले काम गरेका छन् । अझै ठोसरुपमा भन्नुपर्दा सम्बन्धित पक्षको मूल नेतृत्वपंक्तिमा विद्यमान केही संकीर्णता, केही अहम् र दक्षिणपन्थतिरको सन्निकटकताजस्ता चिन्तन र प्रवृत्तिले काम गरेको देखिन्छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले क्रान्तिको आम कार्यदिशा भनेर नयाँ जनवादी क्रान्ति भनेको छ । क्रान्ति पूरा भयो, बन्दुकको औचित्य सकियो, अब आर्थिक क्रान्तिको पालो हो भनेर कम्युनिस्टकै आवरणमा एकथरि मानिसहरुले कोकोहोलो मच्चाइरहँदा संक्षिप्तमा नयाँ जनवादी क्रान्तिका आधारहरुबारे प्रष्ट पारिदिनुस् न ।

कम्युनिष्ट आवरणमा रहेका कतिपय तत्वहरुले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेर कोकोहोलो मच्चाइरहेका छन् । राजनीतिक क्रान्ति र आर्थिक क्रान्ति बेग्लाबेग्लै चरणमा गरिने क्रान्ति होइनन्, ती एउटै समग्रताका भिन्न पक्ष हुन् । वस्तुतः नेपालमा नयाँ जनवादी क्रान्ति अझै सम्पन्न भएको छैन । नेपालमो नेपाली जनवादी क्रान्ति गर्नु वा हुनुपर्ने आधार वा कारण मूलतः यी हुन् : पहिलो, हाम्रो देश अझै पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा मूलतः नवऔपनिवेशिक अवस्थामा छ ।

आन्तरिक रुपमा यहाँको प्रतिक्रियावादी शासकवर्गले वैदेशिक प्रतिक्रियावादसित साँठगाँठ गरेर आफ्नो आयु लम्ब्याएको छ भने बाह्य रुपमा यहाँ राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक क्षेत्रमा विभिन्न प्रकारका हस्तक्षेप जारी नै छन् । भारतीय विस्तारवादसित गरिएका व्यापार, पारवहन, जलविद्युतलगायत तमाम क्षेत्रमा भए गरिएका असमान सन्धिहरु कायमै छन् । दोस्रो, यहाँ एकातिर दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्ग र अर्काेतिर साम्राज्यवाद तथा विस्तारवादको दोहोरा शोषण उत्पीडन कायमै छ ।

तेस्रो, यहाँ स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र र औद्योगिक पुँजीको विकास हुन सकेको छैन, दलाल तथा नोकरशाही पुँजीको आधिपत्य छ । चौथो, यहाँ अझै पनि भूमि समस्याको समाधान भएको छैन । जमिनमाथि सामन्ती उत्पीडन तथा निर्वाहमुखी कृषि प्रणाली कायमै छ । कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण हुन सकेको छैन । किसानहरु अझै मुक्त हुन सकेका छैनन् । पाँचौं, यहाँ महिला, दलित, जनजाति, मुस्लिम तथा मधेसी समुदाय उत्पीडनको मारमा छन् । क्षेत्रीय उत्पीडन र असन्तुलन कायमै छन् । छैठौं, यहाँ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको अझै समाधान हुन सकेको छैन । उक्त सबै आधारहरुमाथि ध्यान दिंदा यहाँ नयाँ जनवादी क्रान्तिको आवश्यकता अझै छ ।

नयाँ जनवादी क्रान्तिको तयारी क्रान्तिकारी माओवादीले कसरी गरिरहेको छ ? क्रान्तिका कार्यनीतिक स्टेपहरुमा पार्टी अलमलिएको र अकर्मण्यतामा फसेको हो कि भन्ने पनि इतर वृत्तबाट आउने गरेका छन् । यसबारेमा स्पष्ट पारिदिनुस् न ।

हामी आफ्नै किसिम र तरिकाले नयाँ जनवादी क्रान्तिको तयारीमा लागिरहेकै छौं । हाम्रो कार्यक्रम, नीति तथा कार्यदिशासम्बन्धी सोच र मान्यता पनि मूलतः सही र्नै छन् । यी विषयमा परस्थितिको आरोह–अवरोध जटिलतासितै विकास पनि गर्दै जानु पर्दछ । जहाँसम्म कार्यनीतिको स्टेपहरुमा अल्मलिएको र अकर्मण्यतामा पार्टी फसकेको हो कि भन्ने प्रश्न छ । यसलाई दुई ढंगले हेर्दा र बुझ्दा राम्रो हुन्छ ।

पहिलो कुरा त हामीमा केही कमी–कमजोरी तथा सीमा पनि छन् । तिनलाई सच्याउँदै र तिनमा विजयहरुसित गर्दै जानुपर्छ । दोस्रो, अहिले हामी एकातिर अजङ्गको दक्षिणपन्थी, अवसरवादी पहाडलाई फोर्दै र अर्काेतिर निम्न पुँजीवादी अधैर्यका बारबन्धनहरुलाई तोड्दै क्रान्तिको बाटो खन्न गइरहेका छौं । अझै हामी क्रान्तिका बाङ्गाटिङ्गा गोरेटा र घोरेटा हुँदै अगाडि बढ्नुपर्दछ । हाम्रो गन्तव्य स्पष्ट छ र भविष्य समुज्ज्वल छ ।

नेपालको भूराजनीतिक विशिष्टता र क्रान्तिको मोडलका बारेमा संक्षिप्तमा बताइदिनुस् न । किन नेपालको वाम वा लोकतान्त्रिक आन्दोलनमा इण्डिया हाबी र निर्णायक भइरहन्छ ? स्वतन्त्र हैसियतमा नेपालमा किन राजनीतिक आन्दोलनहरु निर्णायक बन्न सकिरहेका छैनन् ? यसलाई कसरी चिरेर जान सकिन्छ ?

भूराजनीतिक विशिष्टता नेपाली क्रान्तिका निम्ति अवश्य नै एउटै विशिष्ट मननीय विषय हो । त्यसैले नेपाली क्रान्तिको मोडेल पनि नेपालकै भूराजनीतिका विशिष्ट तथा आधारित हुन्छ । रुसी, चिनी वा अन्य कुनै मोडेल हाम्रा निम्ति आदर्श मिसन हुन सक्छन्, सन्दर्भ पनि हुनसक्छन् ।

तर जे–जस्तो भए पनि नेपाली क्रान्तिको मोडेल विशिष्ट अर्थमा नेपाली नै हुन्छ । हो, इण्डिया हावी हुने कुराले हाम्रो टाउको दुखाएकै छ । आफ्नै पहल र आफ्नै खुट्टामा उभिएर स्वतन्त्र राजनीतिका आन्दोलनलाई निर्णायक बनाउन राजनीतिक, सामाजिक, आर्थिक तथा सामरिक पक्ष र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विशिष्टता र समग्रतामा रणनीति र कार्यनीतिका श्रृंखलाहरुको विकास र विन्यास गर्नुपर्छ ।

यस निम्ति हामीमा कसैसित नझुक्ने अदम्य साहस तथा संकल्प र क्रान्तिकारी दृढता तथा लचकताको द्वन्द्वात्मक संयोजन आवश्यक पर्दछ । नेपाली क्रान्तिका भूविशिष्टताबाट पैदा हुने प्रतिकूलतालाई भूराजनीतिक विशिष्टताकै अनुकूलतामा ढाल्न सकिन्छ र ढाल्नु पर्दछ । किनकि जहाँ प्रतिकूलता छ, त्यहाँ अनुकूलता पनि हुन्छ । द्वन्द्ववादले हामीलाई यही सिकाउँछ ।

हालै पार्टीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा मेची–महाकाली अभियान सञ्चालन गरेको छ र २४ मा वृहत् जनप्रदर्शनसहित भव्य रुपमा राष्ट्रिय सम्मेलनको पनि तयारी भइरहेको छ । पार्टीले संयुक्त मोर्चालाई कुन रुपमा अगाडि बढाउन खोजेको हो ? यसबारे बताइदिनुस् न ।

पार्टीले संयुक्त मोर्चा (क) वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय, सांस्कृतिलगायतका पक्षलाई समेटी प्रतिनिधित्वको व्यवस्था मिलाउन, (ख) यसलाई राष्ट्रियता, जनतन्त्र तथा जनजीविकामा समस्यालाई लिएर आन्दोलनको सम्बाहक शक्ति बनाउन, (ग) जनताका बीचमा फैलाउन र (घ) गतिशील एवम् सक्रिय रुपमा अगाडि बढाउन चाहेको छ ।

लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर यहाँहरुले साना ठूला आन्दोलनका कार्यक्रमहरु दिंदै आउनु भएको छ । तर यो सरकारले सुनेको छैन । अब यो राज्य वा सरकारले सुन्ने गरी यी मुद्दाहरुलाई कसरी लिएर जानुहुन्छ ?

जनविरोधी सरकारको एउटा मूल विशेषता नै जनआन्दोलनका कुरा नसुन्नु र बहिरो हुनु नै हो । यस कुरालाई हामीले बुझि राख्नु पर्दछ । तर पनि सरकारलाई राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायतका जनआन्दोलनका मुद्दा सुन्ने बनाउनका लागि हामी लोसे भएर हुँदैन, जुझारु बन्दै जानुपर्दछ । जुझारु जनआन्दोलन, वर्गसंघर्ष र जनप्रतिरोधको संघर्षलाई विकसित गर्दै लग्नु पर्दछ ।

यहाँले पार्टीभित्र र बाहिर पनि क्रान्तिकारी रुपान्तरणका निम्ति सबै कम्युनिस्ट क्रान्तिकारीरु गम्भीर बन्ने बेला आइसक्यो भन्दै आउनु भएको छ । यसबारेमा स्पष्ट पारिदिनुस् न ।

क्रान्तिकारी रुपान्तरणको निम्ति एकातिर आवश्यक परिस्थिति तयार पार्दै र अर्काेतिर सुदृढीकरणको योजना बनाई कार्यान्वयन गर्दै जानुपर्दछ । यो विषय केही जटिल छ । तर हामीले जटिलताको सामना गर्नैपर्दछ । यसै क्रममा पार्टीमा शुद्धीकरण आन्दोलन सञ्चालन गर्दै जानु पर्दछ ।

अन्तमा, प्रतिक्रियावादी, संशोधनवादी तथा अवसरवादीहरु सुदृढ हुँदै गएको र वास्तविक कम्युनिस्ट क्रान्तिकारीहरु छिन्नभिन्न हुँदै अस्तित्व रक्षाको संकट झेलिरहेको अवस्थामा नेपालको सिंगो कम्युनिस्ट क्रान्तिकारी आन्दोलन तथा माओवादी आन्दोलनले, महान् सहिद तथा वेपत्ता योद्ध परिवार, कम्युनिस्ट पक्षधर आमजनताले यहाँ र यहाँले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)लाई निकै ठूलो आशा र विश्वासको नजरले हेरेको देखिन्छ । इतिहासको यो घडीमा ती सबै पक्षलाई यहाँले के अपिल तथा आह्वान गर्न चाहनुहुन्छ ?

प्रतिक्रियावादी तथा संशोधनवादीहरु बलियो र क्रान्तिकारी कम्युनिष्ट कमजोर बन्न गएको अहिलेको यथार्थ नै हो । तर, यो क्षणिक तथा अस्थायी कुरा हो । यद्यपि अहिले हामीले गम्भीर संकट झेल्नु परेको छ, तर क्रान्तिकारीहरु संकटकै सामना गरेर सच्चा क्रान्तिकारी बन्न सक्दछन् र बन्नु पर्दछ । हामीसित मार्क्सवाद–लेनिनवाद–माओवादको अपराजय सैद्धान्तिक हतियार छ र यही हतियार भिरेर हामी आफ्नो गन्तव्य मार्क्सवादको उदात्त आदर्श प्राप्त गर्न सक्दछौं र यही हतियार नै हाम्रो विजयको मूल आधार हो ।

क्रान्तिमा सहिदहरुले बगाएको रगत खेर जाँदैन । महान् जनयुद्धका सहादत प्राप्त गर्ने र राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरुका परिवारजनको उच्च सम्मान गर्दै म उहाँहरुसित के अनुरोध गर्दछु भने वीरयोद्धाहरुको सहादत र पराक्रमबाट हामीलाई क्रान्तिको बाटोमा अगाडि बढ्न निन्तर प्रेरणा प्राप्त भइरहने छ । ढिलो या चाँडो हामीले नेपाली धर्तीमा क्रान्ति सम्पन्न गरेरै छाड्ने छौं । हाम्रो पार्टी क्रान्तिको बाटोमा निरन्तर अगाडि बढिरहने छ र जनताका मुक्तिका सपनालाई साकार बनाउने छ ।