राजधानीमा फागुनको दोस्रो हप्तासम्म सयौंजना गिरफ्तार र जिल्ला जिल्लाबाट पनि गिरफ्तारका समाचार आइरह्यो । यता माओवादी पार्टीले हजारौं कार्वाहीका कोटाहरु चुक्ता गर्नतिर लागिरह्यो । देउवा दिल्लीबाट फर्किएर सुरक्षासम्बन्धी बैठक बस्यो । ७२ घण्टाभित्र नियन्त्रण गछौं भन्दै मन्त्रीमण्डलको बैठक समाप्त भयो । माओवादी गतिविधिबारे तत्काल विभिन्न देशव्यापी र अन्तराष्ट्रिय समाचार पत्र, साहित्यिक पत्र पत्रिका, भित्ते लेखन, हाते पोष्टरिङ्ग, अन्तराष्ट्रिय भाइचारा संगठन, प्रवासमा रहेका अखिल नेपाली एकता समाज, लगायतका संघ संस्थाहरु सबैले यो जनयुद्धको ऐकवद्धता जनाउँदै प्रचार प्रसार व्यापक बनाउँदै लगे । सिन्धुली पोष्ट पत्रिका निकालेर साइकलमा राखी सिन्धुली जाने बसको चालकलाई जिम्मा लगाई ढुंग्रेबासमा ओराली दिनु होला भनेर कोठातिर आएँ ।

हार्दिक शुभकामना !

त्यतिखेर सिन्धुली पोष्टको वर्ष २ अंक २९ औं निस्केको थियो । समाचार बनाउने, कम्पोज गर्ने र फेरि मेसिनबाट छापेपछि साइकलद्वारा गाडीसम्म लैजानु पर्दथ्यो । उक्त पत्रिका निकाल्न त्यहाँको पार्टी संगठनसंग आर्थिक स्थिति बलियो पनि थिएन । तैपनि पत्रिकाले एक संगठनको रुपमा काम गर्न सक्दथ्यो । पार्टीले जनवादी क्रान्तिलाई पूरा गर्ने लक्ष्य लिएको हुँनाले मैले पनि पवित्र भावनाले आफूलेसक्दो सहयोग पत्रिका निकाल्न गरिरहे । पत्रिका पुर्याएर कोठामा आइपुग्दा मलाई अनुकुलले एउटा पत्र पठाएका रहेछन् । “अहिलेलाई अर्को अंकदेखि पत्रिका निकाल्न स्थगित गर्नुहोला । अविनाश मकवानपुर आउनु पर्ने किन आउनु भएन उहाँलाई तत्काल पत्रिकासंगै मकवानपुर जान पनि भनिदिनुहोला ।”मलाई उहाँको कुरामा कन्फ्युज लाग्यो । मैले सिन्धुली जिल्लाको आफूले गरेको यात्रा सम्झन पुगें । २०५२ आश्विन २५ गते रात्री बसमा हामी सिन्धुलीको यात्रा गर्दै थियौं ।

सिन्धुलीको मेरो यो पहिलो यात्रा थियो । अंग्रेजलाई हराएको जिल्ला सिन्धुलीगढी हेर्ने जिज्ञासा थियो । अब हेर्न पाइने भयो भन्दै मनमनै संझिरहे । उक्त यात्रामा काठमाडौंबाट जाने तात्कालिन संयुक्त जनोर्चा नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, अखिल त्रान्तिकारीका गंगा श्रेष्ठ हुनुहुथ्यो । भोलिपल्ट २६ गते संजमोको भण्डाफोर आमसभा सिन्धुली माडीमा राखेको थियो । त्यतिबेला ईमेलबाट पठाउने प्रावधान आइसकेको पनि थिएन । त्यसैले उक्त आमसभाको दृश्य, फोटो र समाचारको सम्प्रेसनको लागि म सिन्धुली जादैं थिएँ ।हामी बर्दिवासबाट उकालो कच्चि बाटोहुँदै कमला नदी किनार माइस्थानसम्म बसमा गयौं । कमला नदी ठूलै भएकोले बस अघि बढ्न सहज थिएन । त्यतिखेर अहिलेको जस्तो पक्की बाटो पनि थिएन ।

नदी तर्दै उकालो, तेर्सो बाटो अघि बड्दै ठाउँ–ठाउँमा नदी तर्दै गयौं । पुनः बीच बाटोमा थुप्रै जंघारहरु तर्नु पथ्यो । काठमाडौंबाट दिउँसो ३ः०० बजे छुटेको गाडी सिन्धुल्ली पुग्दा मध्यान्ह १२ः ०० बजिसकेको थियो । उहाँहरु एउटा घरमा जानु भयो । मैले एउटा भोजनालयमा खाना खाएर सिन्धुली माडीको आमसभाको कार्यक्रममा सहभागी भएँ । सिन्धुली माडी आमसभा गर्ने स्थानमा चारैतिरखुल्ला चौर रहेछ ।उत्तरपट्टी काठको पौवा जस्तो रहेछ, त्यसैलाई मञ्च बनाई कार्यक्रम सुरु भयो । हरेक गाउँ घरबाट हजारौंको सहभागितामा कार्यक्रम भब्य सम्पन्न पनि भयो । उक्त आमसभा राजधानीको भन्दा बिसाल र भब्य थियो । प्रतिक्रियावादी राकस सरकारलाई चेतावनीसहित जागरुप वर्ग संघर्ष थालनीको लागि थियो । कार्यक्रम सकेर नजिकका सहभागीहरु बजारतिर र आ–आफ्ना घरतिर लागे । धेरै टाढाबाट आएका सहभागीहरु भने बजारतिरका र वरिपरि घरहरुमा रात बिताए ।

हामी इन्दिरा रायमाझीको घरमा बस्यौं । इन्दिराजीले हामीहरुलाई स्वागत गरी सबै जनालाई खानपानको राम्रो व्यवस्था गर्नु भएको थियो ।त्यतिखेर त्यहाँका जवसका साथी र मोर्चाका साथीहरुसँग परिचय गर्ने मौका पनि मिल्यो । वर्गीय ममता आदान प्रदानकासाथ कुराकानी हुँदैमा रात बितेको पत्तै भएन । आज उहाँहरुलाई भेट्न अवस्थामा पनि छैन । कसैलाई राज्यले बेपत्ता पारेको छ, त केही सहिद भै सक्नुभएको छ । उत्तरमा महाभारत दक्षिणमा चुरे पहाड मिलेर बनेको यो जिल्लाको पश्चिममा मकवानपुर, सर्लाही, उत्तरमा काभ्रे, रामेछाप, ओखलढुङ्गा, पूर्वमा उदयपुर, सिराह, दक्षिणमा धनुषा, महोत्तरी जिल्लाहरुले घेरेका रहेछन् । विशाल जंगलै जंगलले भरिएको जिल्ला ग्रामीण वर्ग सघर्षको लागि पनि बातावरण रमणीय रहेछ । महोत्तरीको बर्दिबासबाट चुरे जंगल हुँदैं बीचमा भिमान गाउँ पर्दो रहेछ । त्यस गाउँमानै ऋषि देवकोटा (आजाद) को निवास स्थान रहेछ ।

उहाँको २०३८ सालमै तत्कालिन पञ्चायती सासकद्वारा हत्या भै सकेको थियो । त्यहाँदेखि माडीसम्म जंगलै जंगलले ढाकेको रहेछ । यो पटक मेरो सिन्धुली गढी हेर्ने धोको पूरा भएन । २९ गते नेपालगञ्जमा संजमोको कार्यक्रम भएकाले बाबुरामजी र गंगाजीले त्यतैबाट यात्रा तय गरिसकेको हुनाले हामी बिहानको खाना खाएर बर्दिबाससम्म संगै आयौं । उहाँहरु बर्दिबासमा उत्रिएर नेपालगञ्जको गाडी चढ्नु भयो । आफू सिन्धुलीको समाचार लिएर काठमाडौं फर्के ।त्यसैबेला माघ १९ गते सिन्धुलीपोष्टमा एउटा समाचार छापे वापत अदालतमा मानहानीको मुद्दा लाग्यो । बेलुकी रात्री यात्रामा भोलिपल्ट बिहान १० बजे माडी पुगे । त्यत्तिबेला नदी सुकेर गाडी माडीसम्म पुग्थ्यो । म त्यहाँको अधिवक्ता विश्वप्रकाश भण्डारीसंग भेटघाट गरी अदालत अदालत पुगँे । मैले त्यत्तिबेला छापिएको समाचारको मौखिक बयान दिएँ । त्यत्तिबेलाका सिन्धुली जिल्लाका जिल्ला न्यायधीश खतिवडा थरका हुनुहुथ्यो ।

उहाँले हामीलाई राम्रै सहयोग पनि गर्नुभयो । अदालतमै प्रमोद गजुरेलजीसंग भेट भयो । मैले सिन्धुलीगढी हेर्न जाने आफ्नो विचार पुन उहाँलाई सुनाएँ । उहाँले भाेिलपल्ट बिहान गढी जाने भनेर छुट्टिनु भयो ।बेलुका खाना विश्व प्रकाशजीकोमा खाइयो र ढुङ्ग्रेबासमा रात बिताइयो । बिहान प्रमोदजी गढी जान भनि झोलामा खाजा बोकेर आउँनु भयो । त्यत्तिखेर दीर्घराज श्रेष्ठजीले मलाई अहिले किन जानु हुन्छ, पछि जाउँला भनेर मलाई नजान अनुरोध गर्नु भयो । मैले पनि आशय बुझिहाले कि अहिले नजानु नै ठीक हुन्छ । म काठमाडौं जाने तरखरमा माडितिर झर्दै थिएँ । बजारमा इन्दिराजीसँग भेट भयो । उहाँले अघिल्लो पटक आउँदा नै गढी जाने कुरा गर्नु भएको थियो । त्यहाँ खाना नखाइ जान पाइँदैन भनेर मलाई खाना खुवाउनु भयो । खाना खाई जिल्ला कारागार उहाँसंगै बलराम तिमील्सिना लगायतका साथीहरुलाई भेट्ने र सिन्धुली जेलको अवलोकन गर्ने मौका पाइयो ।

त्यत्तिखेरको राज्य सरकारले बलराम तिमिल्सिना र पुष्करजीलाई झुट्टा मुद्दामा सिन्धुली कारारागारमा राखेको थियो ।यसरी मेरो सिन्धुली जिल्लासंग, साप्ताहिक सिन्धुली पोष्टले नै सामिप्यता बनाएको थियो । यस्तो जिल्लामा जनयुद्ध सुरुआत हुँदा त अरु प्रचार  प्रसारको लागि पत्रिका नियमित गर्नु पर्ने बेलामा किन बन्द गर्नु परेको होला भनी जिज्ञासा लागिरह्यो । फेरि पत्रिका निकाल्न मलाई शितलकुमारले जिम्मा दिनु भएको थियो । उहाँले केही पनि भन्नुभएको छैन भनी म पनि अंक ३० को तयारी गर्नतिर लागँे । २०६६ सालमा पुनःऐतिहासिक सिन्धुली गढीमा नै भब्य कार्यक्रम राखिएको थियो । काठमाडौंबाट धेरै साथीहरुको साथ म सिन्धुलीगढी गाडीबाटै पुगेर त्यहाँको ऐतिहासिक स्थल हेर्ने धोको पूरा गरेरै छाडेँ ।७२ घण्टा त के हप्तौं हुँदासम्म पनि कुनै माओवादी योद्धाहरुको पत्ता लगाउन सरकार असमर्थ भई सर्वसाधारणहरुलाई धडपकड गर्न थाल्यो ।

फागुन ९ गते अखिल नेपाल जनजाति महासंघका अध्यक्ष सुरेश आलेमगरलाई १३ गते कोठाबाटै खानतालासी गरी सार्वजनिक अपराध ऐन लगाएछ । सोही दिन तात्कालिन संजमोका महासचिव पम्फा भुषालको घरमा दोस्रो पटक छापा मारी खानतलासी लिएछ । संजमोका कोषाध्यक्ष हितमान दाजुको घरमा पनि छापा मारेछ । त्यहाँ मालसामानहरु यत्रतत्र छरपष्ट पारेछ, तर एक जना एसीएम्सम्म पनि मैदानबाट फेला पार्न नसक्नु नै त्यतिखेर माओवादी पार्टीका कार्यकर्ताहरुको फलामे अनुशासन थियो भन्ने प्रमाणित गर्दछ ।त्यस्तै फागुन १४ गतेका दिन अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयमा छापामारी धनबहादुर मगर, दलबहादुर मगर लगायत १० जना मजदुरहरुलाई गिरफ्तार गरेछ । त्यस्तै अनेरास्ववियू क्रान्तिकारीको कार्यालयमा पनि छापा मारी केशवसिंह ठकुरी, खेमनारायण श्रेष्ठ, वेनोज अधिकारी लगायत दर्जनौं विद्यार्थीहरुलाई गिरफ्तार गरेछ ।

उनीहरुलाई महाराजगंज स्थित २ नं. प्रहरी गणमा पुर्याएछ । काठमाडौंमा गिरफ्तार गरिए पनि शालिकराम भुषाल र युवराज भुषाललाई गृह जिल्ला अर्घाखाची कारागार चलान गरेछ ।सिन्धुलीबाट कमल दाहाल, ध्रुव देवकोटा लगायत दर्जनौं युवाहरुलाई गिरफ्तार गरेछ । गोरखामा १५०० जति सशस्त्र प्रहरी परिचालन गरी सामान्य किसान, विद्यार्थी, महिला प्याउली कँडेल, करुणा खनाल, विद्या लामिछाने, शिक्षक बद्रि पाण्डे, शंकर पाण्डे, अर्जुन पाण्डे, रामचन्द्र पाण्डे, गोरखा जिल्ला अध्यक्ष संजमोका खोपबहादुर कँडेल, शिव कालाखेती लगायतका घर तोडफोड गरी २० जनालाई गिरफ्तार गरेछ । बर्दियाबाट अनेरास्ववियू क्रान्तिकारीका के.स. ज्ञामप्रसाद चालिसेसहित चारजनालाई गिरफ्तार गरेछ । रुकुमबाट ज्ञानेन्द्र बुढाथोकी लगायत बिसौं जना गिरफ्तारीमा परेछन् ।

त्यस्तै कास्कीबाट बलराम पौडेल लगायत दर्जनौं गिरफ्तारमा लिएछ । दाङमा भरत दाहालको घरमा छापामारी भानु शर्मालगायत दर्जनौं गिरफ्तार गरेको रहेछ ।त्यस्तै उदयपुर, भोजपुर, मोरङ्ग, धनुषा, कैलाली, नेपालगञ्ज, बागलुङ्ग, गुल्मी, स्याङ्गजा लगायत अरु दर्जनौं जिल्लाहरुमा पनि धडपकड राकस सरकारले गर्न थाल्यो । यसरी धडपकड ब्यापक बनाउन थालेपछि अन्य कम्युनिष्ट पार्टीहरुका कार्यकर्ता पनि पर्न लागे भनेर आधिकारिक वक्तव्यहरु पनि आउन थाल्यो ।मोहन विक्रम सिंह महामन्त्री नेकपा मसालले फागुन १२ गते बल्ल मुख खोले । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र सरकार पक्ष दुवैलाई आलोचना गर्दै वक्तव्य निकाल्यो ।

“आज गठवन्धन सरकारद्वारा देशको राष्ट्रियता जनताको सिमित मौलिक अधिकार तथा देशमा पुनरुत्थानवादीहरुको बढ्दो खतराको पृष्ठ भूमिमा व्यापक जनसंघर्षको आवश्यकता रहेको र यसै सिलसिलामा हाम्रो पार्टीले पनि यो प्रष्ट पार्न चाहन्छ कि रोल्पा र देशका अन्य भागहरुमा घटेको घटनाहरु मूलतः सरकारले अपनाउँदै आएको गलत नीति र दमनका अभिव्यक्तिहरु हुन् र त्यसका लागि प्रतिक्रियावादी व्यवस्था र सरकारका गलत नीतिविरुद्ध जनताले चलाउने संघर्षलाई हाम्रो पार्टीले सधै समर्थन गर्दै आएको छ र अहिले पनि गर्दछ । सशस्त्र संघर्ष गर्नका लागि त्यससंग आवश्यक परिस्थिति परिपक्क नभइसकेको तत्काल जनसंघर्ष नै सघर्षको प्रधान पक्ष भएकोले हाम्रो पार्टीको छैटौं महाधिवेशनको निर्णय छ । त्यो नीतिलाई हाम्रो पार्टीले तत्कालको लागि सही पनि मान्दछ ।

त्यो अवस्थामा सशस्त्र सघर्षको दिशामा दुवै पक्षद्वारा उठाइने कदम उग्रवामपन्थी गल्ती नै हुनेछ र त्यसैले जस्तो कि सबै उग्रवामपन्थी गल्तीहरुकाको जस्तै परिणाम हुन्छ । जनआन्दोलन र क्रान्तिलाई होइन प्रतिक्रान्तिलाई नै मद्दत पु¥याउने छ ।”कार्यवाहक महासचिव नेकपा एमालेका वामदेव गौतम “विद्यमान परिस्थितिका सम्भव र वैधानिक उपाय छँदाछँदै तिनलाई तिरस्कार गरेर अवलम्वन गरिने अवैधानिक र असम्भव उपायहरुले रोमान्टिक सोचलाई उत्साहित गरे पनि तिनले जनता, राष्ट्र र क्रान्तिलाई उग्रगति प्रदान गर्दैनन् ।

यो कार्यप्रति हाम्रो पार्टीको असहमति छ ।”लिलामणि पोखरेल (संजमो निरञ्जन गोविन्द बैद्य) :  “सरकार र माओवादी दुवै दोषी छन् अहिले यतिमात्र भन्छु ।”यसैबीच अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनले “द वल्र्ड टु विन” र “द वर्कर्स” ले “२१ औं सताब्दीमा हिमालयको देश नेपालमा जनयुद्धको सुरुआत” भन्दै सचित्र समाचार प्रकाशित गरी विश्वसामु नेपाल कम्युनिष्ट पार्टी माओवादी जनयुद्धको प्रचार प्रसारमा सहयोग पुर्याउँदै लग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर