सर्लाही । मेची–महाकाली अभियानको क्रममा सर्लाहीमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले देशको १० हजार १९ वर्ग किमि भूमि गायब पारिंदा समेत मौन बस्ते सरकार, राजनीतिक पार्टीहरु राष्ट्रवादी हुन नसक्ने टिप्पणी गरेका छन् । अध्यक्ष गजुरेलले दिन दिनै मुलुकको नक्सा खुम्चिरहँदा रतिभर संवेदनशीलता नदेखाउने सरकार तथा राजनीतिक पार्टीहरु राष्ट्रवादी हुन नसक्ने भन्दै अध्यक्ष गजुरेलले देशभक्त, राष्ट्रवादी तथा क्रान्तिकारी शक्ति भएको नाताले आफूहरुले त्यसको बारेमा निरन्तर आवाज उठाउँदै आएको र गायब पारिएको भूमिको खोजी समेत गरिरहेको बताए ।
नेता गजुरेलले अभियानको अवधिमा विभिन्न सीमावर्ती क्षेत्रमा आफुले अनुगमन, निरीक्षण र स्थानीयबासीसँग छलफल गर्दा अधिकांश क्षेत्रमा नेपाली भूभागमा भारतीय पक्षले अतिक्रमण गरेको पाइएको समेत स्पष्ट पारे । उनले कतिपय स्थानमा दश गजा क्षेत्र मिचिर भारतीय पक्षबाट सरकारी कार्यालय नै राखेको भेटिएको भएपनि त्यसप्रति नेपाल सरकार मौन हुनुले धेरै खालका प्रश्नहरु उब्जेको बताए ।
उनले भारतीय पक्षबाट दशगजा क्षेत्र मिचेर बस्ती बसाएको, एकपक्षीय रुपमा पक्की सडक बनाएको, नेपालतर्फ आएर नागरिकहरुलाई आतंकित पार्ने खालका कामहरु गर्ने गरेको अनुगमन तथा निरिक्षणको क्रममा पाएको बताए ।
काठमाडौंमा बसेर राष्ट्रियताका सवालमा सरकारी वहस भएपनि सीमा क्षेत्रको सुरक्षाका लागि तराईका मधेशी समुदायले लड्नु परेको भन्दै उनले तराईका नागरिकहरु नै सबैभन्दा राष्ट्रवादी भएको तर्क गरे ।
सीमा क्षेत्रमा हुने आक्रमण र त्रासका बेलामा समेत ज्यानको प्रर्वाह नगरि तराईका नागरिकहरुले मुलुकको स्वाधीनताका लागि लडेका घटनाहरुको स्मरण गर्दै उनले भने–‘मधेशी नागरिकहरुमा वास्तविक राष्ट्र प्रेम छ, ओलीको जस्तो भाषणमा सीमित राष्ट्रिवादको के काम, सीमा मिचिएको छ, आँखा चिम्लेर बस्ने कस्तो सरकार ?’
उनले मुलुकमा कथित कम्युनिस्टको सरकार आएको भनिएपनि त्यसले जनताको गाँस, बाँस, कपास र शिक्षा, स्वास्थ्य र रोजगारको समस्या हल गर्न नसकेको औल्याउँदै त्यसलाई नामधारी कम्युनिस्ट सरकारको रुपमा परिभाषित गरे ।
उनले भने–‘यो सरकार दलाल, तस्कर, माफीया र राष्ट्रघातीहरुको संरक्षका पक्षमा छ, यहाँबाट देश र जनताको पक्षमा हुनेवाला केही छैन, दिनदिनै समस्याहरु विकराल बन्दै गएका छन, महंगी, कालाकजारीले सीमा नाघेंको छ, के यस्तै हुन्छ कम्युनिस्ट व्यवस्था ?’
उनले नेपालको वृहत नेपालको क्षेत्र खोजी गर्नुको साटो ओली सरकारले भएको क्षेत्रफल समेत पछिल्लो पटक प्रदेशको नक्साबाट गायब गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सात प्रदेशको कुल क्षेत्रफल जोड्दा १० हजार १९ वर्ग किलोमिटर जमिन ओली सरकारले नक्साबाट गायब गरेको बताए ।
उनले प्रश्न गर्दै भने–‘कता गयो हाम्रो १० हजार १९ वर्ग किमि जमिन ? यसको जवाफ दिनु पर्दैन । अब जनताले यस्ता जनघाती, राष्ट्रघाती व्यवस्थालाई सडक आन्दोलनको बलमा खारेज गर्नुको विकल्प छैन, यसले हामी कसैको भलाई गर्दैन ।’
जनताको संरक्षण गर्नुपर्नेमा सरकारले अपराधीहरुको संरक्षण गरेको भन्दै उनले प्रश्न गरे–‘यो कस्तो गणतन्त्र हो ? यो कस्तो व्यवस्था हो ? के हामीले यहि मागेका थियो ?’ उनले अहिलेको लोकतान्त्रिक गणतन्त्र सामन्त, दलाल, पुँजीवादीहरुको सड्यन्त्रका रुपमा आएको भन्दै त्यो जनयुद्धमा आफुहरुले नमागेको तर्क गरे ।
उनले शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा राज्यले माफीयाकरण गरेको र त्यसमा व्यापार भएको भन्दै त्यसको विरोध गरे । उनले संसदीय व्यवस्था मुलुकमा रहेसम्म समस्याको हल नहुने भन्दै राष्ट्रिय स्वाधीनताका लागि पुनः अर्को जनआन्दोलन गर्नुपर्नेमा जोड दिए । उनले सडक आन्दोलनका लागि तयार रहन समेत सबै नागरिकहरुमा आह्वान गरे ।
उक्त जनसभामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतिक, पोलिटब्यूरो तथा प्रदेश २ का देजमो संयोजक कमल चौधरी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरेन्द्र यादव लगागतको उपस्थिति रहेको थियो ।
देजमो सर्लाहीका अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय बुद्धिजिवी, नागरिक, पत्रकार गरी ३०० भन्दा बढीको उपस्थिति रहेको थियो । अध्यक्ष गजुरेलले त्यस लगत्तै ईश्वरपुरको रामनगरमा आयोजित कोण सभालाई समेत सम्बोधन गरेका थिए ।