सीमा अवलोकन गर्दै क्रान्तिकारी माओवादीका नेता दनुवारले भने– ‘भारतले मिचेको एक ईन्च जमिन पनि छाडिन्न, जनता जागरुक भइरहेका छन्’

सीमा अवलोकन गर्दै क्रान्तिकारी माओवादीका नेता दनुवारले भने– ‘भारतले मिचेको एक ईन्च जमिन पनि छाडिन्न, जनता जागरुक भइरहेका छन्’

सिरहा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जारी मेची–महाकाली अभियान अन्तर्गत आज सिरहाको भगवानपुर गापा–ठाडी र भारतको लौकाहा मधुवनीमा पर्ने सीमा क्षेत्रमा भारतले मिचेको नेपाली भूभागको अनुगमनपछि सीमा क्षेत्रमै आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य तथा २ नं. प्रदेश सचिव कृष्णदेव सिंह दनुवारले भारतले मिचेको एक इन्च नेपाली भूमि पनि नछाडिने बताएका छन् । उनले बारम्बारको भारतीय सीमा अतिक्रमण र त्यसमा नेपाली शासकहरुको मौनताले सीमा क्षेत्रका बसोबास नेपाली नागरिकहरु स्वयम् भारतीय हस्तक्षेप र उत्पीडनका विरुद्ध लडिरहेको बताउँदै नेता दनुवारले नेपाली सार्वभौमिकताको रक्षाका लागि सीमानाका जनता जागरुक भइरहेको बताए ।

सीमा क्षेत्रमा बस्ने नेपाली र भारतीयहरु बीचमा रोटी बेटीको सम्बन्ध रहेको भएपनि भारतले सँधै नेपालीहरुमाथि ठूल्दाईको व्यवहार गर्दै आएको छ र सीमा क्षेत्रका नेपालीहरुमाथि अत्याचार गर्ने गरेको आरोप लगाए । उनले भारतले सीमा क्षेत्रमा एकतर्फी रुपमा बाँधेको बाँध, बनाएको पक्की सडकका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको र बर्षेनी हजारौ सीमाबासी (मधेसवासी) आफ्नो थातथलोबाट विस्थापित हुनु परेको समेत चर्चा गरे ।

नेपाली भूमि मिचेर सडक, बाँध बनाउने, नेपाली जमिन भएको पुर्जा देखाउँदा पनि नेपालीहरुलाई आफ्नै भूमिमा खेतीपाती गर्न रोक लगाउने, नेपालीहरुमाथि भारतीय सीमा सुरक्षा बलले आतंक मच्चाउने गरेको भन्दै भारतीय हस्तक्षेप र दादागिरीको नेता दनुवारले डटेर विरोध गरे ।
सो कोणसभा तथा सीमा निरीक्षणमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, पार्टी स्थायी समिति सदस्य प्रतिकलगायत पार्टी तथा मोर्चाका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सीमाबासी जनसमुदायको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।