युद्ध आफैमा कला हो । युद्ध कलाका माध्यमबाट अभिव्यक्त हुन्छ । यो राजनीतिको हिंसात्मक रुप हो । त्यसैले भन्ने पनि गरिन्छ कि राजनीति युद्धको अहिंसात्मक रुप हो भने युद्ध राजनीतिको हिंसात्मक रुप हो । यी दुई फरक परिदृष्यमा राजनीति र युद्ध एउटै सारमा फरक रुप र कलामा अभिव्यक्त हुन्छन् । तर यो कला देखाउनका लागि नभई कार्यान्वयन गर्न र परिणाम हासिल गरेर विजय हासिल गर्नका लागि हुन्छ ।
यो राजनीतिक हार जीतका रुपमा अभिव्यक्त हुने जीवनमरण लडाइँको उत्कर्ष पनि हो । यो बहादुर तथा शुरवीरहरुका लागि रणमैदान र कायरहरुका लागि विक्षिप्तताको ‘हवन’ मैदान पनि हो । यहाँ जनयुद्धभित्रका केही उत्कृष्ट कलापक्षहरुलाई लिएर जनयुद्धको स्मरण गर्न खोजिएको छ ।
जनयुद्धको सुरुका बखतमा माओवादी स्वयम्सेवकहरु तथा लडाकु दल अधिकांश निशस्त्र र केही भएमा सिमित स्थानीय भरुवा बन्दुक लिएका हुन्थे । गाउँमा पुलिसको राज हुन्थ्यो र स्थानीय माओवादी विरोधीहरुले उनीहरुलाई माओवादीहरुका घर देखाउने, मानिस चिनाउने र पुलिससँगै लखेटेर मार्ने काममा सरिक हुन्थे । पुलिस हात्ती जस्तो ठूलो र बलियो थियो भने माओवादीहरु कमजोर थिए ।
अवश्य पनि कमजोरले बलियोको तुलनामा उच्च र उत्कृष्ट फौजी कलाको प्रयोग गरेमा मात्र उसको रक्षा र विकास संभव हुन्छ । जनयुद्धको सुरुआतिमा कमजोर अवस्थामा ल्याइएका केही फौजीकलाहरु विशेष उल्लेखनीय छन् ।
हात्तीलाई अन्धो बनाऊ
गाउँगाउँमा पुलिस फोर्स सहरतिरबाट ल्याइएका थिए । गाउँको बारेमा उनीहरूलाई केही पनि थाह थिएन । उनीहरूसँग राइफल थिए, छापामारहरूसँग भरुवा बन्दुक र खुकुरी थिए । जब जनतालाई नै दुश्मन घोषणा गरेर पुलिस परिचालन गरियो, तब उनीहरू अगाडि जो जो भेटिन्छन्, ती सबैलाई हत्या गर्दै अघि बढ्न थाले । उनीहरुले गाउँका ढुंगामाटो नै माओवादी देख्न थाले ।
गाउँमा हुने त्यो निर्मम हत्यालाई स्थानीय जालीफटाह र सुराकी, सीआइडीहरूले सघाउन थाले । गाउँगाउँमा पोल खोल्ने, चुक्ली लगाउने र निर्मम हत्या गराउने काममा स्थानीय सुराकीहरूको सक्रियता बढेपछि पार्टीले ‘हात्तीलाई अन्धो बनाऊ’ भन्ने नीति अघि सा¥यो । अब स्थानीय सुराकीहरू छापामार दलको निशानामा परे । ती सुराकीहरूले भत्ता र बक्सिसको लोभमा यी कामहरू गरिरहेका थिए ।
छापामारले सुराकीको लिष्ट तयार पारे । प्रशासनसँग बढी साँठगाँठ कसको छ र बढी हत्यामा संलग्न को छ भनेर तिनीहरूको बारेमा जानकारी सङ्कलन गरिसकेपछि प्रमाणको आधारमा ती सुराकीहरूमाथि कार्वाही अघि बढाए । यो कार्वाही सफायाको थिएन, हातखुट्टा भाँचिदिनेसम्म थियो । गर्दैगर्दा सरकारको तर्फबाट देशव्यापी रूपमा हत्याहिंसालाई तीब्र बनाएपछि छापामारले छानिएकाहरूलाई भौतिक सफायाको अभियान चलाए । त्यहाँबाट भौतिक कार्वाहीको प्रक्रिया सुरु भयो । त्यसपछि वास्तवमा हात्ती साँच्चिकै अन्धो हुन थाल्यो । सुराकी सफयापछि पुलिसलाई गाउँमा पुर्याउने र बाटो तथा ठाउँहरू देखाउने काम बन्द भयो ।
जथाभावी दमनको स्केल बढ्दै गइसकेपछि छापामार स्वाडको फर्मेशन विकास भयो । स्क्वाडबाट बढाएर पल्टन निर्माण हुन थाले । तीन सेक्सन वा स्क्वाड मिलाएर १ पल्टन बनाउने अवधारणाअनुसार छापामार प्लाटुन वा पल्टनको फर्मेशन विकास हुँदै गयो ।
दुश्मनले जहाँ टेक्छ, त्यहीं पड्क
प्लाटुन बनिसकेपछि भौतिक प्राविधिक तालिम गरेर एम्बुस सुरु गर्ने नीति पार्टीले अघि सा¥यो । पुलिस ठूलाठूला फर्मेशनमा ठूलो मात्रामा दमनको नीति लिएर गाउँ पस्न थाल्यो । त्यतिबेला रुट र नाकाहरू ब्लक गर्ने, अप्ठेरा ठाउँहरूमा एम्बुस गर्ने काममा छापामार प्लाटुनहरू खटिए । हरेक नाकानाका र गौंडागौंडामा ल्याण्ड माइन बिच्छ्याएर पुलिसलाई क्षति पु¥याउने र गाउँ छिर्नबाट रोक्ने काम बढेर गए । किनकि, साधारण जनता गाउँमा भेट्ने बित्तिकै पुलिसहरूले हत्या गरिहाल्थे ।
त्योभन्दा पहिलेसम्म छापामारले जिलेटिन कसरी पड्कन्छ, डिटोनेटर कसरी फिट गरिन्छ र बारुद कसरी बनाइन्छ भन्नेबारे सामान्य ज्ञानमात्र राख्थे । बाध्यता र आवशयकताले साधनस्रोतहरूका बारेमा बढी जानकारी हासिल गर्ने बनायो । छापामारले बिष्फोटक पदार्थको विकास र संकलनतिर ध्यान दिन थाले । गाउँगाउँबाट भरुवा बन्दुकहरू सङ्कलन गर्ने काम पनि तीब्रतामा बढ्यो ।
सुरुसुरुमा प्राविधिक कमजोरीहरू भए । स्थान छनौट गलत हुँदा वा दुश्मनको गतिविधिमा त्यति जानकारी राख्न नसक्दा क्षतिहरू बेहोर्नु प¥यो र परिणामविहीन अवस्थामा रहनु प¥यो । उल्टै घेराबन्दीमा पर्ने पनि थियो । धेरै प्रयासहरूपछि छापामारले एम्बुसको कलामा दक्षता हासिल गर्दै गए । एम्बुसको सुरुआत रुकुमको घुम्लिबाङ, कोलहुँदै रोल्पाको हुलाकी डाँडा र कोर्चावाङको निम्रीसम्म आइपुग्दा पुलिसका दुईवटा राइफल पनि हात परे । यी एम्बुसमा क्षति भएन । रुकुमको कोलमा १ वटा राइफल कब्जा भएको थियो । जाजरकोटको घुमाउने भन्ने ठाउँमा हतियार कब्जा भएको थियो ।

हतियारमाथि पुलिस एकाधिकारको अन्त्य
एम्बुसमा भएका यी कलाका विकासहरूले हतियारमाथि एकलौटी रूपमा रहेको पुलिसको एकाधिकार तोडियो । रुकुमको कोलबाट रोल्पाको निम्रीहुँदै जाजरकोटको घुमाउनेसम्म पुग्दा ५ वटा राइफलहरू कब्जा भए । परिणामका हिसाबले हतियार कब्जा कमै भए पनि परिणाम र सफलताका हिसाबले पुलिसको हतियारमाथिको एकाधिकारको अन्त्य भयो । यसले लडाईंलाई विकासको वा प्रतिरोधको अर्काे चरणमा प्रवेश गरायो । यो एम्बुसको सफलताले जनयुद्धमा दिएको नयाँ गति थियो । पुलिससँगको लडाईं अब एकैस्तरका हतियार (सङ्ख्या घटी होस् वा बढी) र एकै स्तरका फर्मेशनतर्फ बढ्दै थियो । यसको अर्थ अब एम्बुसको यो सफलताले लडाईंलाई रेडको प्रक्रियामा प्रवेश गरायो ।
पूर्वले उघारेको रक्तरञ्जित क्षितिज
नेपाली जनयुद्ध एम्बुसपछि रेडको लडाईं लडियो भन्ने होइन, रेडको लागि पनि सुरुमा नै अभ्यास भइरहेको थियो । तालिम तथा त्यसका प्रक्रियाहरू (वैचारिक, साङ्गठनिक र प्राविधिक) भइरहेका थिए । रेडको अभ्यास सफल भइराखेको थिएन । पूर्व रामेछापमा तीर्थ, फत्त र दिलमायाको सहादतसँगै रेड सफल भएको थियो । त्यो ठूलो बलिदानका बावजुद सफल भएको थियो । रेडको लागि पूर्वले रक्तरञ्जित इतिहासको मिर्मिरेसँगै सफलताको उज्यालो बाटोे उद्घाटन गरेको थियो । त्यहाँबाट चारवटा हतियार प्राप्त भएका थिए ।
पुलिसको हतियारमाथिको एकाधिकार यही रेडबाट उच्चस्तरमा तोडिएको थियो । अब यसले छापामार दस्ताको क्षमता राम्रोसँग बृद्धि गर्यो । प्लाटुनहरूको फर्मेशनका साथै क्षमताको पनि राम्रो विकास भयो ।
छापामारको द्रुतगतिमा विकास
सुरुसुरुमा पुलिसहरूको जत्था गाउँगाउँ गएर मानिसहरूलाई मृग झैं लखेट्ने गर्दथे । एम्बुस र रेडद्वारा उनीहरूको हतियारमाथिको एकाधिकार तोडिएपछि ठूलो दलबल भएपछि मात्र गाउँ पस्न थाले । पछि त पुलिसको दमन र सङ्ख्या तथा गुण आदिका हिसाबले अझ बृद्धि भएपछि प्लाटुनहरूलाई पनि गुण, क्षमता र अभ्यासका हिसाबले प्रशिक्षित गरियो । पहिले अस्थायी रुपमा रहेका प्लाटुनहरू क्रमशः स्थायी बन्दै गए । देशैभर स्थायी प्लाटुन, अस्थायी प्लाटुन र छापामार स्क्वाड बनाउादै विस्तार गरियो । प्रशिक्षण (वैचारिक तथा प्राविधिक) पनि घनिभूत हुँदै गए ।
फौजी कारबाहीको सिकारु अभियान
थुप्रै ठाउँमा रेडका टार्जेटहरू तय गरिए । प्यूठानको लुङ, दाङको भालुवाङ रुकुमको त्रिवेणी, रोल्पाको होलेरीमा अभियान अघि बढ्यो । भालुवाङमा सफल भयो, तर हतियार प्राप्त हुन सकेन, रुकुम त्रिवेणीमा सफल हुन सकेन, प्यूठानको लुङमा पनि सफल हुन सकेन । रोल्पाको धौलावाङ पनि सफल भयो, तर हतियार प्राप्त भएन । धौलावाङको सिमित सफलताले छापामारमा उत्साह ल्याएको थियो ।
रेड किन सफल हुन सकेनन् त भन्ने समीक्षा हुँदा सीप, क्षमता, कला र प्रविधिहरूको साथै मुख्य कुरा जनसमर्थन र जनसहभागिता भएन भन्ने निष्कर्ष निकालिएको थियो । युद्धमा प्रचार, मनोबल र जनसमर्थनको भूमिकाबारे ठूलो बहस भयो । त्यसपछि प्रचारयुद्धलाई व्यापकता दिइयो । पार्टीको निर्णयसहित प्रचारचारकर्ताको रूपमा पनि संगठनलाई गाउँगाउँमा लगियो ।
प्रचारबाट हाम्रो सफलता हात लाग्यो । जनसमुदायसँग भावनात्मक रूपमा एकाकार हुँदै अघि बढ्यो छापामार दल । जनताको समर्थनले सरकारी पक्षलाई एक्ल्यायो । आम जनताबाटै तात्कालीन सरकारका सूचना तथा आन्तरिक कुराहरू थाह पाउन थालियो । अब अस्थायी कम्पनी निर्माणतिर कदम अघि बढ्यो ।

श्रृङ्खलाबद्ध फौजी कारवाहीको ‘गेट वे’ खुलेपछि
पश्चिमको सन्दर्भमा रेडको ढोका झिम्पेटावर (सल्यान) को सफल रेडलाई लिइन्छ । यो प्लाटुनस्तरीय कारबाही थियो । प्लाटुन स्तरको पहिलो तालिमपछि तुरन्त गरिएको झिम्पेटावरमाथिको रेड पूर्ण रुपमा सफल भएको थियो । यो सफलता विनाक्षति हासिल गरिएको थियो । त्यसपछि सुदूरपश्चिममा सूर्यविनायकमा रेड भयो ।
युद्धबाटै युद्ध सिक
यहाँसम्म आइपुग्दा युद्धबाट युद्ध सिक्ने प्रक्रिया निकै अघि बढिसकेको थियो । एम्बुस र रेडबाट थुप्रै कलाहरू सिकिसकेका थिए, छापामारहरुले । ज्ञान र सिपको विकास सापेक्षतामा माथि उठिसकेको थियो । अनुभवले पनि समृद्ध गर्दै लगिरहेको थियो । तर यति बेलासम्म पनि कुनै उच्च फौजी तालिम छापामारलाई दिइएको थिएन । युद्धबाट युद्ध सिक्ने प्रक्रियासँगै युद्धको विकास समग्र युद्धतिर हुँदै गयो । यहाँसम्म आउँदा गाउँका सीआइडी, सुराकी र फटाहहरूमाथि जनताको जित भइसकेको थियो र गाउँहरू पूरै जनताको पकडमा आएको थियो । पुलिसहरू चौकीभित्र कैदहुँदै थिए ।
पार्टीको चौथो विस्तारित बैठकपछि आधारइलाकाको अवधारणा ल्याइयो । आधारइलाकाको अवधारणासँगै ‘टास्क फोर्स’ निर्माण गरियो । त्यो टास्क फोर्सले आधारइलाकालाई सुदृढ गर्नतिर आफ्ना कार्वाहीहरूलाई अभियानात्मक रूपमा अघि बढायो । कार्वाहीहरू दाङको चिराघाटबाट जाजरकोटको लहँसम्म जाँदा त्यो अभियानमा पूर्ण सफलता प्राप्त ग¥यो । यसले धेरै दुःखकष्ट गर्दै सैन्य अभ्यास र आक्रमणको स्तरलाई धेरै माथि उठायो ।
कतैकतै दुश्मनसँग आमनेसामने भिडन्त र धेरै त लुकामारी गर्दै त्यहाँसम्म आउने बेलामा टास्क फोर्स वैचारिक, फौजी, प्राविधिक सीप तथा हातहतियार र आवश्यक लजिष्टिक्सको हिसाबले पूर्णतातिर प्रवेश ग¥यो । अब हाम्रो प्लाटुनहरू मजबुत बने र आफ्ना टार्जेटलाई क¥याप्पझ्याप्प पार्ने स्थितिमा पुगे ।
भमरा झैं चक्कर काट
जब छापामार शक्तिको सैन्य श्रेष्ठता कायम हुँदै गयो, तब सरकारी पक्षले व्यापक रूपमा सर्च गरेर विनास गर्ने अभियान चलायो । हात्तीलाई अन्धो बनाउने नीति अन्तर्गत पहिले नै गाउँका सुराकी, सीआईडी र जालीफटाहमाथि कार्वाही गरी निस्तेज गरिएकाले ठूलो क्षति हुनबाट गाउँ बच्यो । तर पनि सहर र सदरमुकाम बसेका सीआईडी, सुराकीहरू पुलिसहरुसँगै गाउँमा आउने गरिरहेका थिए ।
गाउँ आधारइलाकातर्फ व्यवस्थितहुँदै गए पनि बेलाबेलामा हुने उनीहरूको योजनाबद्ध दमन अभियानले थुप्रै अप्ठ्यारा र जटिलताहरू ल्याइरहेका थिए । त्यसलाई चिर्न कुनै निश्चित चौकी र दुश्मनशक्तिमाथि आक्रमण गर्ने र त्यहाँबाट घुम्दै अघि बढ्ने, दुश्मनको पिछा गर्ने र हैरान परेसान पारेर थाकेको बेला फेरि आक्रमण गर्ने नीति अख्तियार गरियो । सक्रिय, चनाखो र आक्रामक भइराख्ने नीति थियो यो । यो फौजी कला नेपालमा सफल भयो ।
आरा प्रणालीको प्रतिरोध युद्ध
आधारइलाकामा सरकारी शक्ति (पुलिसहरू) गाउ“बाट हटी इलाकाइलाकाहरूमा केन्द्रित भएर बसेका थिए । सहायक इलाकाहरूमा भने ती पुलिसपोष्टहरू बाक्लै थिए । आधारइलाकाभित्र जनसत्ता सुदृढ गरी उक्तइलाका मुक्त गर्दै लैजाने र सहायक इलाकाहरूमा दुश्मनमाथि फौजी श्रेष्ठता कायम गर्ने र मुक्त बनाउने नीति अन्तर्गत आरा प्रणालीको प्रतिरोध युद्ध सुरु गरियो ।
आधारइलाकाहरूमा रहेका दुश्मनका सञ्जालहरूलाई चिर्ने र छापामार शक्तिलाई मजबुत बनाउने चक्रदार आरा प्रणालीको रूपमा फौजी प्रतिरोध अघि बढाइयो । लक्ष्य ठूल्ठूला बेसक्याम्पमाथि आक्रमण गर्दै अघि बढ्ने बन्दै गए । यो अभियान रुकुमको महतस्थित इलाकास्तरीय, डीएसपीको कमाण्डमा रहेको, बाट सुरु भएको थियो ।
त्यो बेस क्याम्पको सपोर्टमा थवाङ, तकसेरा, घर्तीगाउँ र अन्य ठाउँहरू पुलिस राखिएका थिए । यसले रोल्पाको सदरमुकाम लिवाङ र रुकुमको सदरमुकाम मुसीकोटदेखि टाढा पर्ने रोल्पा–रुकुम सीमानाको भ्याकुम जस्तो इलाकामा बसेर दुवै जिल्लाका इलाकामा कमाण्ड गरिरहेको थियो । त्यो मजबुत ढङ्गले बसेको थियो । यो त्यतिबेलाका चर्चित डीएस्पी ठूले राईको कमाण्डमा थियो ।
कार्वाही सफल भएपछि ठूले राईलाई युद्धबन्दीको व्यवहार गरियो । वार्ता मार्फत् उनलाई छाड्दा सरकारी बन्दी बनाइएको माओवादी नेता देव
गुरुङलाई साटिएको थियो । 






























