मेची–महाकाली अभियानमा आज : सीमा अतिक्रमित भूमिको निरीक्षण, कोण सभा, जनतासँग अन्तरक्रिया

मेची–महाकाली अभियानमा आज : सीमा अतिक्रमित भूमिको निरीक्षण, कोण सभा, जनतासँग अन्तरक्रिया

झापा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले हिजोबाट शुरु गरेको मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान अन्तर्गत सुदुरपूर्व र सदूरपश्चिमको टोलीले आज सीमा अतिक्रमित क्षेत्रको निरीक्षण, कोणसभा र सीमा क्षेत्रका जनतासँग अन्तक्र्रिया लगायतका कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेतृत्व गरेको पूर्व झापाबाट सुरु गरेको मेची–महाकाली अभियान टोलीले आज झापाको गौरीगञ्ज– ५ स्थित फत्तेपुरमा भारतीय पक्षबाट सीमा अतिक्रण गरिएको भूमिको निरीक्षण गर्ने कार्यक्रम तय गरेको हाम्रा सहकर्मी लोकराज जैसीले बताए ।


उक्त क्षेत्रमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर सडक निर्माण गरेको भन्दै स्थानीयवासीहरुले विरोध जनाउँदै आएका छन् । अभियान टोलीले सीमा निरीक्षण लगत्तै त्यहाँ कोणसभा समेत गर्ने भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सीमा क्षेत्रको कार्यक्रमको समापनसँगै झापाबाट उक्त अभियान टोली आज मोरङ जिल्लातर्फ प्रस्थान गर्नेछ । उक्त अभियान टोलीले आजै मोरङको उर्लाबारीमा भव्य कोणसभा सम्पन्न गर्नेछ ।

उक्त सभालाई मोर्चा अध्यक्ष गजुरेल, मोर्चाका प्रदेश संयोजक नगेन्द्र राई लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै मोरङकै दाइनियाँ भन्ने स्थानमा अर्को कोणसभा गरिने भएको छ ।

उक्त कोणसभापछि दिउसो तीन बजे धनपाल गाउँपालिकाको कर्सिया भन्ने गाउँमा स्थानीयवासीहरुसँग भेटघाट तथा अन्तरक्रियाको कार्यक्रम राखिएको छ ।

त्यसपछि उक्त अभियान टोली त्यहाँबाट विराटनगरतर्फ प्रस्थान गर्ने र राति त्यहिँ बस्ने बताइएको छ ।

त्यसैगरी मोर्चाका सचिव परि थापाले नेतृत्व गरेको पश्चिम कञ्चनपुरबाट सुरु भएको मेची–महाकाली अभियान टोलीले आज कञ्चनपुरको बेलौरीमा सभा सम्पन्न गर्ने र दिउसो १ बजेतिर सीमा क्षेत्र गोविन्दपुर पुनर्वास क्षेत्रमा अतिक्रमित भूमिको निरीक्षण गर्ने, गोविन्द बजारमा कोणसभा र स्थानीय जनतासँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरिएको हाम्रा सहकर्मी धनन्जय अवस्थीले बताए ।

उनका अनुसार दुवै ठाउँमा गरिने सभालाई मोर्चाका सचिव परि थापा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज बेलुका अभियान टोली कैलाली जिल्ला प्रस्थान गर्नेछ ।