
नवलपुर। क्रान्तिकारी युवा लिग, नेपाल प्रदेश नं. ४ द्वारा २०७५ माघ २७ गतेदेखि २०७५ फाल्गुन १ गतेसम्म पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. १३, कोटथरस्थित सोती चोकमा सञ्चालन गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण र शारीरिक व्यायाम समेतको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देजमो नेपालका अध्यक्ष कमरेड सीपी गजुरेल ‘गौरव’द्वारा उद्घाटित उक्त समारोहमा वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम पनि समावेश थियो । उक्त प्रशिक्षण कार्यमका विषय वस्तुहरुमा मालेमावादका आधारभूत सिद्धान्त, संघटक अंगहरु थिए । प्रशिक्षण विधागत हिसावले मार्क्सवादका तीन संघटक अंग– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयवस्तुहरुमा प्रशिक्षण दिइएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादीका) केन्द्रीय सदस्य एवम् केन्द्रीय पार्टी स्कुल विभागका सचिव तथा केन्द्रीय प्रशिक्षक हस्तबहादुर केसीद्वारा मार्क्सवादी दर्शन अन्तगरत द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, साम्राज्यवाद र सर्वहारावर्गीय युगको दर्शन, ऐतिहासिक कार्यभारबारे समग्र विषय र वैज्ञानिक समाजवादबारे प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

त्यसै गरी, पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वी नवलपरासी जिल्ला इन्चार्ज अशोक लम्साल ‘अनुकूल’ले वैज्ञानिक समाजवादका विषयमा र पार्टीका केन्द्रीय सदस्य तथा क्रान्तिकारी युवा लिग, नेपालका केन्द्रीय अध्यक्ष कमरेड अमीर महर्जन ‘आकाश’ ले राजनीतिक अर्थशास्त्रका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रदेश नम्बर ४ (गण्डकी प्रदेश) का अधिकांश जिल्लाहरुबाट सहभागी भएका क्रान्तिकारी युवा लिगका युवाहरुलाई अमीर महर्जन ‘आकाश’ र प्रदीप थापाले मार्शल आर्टका साथै अन्य शारीरिक व्यायामबारेमा प्रशिक्षण दिएका थिए ।
































