सिन्धुपाल्चोकको चौतारामा २४ औं जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न

सिन्धुपाल्चोकको चौतारामा २४ औं जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न

 

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुपाल्चोक र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा २४ औं जनयुद्ध दिवस भव्य रुपमा मनाइयो । कार्यक्रममा शुभकामना आदानप्रदानका साथै सहिदहरुको फोटामा माल्यार्पण पनि गरियो ।

कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सिन्धुपाल्चोक संयोजक तिलक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सहीदहरुप्रति श्रद्धाञ्जलीपछि सुरु भएको मन्तव्यको क्रममा पार्टी इञ्चार्ज क. सानुले जनयुद्धको थालनी, यसको विकास, नेतृत्व निर्माण, जनयुद्धप्रति भएको धोखाधडी र आजको अवस्थामाथि प्रकाश पारेका थिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य क. शिव श्रेष्ठले शुभकामनासहित मन्तव्य राख्ने क्रममा जनयुद्धको थालनी एक महान् थालनी भएको र जनताका बीचमा यसले लिएको संघर्षको विकासको गति र शोषित तथा उत्पीडितहरुको विसाल सहभागिताले र यसले चुमेको उचाइसँगै नेतृत्वमा आएको विचलन र धोखाधडीका कारण जनयुद्धले बेहोर्नु परेको असफलताका बारेमा प्रकाश पारेका थिए ।

जनयुद्ध दिवस कार्यक्रम पश्चात् बसेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सिन्धुपाल्चोकको भेला तयारी समितिको वैठकले फागुन २९ गते जिल्ला भेला गर्ने महत्वपूर्ण निर्णय लिएको छ । यसका लागि फागुन १० गतेबाट जिल्लाव्यापी संगठन निर्माण अभियान संचालन गरिने बताइएको छ ।

देजमो जिल्लाका संगठनहरु निर्माण र जिल्ला भेलाका सबै कार्यक्रमहरु चैत्र २४ मा हुन गइरहेको देजमो नेपालको राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरी गरिन थालिएको बताइएको छ ।

देजमो जिल्ला भेला आयोजक समिति संयोजक तिलक श्रेष्ठ र सदस्यहरुमा दानबहादुर श्रेष्ठ, खड्क बहादुर थापा, राजु खड्का, सञ्जय तामाङ, सूर्य तामाङ, होमकुमारी तामाङ, कमला श्रेष्ठ र विष्णु लामा गरी ९ सदस्यीय रहेको छ ।