दैलेखमा २४ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

दैलेखमा २४ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

दैलेख । सहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपाल दैलेखको आयोजनामा २४ औँ जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न भएको छ । उक्त दिन उपस्थित सबैका बीचमा शुभकामना आदानप्रदान पनि गरिएको छ ।

२४ औं जनयुद्ध दिवसको अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपाल र नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको संयुक्त आयोजनामा सहिद बेपत्ता घाइते परिवारहरुलाई अभिनन्दन गरिएको छ । जनयुद्ध दिवस कार्यक्रममा ज्ञातअज्ञात सहिदहरुका फोटामा अबीर लगाउँदै सहिद परिवार अपाङग तथा घाइते गरी ५० जनालाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ ।

नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी वीरेन्द्र सिंहको अध्यक्षतामा तथा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सेक्रेटरी कृष्ण गुरुङको प्रमुख आतिथ्यतामा र नेकपा क्रान्तिकारी माओवादीका केन्दीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज दीपकबहादुर शाहीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पार्टीका सल्लाहकार जय बहादुर शाही, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत शाही, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिमाल बि.क. लगायत अन्य अतिथिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कर्णली प्रदेश सेक्रेटरी कृष्ण गुरुङले भन्नु भयो–‘सहिदहरुले अब निराशा हुनुपर्ने छैन, कमरेडहरु हामी थप बलिदानीका निमित्त लामबद्ध छौं, हामी तपाईहरुको अगाडि कसम खान्छौ कि हामीले घोषित र अघोषित ढङ्गले वैध र अवैध कार्वाही सुरु गरिसकेका छौं । हामी दलाल भ्रष्टाचारीहलाई कार्वाही गर्न कालो मोसो मात्र हैन, हामीमाथि जाइलागे भने भौतिक आक्रमणमा समेत् उत्रने छौं ।

गुरुङले थपे– ‘फेरि हाम्रा सहिदहरुका रगतमा जुन हामीले हिजो रगत बगाएका थियौं, हाम्रा सहिदहरुले गरेको बलिदानको मूल्य मान्यताका बर्खिलापमा कोही जान खोज्छ भने अझ हामी हजारौं होइन, लाखौंको दरमा सहिद हुन तयार छौं र हामीले चाहेको यो देशको आमूल परिवर्तन गरेर छाड्नको निमित्त पनि हामी तपाईंको अगाडी छौं । आफ्नो मन्तव्यको संश्लेषणमा गरुङले भने– ‘हामी निराश छैनौ, निराश हुने दिनहरु गइसके ।’

कार्यक्रमका विशेष अतिथि तथा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज दीपककुमार शाही क. ‘प्रकाश उर्जा’ले भने– ‘हामी हाम्रो जीवन व्यवहारबाट कहिल्यै झुक्ने छेनौ, हामीले हाम्रा सहिदहरुले देखाएको बाटो २४ औं जनयुद्ध दिवस मनाउँदा पछ्याइरहेका छौं र त्यो लक्ष्य प्राप्तिका निम्ति हामी सधै प्रतिबद्ध भएर लागिरहेका छौं । साथै, भ्रष्टाचारीहरुका विरुद्ध कालो मोसो दल्ने र हाम्रो जीवन रहेसम्म निरन्तर संघर्षमा लागिरहने साथै निरन्तर परिर्वतनका पक्षमा र अन्यायका विरुद्धमा जुटिरहने छौं ।’

उनले संघर्षको क्रममा प्रतिक्रियावादीहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध साथै तिनका नेपाली दलालहरुका विरुद्ध र विस्तारवादीहरुका विरुद्ध जाइलाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।