नेपालगञ्ज । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बाँकेको प्रथम जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ । “संघीय जनगणतन्त्र स्थापनार्थ देजमो,नेपालको अभियान, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा बाँके जिल्ला प्रथम सम्मेलन” भन्ने मूल नाराका साथ माघ २३ अर्थात् आज भव्यतापूर्वक सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. ५ का संयोजक के.बी. गुरुङले गरेका थिए ।
बाँकेको नेपालगञ्ज स्थित होटेल पीस प्लाजामा मोर्चाको सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बर्दिया र बाँकेका इन्चार्ज संकुल शर्माको विशेष आतिथ्यता रहेको थियो भने सम्मेलनमा क्रान्तिकारी माओवादी बाँकेका सेक्रेटरी अर्जुन, पार्टी निकटका विभिन्न मोर्चा र संगठनका प्रमुखहरु लगायतको समेत आतिथ्यता रहेको मोर्चाले जनाएको छ । सम्मेलनमा भाग गाउँ गाउँबाट प्रतिनिधि, प्रवेक्षकहरुको सहभागिता रहेको छ । अहिले बन्दसत्र चरिरहेको हुनाले सम्मेलनले गर्ने नयाँ नेतृत्व निर्माणसम्बन्धी जानकारी भने आउन बाँकी छ ।
यसैबीच, मोर्चाले भोलि अर्थात् २४ माघमा बर्दिया जिल्लाको प्रथम सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ । मोर्चा यतिखेर देशैभर चैत्र २४ मा हुने राष्ट्रिय सम्मेलनको व्यापक तयारीमा जुटेको छ ।
_