सरकारले राष्ट्रिय क्रिकेट टोलीलाई जनही ५–५ लाखसहितको सम्मान गर्दै

प्रकाशित मिति : २०७५ माघ २२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँगको एक दिवसीय र टी–२० सिरिज जितेपछि सरकारले क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५–५ लाखसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पटक एक दिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएको टोलीलाई यस्तो सम्मान गर्ने निर्णय गरेको हो ।

दुवै सिरिजम २–१ को जित हात पार्दै स्वदेश फर्किएको टोलीलाई हिजो अपरान्ह त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको थियो । विमानस्थलमा खेलाडीको स्वागतका लागि पहिलो पटक रेड कार्पेट समेत ओछ्याइएको थियो ।

खेलाडीको स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट लगायत विमानस्थलमा पुगेका थिए । सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले विमानस्थलमै खेलाडीलाई ब्याक्तिगत रुपमा १०–१० हजार नगद सहित सम्मान गरेका थिए ।

राष्ट्रिय झण्डा सहित सयौं समर्थक खेलाडीलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए । समर्थकले विमानस्थलमा टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो, धुर्मुस सुन्तली हाईहाई, खेलकुदमन्त्री बाइबाई’ जस्ता नारा लगाएका थिए । नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा एकपछि अर्को पहिचान बनाई रहँदा सरकारले क्रिकेट खेलको पूर्वाधारमा जोड नदिएको भन्दै समर्थकले चर्को नारा लगाएका थिए । विमानस्थल पुगेका समर्थकलाई रोक्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

स्वदेश फर्किएको नेपाली टोली अब धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिग (डीपीएल–३) र टी–२० विश्वकपका लागि एसिया छनोटको तयारीमा लाग्नेछ ।