काठमाडौं । भ्रष्टचारको मापन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक गरेको छ । सार्वजनिक भएको रिर्पोट अनुसार डेनमार्क सबैभन्दा कम भ्रष्टचार हुने मुलुकमा छ भने नेपाल १८० देशमध्ये ३१ अंक प्राप्त गर्दै १ सय २४ औं स्थानमा रहेको छ ।
दक्षिण एशियाली राष्ट्रहरुमा भने भुटान ६८ अंक प्राप्त गर्दै २५ औं स्थान छ, त्यस्तै, भारत ४१ अंक प्राप्त गरी ७८ औं स्थान, श्रीलंका ३८ अंक प्राप्त गरी ८९औं स्थान, पाकिस्तान ३३ अंक प्राप्त गरी ११७ औं स्थान, नेपाल ३१ अंक प्राप्त गरी १२४ औं स्थान, बङलादेश २६ अंक प्राप्त गरी १४९ औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७२ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ३९ अंक प्राप्त गरी ८७ औं स्थानमा रहेको छ ।
सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेशनल मापन गरेको थियो । यस सूचाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ । यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो ।
यस वर्षको सूचाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अंकप्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।