क्रान्तिकारी पत्रकार पंगेनीको भैसी पालन, भन्छन्– ‘पत्रकारिता गरेर जीवन धान्नै सकिएन’

प्रकाशित मिति : २०७५ माघ १५

नवलपुर । नवलपुरको पुरानो कावासोती चोकबाट करिब डेढ किमी दक्षिण कावासोती नपा–१४, त्रिभूवनीमा क्रान्तिकारी पत्रकार नारायण पंगेनीले भैसी पालन थालेका छन् । करिब डेढ दशक पत्रकारिता पेशामा बिताएका पंगेनीले पत्रकारिता पेशा छाडेर नौं महिना अघिदेखि भैसी पालन सुरु गरेका हुन् । उनी नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

उनले स्थानीय विद्यालय जनता मावि त्रिभूवनटारको जग्गा दशवर्षसम्म लिजमा लिएर भैसी पालन सुरु गरेका छन् । यो त्यही विद्यालय हो जहाँ कुनै बेला पुष्पकमल दाहाल‘प्रचण्ड’ले पढाउने गर्दथे । प्रचण्डकै नेतृत्वमा भएको जनयुद्धमा होमिएका पत्रकार पंगेनी युद्ध पत्रकार हुँदै जनगणतन्त्र रेडियो, मिर्मिरे रेडियो, रातोपाटी डटकम, जनता टिभी लगायत दर्जनौं मिडियामा पत्रकारिता गर्दै जीवन धान्नका लागि अहिले पत्रकारिता पेशा छाडेर भैसी पालन गर्न पुगेका छन् ।

दशकभन्दा बढी सयम पत्रकारिता पेशामा गुजारेका पत्रकार पंगेनीलाई पत्रकारिता पेशाबाट पलायन हुनुपर्दाको भन्दा बढी चिन्ता सर्वहारा श्रमजीवी वर्गका निम्ति भनेर गरिएको दशवर्षे महान जनयुद्धले सेटब्याक खाएको वा क्रान्ति पराजित भएकोमा बढी चिन्ता छ । जनयुद्ध लडेका अधिकांंश कार्यकर्ताहरु अहिले जीवन धान्नकै निम्ति खाडी मुलुकमा कष्ट साध्य जीवन बाँचिरहेको, अधिकांश घाइते अपाङ्गहरु अहिले पनि उपचार नपाएर छट्पटाइरहेको, सहिद तथा वेपत्ताहरुको दुरावस्थाप्रति उनी बढि चिन्तित देखिए ।

तर उनी भैसी पालन पेशाप्रति भने सन्तुष्ट छन् । उनलाई अहिले दैनिकी चलाउन र खाँचो टार्न कुनै कठिनाई छैन । उनले आजकल दैनिक प्रतिलिटर ७०–८० रुपैयाँका दरले ६५ लिटर दुध बेच्ने गरेका छन् । बुटबल र नारायणघाटको बीच भू–भाग भएका कारण पनि उनलाई बजारको कुनै समस्या छैन । दुध लिन घरमै आइपुग्छन् ग्राहकहरु । २ वटाबाट भैसी पालन सुरु गरेका उनले अहिले ८ वटा पु¥याएका छन् । यसैबर्ष २० वटासम्म पु¥याउने उनको लक्ष्य छ । 

पंगेनी भन्छन् “कृषि पेशा र पत्रकारितालाई सँगसँगै लैजाने सोचेको छु । घर परिवारलाई व्यवस्थित बनाएपछि कृषि पत्रकारितालाई अगाडि बढाउँछु ।” नेपालको पत्रकारिता पेशामा इमान्दार तरिकाले जीवन धान्नै गाह«ो रहेको अनुभव सुनाउँदै उनी भन्छन्, “रातदिन नसुती नसुती काम ग¥यो, जीवन धान्नै गाह«ो भो पत्रकारिता पेशामा ।” पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा राज्य र सम्बन्धित निकायहरुले गम्भीर भएर सोच्नुपर्ने र ठोस नीति तथा योजना बनाउनुपर्ने उनको सुझाव छ । उनले कृषि पेशाबाट फुर्सद निकालेर स्थानीय सामथ्र्य एफएममा साँझको समाचार वाचन समेत गर्ने गरेका छन् ।

समृद्धिको नारा फलाकी रहेको ओली सरकारले साँच्चै समृद्धि हासिल गर्ने हो भने मुख्यगरी कृषि क्षेत्रमा लगानी गर्नुपर्ने उनको ठहर छ । उनी विदेशीने युवाहरुलाई एकचित्त भएर लागिपरे स्वदेशमै विदेशको भन्दा राम्रो कमाइ गर्न सकिने पनि सुझाव दिन चाहन्छन् ।
जीवनसंगिनी संगिता तिमिल्सिनाको उत्प्रेरणा, तत्परता र जोडबलले नै आफू पत्रकारिता पेशा छाडेर कृषि पेसामा आबद्ध हुन पुगेको उनको भनाइ छ ।

स्नातकसम्म अध्ययन गरेकी उनकी जीवनसंगिनी संगिता तिमिल्सिनाले अरुको खटनपटनमा काम गर्नुभन्दा स्वतन्त्रतापूर्वक आफ्नै पेशा व्यवसाय गर्दा धेरै सन्तुष्टी मिलेको अनुभव बाँडिन् । भन्छिन्, “पत्रकार भन्यो हिड्यो, न खाने फुर्सद, न परिवारसँग बस्ने, कुरा गर्ने फुर्सद, दिन रात समाचार भन्यो हिड्यो, विहान बेलुका छाक टार्नै गाह«ो । मलाई त श्रीमान घरमै भएर पनि विदेश गएजस्तै लाग्थ्यो, उहाँले पत्रकारिता पेशा गर्दा ।”

कामले काम सिकाउने र कामलाई सानो ठूलो नभनीकन ग¥यो भने जीवन जिउन कुनै कठिनाइ नहुने उनेको भनाइ छ । आधुनिक र व्यवसायिक रुपमा भैसी पालन लगायत जुनसुकै पनि व्यवसाय गर्ने हो भने मनग्य आम्दानी गर्न सकिने अनुभव उनले छोटै अवधिमा सँगालेकी छन् । उनी भन्छिन्, “हामी विहान ४ बजे उठ्छौं, ७ बजेसम्म विहानको सबै काम सक्छौं । दिउँसो २ बजेतिर कुडोपानी र बेलुका २ घण्टा जति खट्दा सबै काम सक्छौं । दिनमा ५–६ घण्टा दुई जनाले काम गर्दा मासिक लाखभन्दा बढी आम्दानी गरिराखेका छौं ।” दिनदिनै हजारौं युवाहरु जीवन धान्नकै लागि विदेश पलायन भइरहँदा पत्रकार पंगेनी दम्पतीले थालेको यो पेशा धेरै युवाहरुका लागि उदाहरणीय र अनुकरणीय छ ।