संचालनमा आयो ‘भिभान्ता काठमाडौं’

संचालनमा आयो ‘भिभान्ता काठमाडौं’

काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल बिहीबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।

‘इन्डियन होटेल्स कम्पनी लिमिटेड आइएचसिएल’को व्यवस्थापनमा ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा आएको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सिजी हस्पिटालिटीद्वारा सञ्चालित रिसोर्ट ‘मेघौली सेराई’पछि आइएचसिएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो ।

‘करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।’

रविभक्त श्रेष्ठले नेतृत्व गरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को प्रमुख प्रवर्तक हो । यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्री उत्पादनलगायत विविध क्षेत्रमा लगानी गरेकाटे छ । सिजी हस्पिटालिटीले विश्वका ९ देशमा ४ हजार २ सय कोठासहित ८५ वटा होटेल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटेल र रिसोर्ट सञ्चालनको तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटेल खोल्ने कम्पनीको लक्ष्य छ ।

‘भिभान्ता काठमाडौं’मा १ सय १० कोठा छन् । होटेलमा एसियाली स्वादमा रमाउनेका लागि ‘अकारी’ जस्तो विकल्प पनि उपलब्ध छ । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ । ‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङ पुल र स्पाको सुविधा पनि उपलब्ध गराउनेछ ।