जुन गोरुको सिङ छैन उसको नाम तिखे

जुन गोरुको सिङ छैन उसको नाम तिखे

ओली–प्रचण्डले नेतृत्व गरेको नेकपाले मस्यौदा राजनीतिक प्रतिवेदनमा राजनीतिक शक्तिहरुको विश्लेषण गर्ने सन्दर्भमा आफ्नो पार्टीलाई ‘देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति हो’ भनेको छ । उसको यो दाबीमा कति सत्यता छ तथ्यहरुले बताउने छ ।

कम्युनिस्टहरुले मावन समाजमा हुने वर्गीय उत्पीडनको साथै अन्य उत्पीडन र शोषणको पनि विरोध गर्दछन् । यसो गर्दा उसले एउटा देशले अर्को देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनता माथि हुने सबै प्रकारको हस्तक्षपको पनि विरोध गर्दछन् । अर्को शब्दमा भन्दा कम्युनिस्ट पार्टीले आफ्नो देशमाथि अन्य देशहरुबाट हुने सबै प्रकारको हस्तक्षेपको विरुद्ध अग्र पंक्तिमा रहेर संघर्ष गर्दछन् । सबै देशभक्तहरु कम्युनिस्ट हुँदैनन् तर सच्चा कम्युनिस्टहरु अन्तराष्ट्रियवादी हुनुको साथै देशभक्त पनि हुन्छन् । तर ओली–प्रचण्डले नेतृत्व गरेको नेकपाले आफ्नो मस्यौदा राजनीतिक प्रस्तावमा भने झैं ‘देशभक्तिपूर्ण आन्दोलनको अगुवाई’ गरिरहेका छन् त ? यस विषयमा घटना र तथ्यहरुलाई हेरौं ।

राष्ट्रघाती महाकाली सन्धि हुँदा तत्कालिन एमालेले नेपाली कांग्रेसलाई सहयोग नगरेको भए त्यो सन्धि हुने थिएन । एमाले भन्ने पार्टी ०४६ साल पछि यात एकल वा संयुक्त सरकारमा छ यात प्रमुख प्रतिपक्षमा छ । ०४६ साल देखि ०६३ सालको अवधिमा नै मित्रराष्ट्रहरुको सहयोगमा बनेको राष्ट्रिय उद्योगहरुलाई निजीकरण गर्ने भन्दै सिन्कीको भाउमा विदेशी दलालहरुलाई बेच्ने काम भयो । कतिपय उद्योगहरु सरकारको राष्ट्रविरोधी नीतिका कारणले बन्द भएका छन् । तत्कालिन एमालेले यी विषयहरुलाई लिएर कति आन्दोलन गर्यो ? त्यो सबै जनतासामु प्रस्ट नै छ । वास्तवमा तत्कालिन एमाले र नेपाली कांग्रेस मिलेर देशको राष्ट्रिय उद्योगहरु दलाल पुँजीपतिहरुलाई बेच्ने काम गरे । सीमा अतिक्रमण हुँदा सरकारको तर्फबाट कहिकतै विरोध भएन ।

नेपालको सीमा नजिक अन्तर्राष्ट्रिय कानूनलाई समेत मिचेर भारतले एकतर्फी रुपमा बाँध बनाउँदा बर्षातको समयमा नेपाली भूमि डुवानमा पर्दछ र सीमा क्षेत्रमा लाखौँ जनताले सास्ती भोगिरहेका छन् । तत्कालिन एमाले सरकारमा रहँदा भारतीय विस्तारवादबाट भएको सीमा अतिक्रमण रोक्न र नेपालको सीमा नजिक एकतर्फीरुपबाट बनाइएको बाँधहरु बनाउन नदिन के पहल गर्यो ? सरकारमा गएपछि तत्कालिन एमालेले वास्तवमा भारतीय विस्तारवादको दलाली नै गर्यो । २०६३ साल भन्दा पहिले प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी) ले राष्ट्रघाती महाकाली सन्धि लगायत सबै असमान सन्धि सम्झौताको विरोध गर्दै आएको थियो ।

तर ०६३ साल पछि प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएर सरकारमा गयो तब उसले पनि असमान प्रकारका सन्धि सम्झौताको विरोध गर्न छाड्यो । स्वयम् प्रचण्ड प्रधानमन्त्री हुँदा सीमा अतिक्रमणको विरोधको त कुरा छोडौं यस भन्दा पहिले भारतसँग भएका सबै सन्धि सम्झौताहरुलाई कार्यन्वयन गर्ने भनेर भारतसँग सहमति गर्यो । बाबुराम प्रधानमन्त्री हुँदा विप्पा जस्तो राष्ट्रहित विपरीत सम्झौता गरे । यो भयो विगतका कुरा ।

अहिले तत्कालिन एमाले र प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) बीचमा एकीकरण भई नेकपा (नेकपा) बनेको छ । अहिले यसैको सरकार छ र संसदमा यसको झण्डै दुईतिहाईको बहुमत छ । संसदको गणितिय हिसाबले हेर्दा ओली–प्रचण्डले नेतृत्व गरेको पार्टीको सरकार निकै शक्तिशाली छ । यस्तो अवस्थामा यो सरकारले देशको सार्वभौतिकताको रक्षा, क्षेत्रीय अखण्डताको रक्षा र राष्ट्रिय हितको लागि के गर्दैछन् ? त्यस सम्बन्धमा विचार गरौँ ।

नेपालको लिपुलेक र कालापानी भारततिर पारेर भारतले प्रकाशित गरेको नक्सा यो सरकारले सरकारी कार्यालयहरुमा राख्यो । विद्यालयहरुमा विद्यार्थीहरुलाई त्यहि नक्सा पढाइयो । जनस्तरबाट यसको व्यापक विरोध भइरहेको छ तर सरकार कानमा तेलहालेर बसिरहेको छ । अरुण तेस्रो र अप्पर कर्णाली जस्ता अत्यन्तै सस्तोमा सम्पन्न हुने जलविद्युत परियोजनाहरु नेपाली जनताको विरोधका वावजुद पनि विदेशी कम्पनीहरुलाई दिने काम भइरहेको छ । नेपाली जनताको विरोधका वावजुद पनि प्रधानमन्त्री ओलीले अरुण तेस्रोको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा उद्घाटन गरे । हाम्रो जस्तो मुलुकमा राष्ट्रिय स्वाधिनताको रक्षाको लागि नागरिकता सम्बन्धि नीति कडा बनाउनु पर्नेमा यो सरकारले खुकुलो बनाउने कानून संसदमा पेस गरिरहेको छ ।

जनस्तरबाट त्यसको विरोध भईरहेको छ । यो विधेयकले नेपाललाई फिजिकरण बनाउने कुरामा सहयोग पुग्दछ । भारतीय पक्षबाट सयौं ठाउँमा नेपालको सीमाना अतिक्रमण भइरहेको छ त्यो अतिक्रमण रोक्न सरकारले कतै कुनै कदम चालिरहेको छैन । के ओली–प्रचण्डले नेतृत्व गरेको नेकपाको यस्ता कार्यहरुलाई ‘देशभक्तिपूर्ण आन्दोलनको अगुवाई’ हो भनेर भन्न सकिन्छ ? जुन गोरुको सिङ छैन उही गोरुको नाम तिखे भने झैं जुन पार्टीले राष्ट्रहित, जनहित विपरीत काम गर्दै आइरहेको छ त्यसै पार्टीलाई ‘देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति’ भन्ने । ? त्यो कदापी हुन सक्दैन । ओली–प्रचण्डले नेतृत्व गरेको पार्टीले अहिले गरिरहेको उपरोक्त कार्यहरु देशघाती राष्ट्रघाति कार्यहरु हुन् । यस्तो कार्य गर्ने पार्टीलाई नेकपा (मसाल)ले देशभक्त जनतान्त्रिक शक्ति भन्दछ । यसो भनेर वास्तवमा नेकपा (मसाल)ले पनि देश र राष्ट्रहित विपरीत काम गर्ने शक्तिलाई सहयोग पुर्याई रहेको छ ।

आफुले भने अनुसार संविधान बनेन भनेर भारतीय विस्तारवादले प्रतिक्रियावादी संविधान जारी हुँदा पनि नेपाललाई अघोषित नाकाबन्दी लगायो । त्यसबेला भारतीय नाकाबन्दीको विरोधमा केपी ओलीले जुन अडान देखाए त्यसलाई सही मान्नु पर्दछ तर भारतीय नाकाबन्दीको अगाडि नझुके जस्तो देखिए पनि अर्को दिशाबाट भारतको स्वार्थ पुर्ति गर्ने काम उनले गरे र गरिरहेका छन् । अरुण तेस्रो भारतलाई सुम्पनु, उपल्लो कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनीलाई दिनु, नागरिकता सम्बन्धि नीति खुलुलो बनाउँनु र भारतीय विस्तारवादी शासन वर्गको दलाल मधेशवादी पार्टीको मागमा संविधान संशोधन गर्न सहमत हुनुले नाकाबन्दीको बेला देखाएको अडानलाई केयौं गुणा पछाडि धकेलेकोछ । यसरी केपी ओली रुपमा भारतको नाकाबन्दीको विरोधमा देखिएता पनि सारमा भारतीय विस्तारवादको अगाडि झुकेका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा डरलाग्दो प्रवृति छ । त्यो हो सरकारमा नहुँदासम्म राष्ट्रियहित र देशभक्तिको कुरा गर्ने । तर सरकारमा पुगे पछि राष्ट्रिय हित सम्बन्धि आफुले उठाएका सबै एजेण्डाहरु छोडेर विस्तारवाद र साम्राज्यवादको अगाडि आत्मसमर्पण गर्ने । कम्युनिस्ट पार्टीको नामबाट सरकारमा गएका नेताहरुको यस प्रकारको व्यवहारले गर्दा सच्चा देशभक्तहरु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई पनि निकै अप्ठ्यारो चुनौती आएको छ ।

जनतामा सबै यस्तै हुन भन्ने भ्रम सृजना भएको छ । त्यो भ्रमलाई चिर्न विस्तारवाद र साम्राज्यवादको सबै हस्तक्षेपकारी कार्यहरु विकल्पमा दृढतापूर्वक संघर्ष गर्नु पर्दछ । साथै व्यक्तिगत पद प्रतिस्ठा र स्वार्थलाई प्राथमिकता दिने भन्दा आम शोषित पीडित जनता र राष्ट्रिय स्वाधिनताको लागि सबैकुरा त्याग्न सक्ने नेतृत्वको विकासमा जोड दिनु पर्दछ ।