२०१३ सालमा विद्यालय खुल्यो । हामीले त्यहाँ पाँच कक्षासम्म मात्र अध्ययन गर्न पायौं । अहिले त्यो उच्च माविमा विकास भएको छ । आठ कक्षा पास भएपछि मैले गाउँमा पढाएँ र अछाममा गएर पनि पढाए । म २०२५ सालतिर विदेशमा गए । विदेश भनेको इण्डिया नै थियो । म बम्बै पुगे । मेरो थोरै भए पनि राजनीतिक चेतना थियो । बम्बैमा मजदुरहरु आन्दोलनमा उत्रिएका थिए । म पनि ती राजनीति गर्नेहरुसँग नजिकिए । काममा लाागेपछि मजदुर युनियनसँग जोडिए ।
त्यतिबेला अमृतप्रसाद डाँगे भनिने एकजना स्थापित मजदूर लिडर थिए । बम्बैमा रहेका कलकारखानामा उनको ठूलो प्रभाव र सम्मान थियो । उनी मजदूर युनियनका लिडर थिए । हडताल सुरु भयो, मजदुरहरुको । डाँगे कम्युनिष्ट प्रभाव भएका मजदूर नेता थिए । रेलवे हडताल सुरु भएपछि लाखौं मजदुरहरु सडकमा ओर्लिए । हामी एक दिन अम्यौरी भन्ने ठाउँमा पुग्यौं । त्यहाँ एउटा ठूलो कभर्ड हल रहेछ । त्यो काठमाडौंको सामाखुशी र गोंगबूको पूरै एरिया ढाकेर बनाइए जत्रो । अमृतप्रसाद डाँगे आउने हुन् भनेर कारखाना तथा रेलवे मजदुरहरु खचाखच भरिएका थिए ।
मजदूरहरु यति थिए र यसरी कोचिएर बसेका थिए कि मैले त यो हल नै भत्कियो भने के होला जस्तो लागेको थियो । त्यतिका धेरै मानिस मैले कहिल्यै पनि देखेको थिएन । त्यहाँ हस्ताक्षर पनि चलिरहेको थियो । सबैले निकै उत्साहका साथ हस्ताक्षर गरिरहेका थिए । हस्ताक्षर यति धेरै संकलन गरियो कि पाँचछ जनाको भारी नै पुग्यो । उपस्थित सबै मजदुरहरुले हस्ताक्षर गरेका थिए । कोही पनि आफ्नो हस्ताक्षर नछुटोस् भन्ने कुरामा निकै सतर्क थिए ।
यसपछि अमृतप्रसाद डाँगे आएर भाषण गरे । निकै लच्छेदार र आक्रामक भाषण गरे । उनले देशमा मजदूरमारा पुँजीपतिहरुलाई संघर्षका माध्यमबाट ठीक ठाउँमा ल्याउनु पर्छ भने । मजदुरहरुमा अद्वितीय ताकत छ भनेर भाषण गरे । डाँगे निकै आक्रामक र भावनात्मक थिए । उनको भाषणबाट सबै प्रभावित भए पनि । मैले ६÷७ वर्षसम्म त्यही मजदुर भएर काम गरे । बम्बै त्यतिबेला विश्वको सातौं नम्बरको सहरमा गणना हुन्थ्यो ।
त्यहाँ बस्दा नेपालको पनि र अन्तर्राष्ट्रिय भेटघाट पनि हुने म पाँचछ वर्षसम्म त्यहाँ बसेको पत्तो नै पाएन । मजदुरसँगको सहकार्य र संगठनप्रतिको लगााब निकै गहिरिएर गयो । मलाई आश्चर्य लागेर आउँथ्यो र आज पनि लाग्छ कि मजदुरहरु आफ्ना युनियनका झण्डाहरु हातमा लिएर संघर्षमा उत्रिएपछि उनीहरुको नेतृत्वमा पूरै कलकारखाना ठप्प हुने गर्दथे । रेलवहरु पूरै ठप्प पारिए । विजुलीहरु बलेकै छन्, पंखाहरु चलेकै छन् । तर काखानाहरु सबै खाली छन् । एकजना पनि मजदुर काममा छैन । तर मलाई अर्को आश्चर्य त के कुरामा लागेर आयो भने सरकारले त्यति ठूलो हड्ताललाई दबाएर छाड्यो ।
रेलवे मन्त्री जर्ज फण्डान्डिस भन्ने थियो, त्यतिबेला । उसले त्यो हडताल पूरै दबाइदियो । हामीले त त्यति ठूलो मजदुर आन्दोलन कसले दबाउन सक्ला भनेका थियौं । त्यो आन्दोलन दबाइन्छ भनेर त कल्पनासम्म पनि गरेका थिएनौ । रेलवे मजदुरहरुलाई प्रहरी लगाएर गोरु चुटाइ लगाउन सुरु गर्यो । मजदुरुहरुलाई रेलवेबाट बाहिर निकालिदियो । सबैलाई कामबाट निकालिदियो । यो आन्दोलन सफल हुन सकेन । तुहिएर गयो ।
नेता अमृतप्रसाद डाँगे अन्य कार्यक्रमहरुलाई संबोधन गर्न हिंडिसकेका थिए । उनी त्यहाँ हुँदासम्म केही पनि गरेन । डाँगेलाई समातेपछि त खुन खराब हुने स्थिति थियो । गोली चल्ने भयो । ठीक यही कुरा छल्दै पुलिसले उनी नभएको मौका छोपेर एक्लाएक्लै बनाएर मजदुरमाथि धावा बोलेको थियो । यदि यो हडताल आन्दोलनमा बदलिएको भए देशमा गृहयुद्ध हुने संभावना थियो । त्यसपछि पनि मजदुर संगठन र आन्दोलनको तयारीमा जुटेका थिए । उनीहरुले पुनर्गठन गर्दै थिए । मकहाँ खबर पनि पठाएका थिए ।
म केही दिनपछि घर फर्किए । नेपाल आएँ । मेरो दिमागमा बम्बैको मजदुर आन्दोलन घुमिरहेको थियो । मैले त गाउँमा आएर पनि बम्बैको जस्तै मजदुर आन्दोलन हुनसक्छ भनेर कल्पना गर्न थाले । तर गाउँमा त अर्कै ताल पो थियो । त्यहाँ त महाराजका तालहरु थिए । सामन्ती तालहरु थिए । नंगरा बेचेर खाने शोषकी तालहरु थिए । गाउँमा ‘महाराजी नंगरा’ भन्ने चलन थियो । त्यो नंगरा ठकुरीहरुले मात्र प्रयोग गर्दथे । अरु कसैले त्यो खालको बाजागाजा हाल्न वा प्रयोग गर्न पाउँदैनथ्यो । यदि कसैले चाहेमा त्यो महंगोमा किनेर प्रयोग गर्नु पर्दथ्यो ।
हाम्रा गाउँमा दुईजना महाराजहरु थिए । ती दुवै शाही खलकका थिए । उनीहरुले रावत, विष्टहरुसँग नंगरा बेच्ने र हजारौं रुपैया कर दस्तुर लिने गर्दथे । नंगरा बेच्नेहरुको पनि र किनेर नंगरा नचाउनेको पनि होड चल्ने गर्दथ्यो । म कहाँको मजदूर आन्दोलनमा रमाएको, उनीहरु कहाँको नंगरा बेच्दै र खाँदै गरेका । सामान्य रुपमा खटपट र विमतिहरु मनभित्रबाट सुरु हुन थालिहाल्यो ।
एकदिन उनीहरुले घुम्न जाऔं भनेर मलाई लिएर गए । साथमा त गएँ, तर उनीहरु दण्ड गर्दा रहेछन् दिनका दिन । उनीहरुले झुट्ठा मुद्दा बनाएर दोषी देखाउने र दण्ड गर्ने गर्दा रहेछन् । एक ठाउँमा गयौं । त्यहाँ बिष्टको घर थियो । त्यहाँ मेरो पैसा दिएन भन्ने उजुरी रहेछ । पैसा तिर्ने दलित थरका थिए । उनलाई बोलाएर निकै हिनामिना पार्न थाले । उनी त्यही बसेर रोए । साथ दिने कोही पनि थिएन । मैले यी सबै हेरिरहेको छु । यो देखेर मन मेरो निकै कुढियो ।
पैसा तत्काल दिनका लागि छैन भनेपछि त्यति बेलाको २४० रुपैयाँ व्याजमात्र भयो भनेर सुनाए । उनी बरर आँशु काढेर रोए । मैले हेरिरहेको थिए, मेरो पनि आँखाबाट आँशु आइहाल्यो । भन्न चाहीं मैले केही पनि सकेन । उनीहरुले जाऔं भनेर साथी बनाएर लगेका छन्, बोल्नु पनि के ? पहिलो पटक साथ लागेर गएको छु । तर अत्याचार सहिनसक्नुको छ । कुरा गर्दागर्दै त्यही बिष्टले त्यो दलितको जग्गा मूल्य गरेर लियो । उनको उठिबास भयो ।
मलाई असाध्यै पीडा भएपछि तपाईहरु बस्नुस्, मेरो घरमा काम छ भनेर म उठेर हिंडे । पछि त उनीहरु र मेराबीचमा खटपट बढेर जान थाल्यो । म पनि सहेर बस्ने अवस्थामा रहेन । उनी र मेरो बीचमा मिलाप नै भएन । म पढेलेखेको पनि र बलियो पनि । मलाई उनीहरुले ‘बोडीगार्ड’ राख्ने र लेखन्दास बनाउने उनीहरुको इच्छा रहेछ । त्यो पछि बुझियो । उनीहरुको स्वार्थ पूरा नभएपछि झगडा पनि भयो र एकअर्कामा हातपात पनि भयो ।
एक पटक सवालजवाफ निकै भएपछि मैले उनीहरुलाई समातेर सिस्नोको घारीमा फालिदिए । यसले आपसी कटुतामा निकै वृद्धि गर्यो । म पनि उनीहरुले दबाएर दब्ने अवस्थामा थिएन । अत्याचार त मलाई देखि सहन निकै कठीन हुन्थ्यो ।
२०३४ सालमा गाउँफर्क राष्ट्रिय अभियान लागू भयो । यो पञ्चायत कालको उत्कर्षको बेला थियो । गाउँमा प्रतिनिधिका लागि मेरो नाम सिफारीश भएर गयो । मलाई चासो नै थिएन, तर गाउँका सबै मिलेर यसो गरेका थिए । तर मेरै आफन्तहरु, जोसँग मरो मनमुटाब बढिरहेको थियो, उनीहरुले मलाई ‘बम्बैको गुण्डा हो काम राम्रो गर्नेछैन’ भनेर मुद्दा हालेका रहेछन् । त्यतिबेला गोप्य रुपमा नाम आउने र प्रतिनिधि बनाउने चलन थियो । त्यसपछि एकजना मेरै आफन्त मध्येका एक उनको नाम सिफरीश भएन भनेर जोगी भएको बाहना गरे ।
मैले गाउँको प्रतिनिधि भएर चलाएपछि शोसकी चाला हराउने र सत्ता अर्काको हातमा जाने डरले यो सबै गर्न लगाइयो । टाउकोमा खरानी हालेर जम्मु रुखको फेदमा बसेर जोगी भएको स्वाङ पारिरहे । जोगीको रुपमा बसिरहे । चिट्ठी आयो । खोलेर हेर्दा मेरोसँगै उनको नाम पनि आएको रहेछ । अब सिंदुरे जात्रा गर्न भनेर तयारी गरियो । मैले हातमा तेल कालो मोसो लिएर ती व्यक्तिको मुखमा घसिदिएँ । सार्वजनिक रुपमा उनको बदनाम भयो । अरुले अबीर घसेका छन्, उनको अनुहारमा कालोमोसो ।
त्यसपछि पुलिसले मेरो पिछा गर्न थाल्यो । तर हात हालेर समात्न भने सकेन । गाउँका मानिसहरुले भनेका रहेछन्– यिनलाई सानोतिनो बल र शक्तिले कायम गर्न सक्दैन भनेर । म एक्लै मात्र पनि थिएन । मेरा पछाडी बलिया युवाहरु थिए । गाउँमा बस्न पनि थालियो । तर उनीहरुले मेरा विरुद्धमा अफवाह छर्न थाले । ‘यो गुण्डा हो, यसले देख्ने बित्तिकै छुरा हानेर मार्छ’ भनेर प्रचार गराए । म कलिलो उमेर छँदै बाहिर गएको र भर्खरै मात्र आएकाले जनताले यो साच्चै के हो त भनेर बुझिसकेका पनि थिएनन् । विचारका हिसाबले त कुरै हुन पाएको थिएन ।
।