काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले लगातार चौंथो जित दर्ता गरेको छ । टिमलाई नयाँ प्रशिक्षक ओले गुनर सोल्सजायरले सम्हालेपछि यो टिमको लगातार चौंथो जित हो । बुधबार राति भएको खेलमा युनाइटेडले न्यूक्यासललाई २–० ले पराजित गरेको छ ।
युनाइटेडको जितमा रोमेलु लुकाकु र मार्कुस रास्फोर्डले गोल गरेका गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ६४ औं मिनेटमा सब्स्टिच्युट खेलाडी लुकाकुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यस्तै ८० औं मिनेटमा साञ्चेजको पासमा मार्कुस रासफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेल न्यूक्यासलको घरेलु मैदानमा भएको थियो ।
जितपछि २१ खेलबाट ३८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ । पराजित न्यूक्यासलको १८ अंकका साथ १५ औं स्थानमा छ । जितपछि युनाइटेडका प्रशिक्षक गुनरले आफूले क्लब छोड्न नचाहेको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै अर्को खेलमा चेल्सी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी रेलिगेसन जोनमा रहेको साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलमा ७२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि चेल्सीले गोल गर्न भने सकेन । पछिल्ला ११ खेलमा साउथह्याम्टनले पहिलो पटक अंक जोडेको छ । बराबरीसँगै २१ खेलबाट ४४ अंक जोडेको चेल्सी तालिकाको चौथो स्थानमा यथावत् छ । १६ अंक सहित साउथह्याम्टन १८ औं स्थानमा छ ।