काठमाडौं । मानव समाज रुपान्तरणका क्रममा माओले गरेको योगदानको स्मरण गर्नु भनेको माओवादको रक्षा, प्रयोग र विकास गर्नुसँग अभिन्न रुपमा जोडिएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेशद्वारा ललितपुरको कुपण्डोलमा बुधवार आयोजित १२६ औं माओदिवसका सन्दर्भमा प्रमुख अतिथि गजुरेलले उक्त कुरा बताएका हुन् । गजुरेलका अनुसार मार्क्स र लेनिनपछि मार्क्सवादी विचारमा सार्वभौम योगदान यदि कसैले गरेका छन् भने त्यो माओ नै हुन् । माओको क्रान्तिकारी व्यक्तित्व, नेतृत्व तथा उनले प्रतिपादन गरेको नयाँ जनवादी क्रान्तिको सिद्धान्त विश्व व्यापी र सार्वभौम रुपमा प्रयोग भएको र हुँदै जाने पनि बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गजुरेलले कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै भने– ‘माओदिवसलाई सम्बोधन गर्ने सन्दर्भमा नेपालमा हामीहरुले पनि माओका योगदानहरुको रक्षा, प्रयोग र विकास गर्ने क्रममा महान् जनयुद्ध गरी माओवादलाई स्थापित गराउन ठूलो योगदान दिएका छौं । विश्व कम्युनिस्ट आन्दोलनमा माओवादलाई स्थापित गराउँदै सगराथाको देशबाट रातो झण्डा फहराउँदैछ भन्ने सन्देश संसारभर प्रवाह गर्यौं पनि । तर पार्टीको मूल नेतृत्वले गद्दारी गरेपछि क्रान्तिले सेटब्याक खान पुग्यो ।’
‘गद्दारी गरेका पुष्पकमल दाहाललगायतका नेताहरु हाल संशोधनवादी हुँदै प्रतिक्रियावादी बनेर सरकारमा सामेल भएका छन्’ भन्दै गजुरेलले ‘जनयुद्ध गर्दा यस्तो खाले धोखा नहोस् भनेर ७–बुँदे प्रतिवद्धतासमेत् लेखेर हस्ताक्षर गरेको र सामूहिक फोटो पनि खिचाएको’ स्मरण गरे । ‘वास्तवमा त्यो खेलवाड नभएर अन्तर मनदेखिको वाचा थियो तथापि पछि आएर पुष्पकमल दाहालले ठीक यहीनेर धोखा दिए’ भन्दै गजुरेलले थपे– ‘हाल जनताले तपाईहरुले पनि धोखा दिनुहुन्न भन्ने के ग्यारेन्टी छ र भन्ने प्रश्नको सोझो जवाफ भनेको यति ठूलो धाखाहुँदा पनि कसले माओवादलाई पकडेर हिंडिरहेको छ र कसले छाडेर हिंडिरहेको छ , त्यहीबाट थाह हुन्छ ।’
चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास हेर्दा पनि सैयौं धोखाधडी र उतारचढाव भएको भन्दै पार्टी निरन्तर क्रान्तिमा अघि बढिरहेकाले मात्रै क्रान्ति सम्पन्न भएको भन्दै गजुरेलले नेपालमा पनि गद्दार र धोखेबाजहरुले देश र जनतालाई धोखा दिए पनि आफूहरु र क्रान्तिकारी माओवादी पार्टी निरन्तर परिवर्तनको दिशामा अघि बढिरहेको बताए ।
गजुरेलका अनुसार विचारमा सार्वभौम विकास भनेको मार्क्सवादी विचारका तीन संघटक अंगहरु दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विकास हो । मजदुर–किसानको नेतृत्वमा सर्वहारा वर्गले पुँजीवादी क्रान्ति गर्ने भन्ने माओको निचोड, १९५६ मा रुसमा प्रतिक्रान्ति र ख्रुश्चेवसँगको महाविवाद, चीनमाथि रुसी असहयोग र हस्तक्षेपको धम्की, माओको विचारमा शतिसाल झैं अडान आदि माओवादी विचार र सिद्धान्त निर्माणका आधारहरु थिए ।
कार्यक्रमका अध्यक्ष तथा ३ नं. प्रदेश सचिव क. सागरले ‘क्रान्तिको नेतृत्व गर्दै पार्टीलाई नयाँ दिशा निर्देश गर्दै माओले नयाँ जनवादी क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको’ कुरामा जोड दिएका थिए । आफूहरुले नेपालमा पनि जनयुद्ध गरेको स्मरण गर्दै क. सागरले मूल नेतृत्वले धोखा दिए पनि आफूहरुले निरन्तर झण्डा उठाएर अघि बढिरहेको बताए ।
कार्यक्रमका सञ्चालक तथा पीवीएम् प्रभाकिरणले ‘माओले लम्बे अभियान सुरु गरेको कुरा उप्काउँदै तात्कालीन च्याङकाइशेकको सरकारले घेरा हाल र सखाप पार भन्ने रणनीति अख्तियार गरे पनि त्यो असफल भएको’ भन्दै ‘पटकपटक घेरा तोडेर, तातुनदी तर्दाको क्षणमा आफ्ना धेरै सहयोद्धाहरु गुमाएर पनि फेरि जनमुक्ति सेना पुनर्गठन गरेर माओले कुशल नेतृत्व प्रदान गरी चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सफल भएको कुरामा जोड दिए । पटकपटकको असफलतालाई पचाएर साहसका साथ सफलतामा पुर्याउने, माओको शिक्षा आफूहरुका लागि पनि प्रेरणा भएको कुरा उनले जोड दिएका थिए ।
कार्यक्रममा वक्ता अतिथिहरुका साथै स्थायी समितिका सदस्य क. राजवीरको पनि उपस्थिति थियो ।