अतिक्रमित भूमि सुस्तामा क्रान्तिकारी माओवादीको विरोध प्रदर्शन (फोटोफिचर)

सुस्ता बचाउ आन्दोलनका अगुवाहरु भन्छन् : ‘जुनसुकै व्यवस्था आएपनि सुस्ताबासीको समस्या समाधान भएन’

प्रकाशित मिति : २०७५ पुस ११

- रवि पाण्डेय

नवलपरासी (सुस्ता ) /  भारतद्वारा अतिक्रमित पश्चिम नवलपरासी सुस्ताका बासिन्दाले प्रधानमन्त्री केपी शर्मा ओली सुस्ता क्षेत्रको समस्याबारे उदासिन रहेको बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले सिमा अतिक्रमणका बिरुद्ध मंगलबार सुस्ता गाउपालिका– ५ सुस्तामा आयोजना गरेको बिरोध प्रर्दशनमा सुस्ता बचाउ आन्दोलनका अगुवाहरुले केपी शर्मा ओली सुस्ताको समस्याबारे उदासिन रहेको बताएका हुन् । पटक पटक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग सुस्ता समस्या समाधानको आग्रह गरेपनि दाहालले समेत आफ्नो बाचा बिर्सेको उनीहरुको भनाई थियो । चुनाव अघि र चुनाव जितिसकेपछि दलहरुले सुस्ताबासीलाई गर्ने ब्यवहार फरक फरक रहेको उल्लेख गर्दै अगुवाहरुले नेकपा नेतृत्वको दुई तिहाई सरकार समेत कुर्ची बचाउ आन्दोलनमा लागेको ब्याङ्ग्य गरे । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले सत्तारुढ डबल नेकपामा रहेको राष्ट्रिय आत्मसर्मपणवादका कारण समस्या आएको बताउदै आन्दोलनका राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा आफूहरु रहेको बताए । नेता आचार्यले सत्तारुढ नेकपा बामपन्थी वा कम्युनिष्ट नरहेको भन्दै नक्कली कम्युनिस्टका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या ज्यु का त्यँु रहेको चर्चा गरे । सुस्तालगायतका देशमा सिमा मिचिएका छन्– पश्चिम नवलपरासी इन्चार्ज समेत रहेका नेता आचार्यले भने– ‘बलात्कार, महँगी कालोबजारी र भ्रष्टाचार मौलाएको छ । यस्तो पनि कम्युनिस्ट शासन हुन्छ ?’

कार्यक्रममा सुस्ता बचाउ आन्दोलनका अध्यक्ष गोपाल गुरुङले सत्ता संचालकहरु फेरिए पनि राष्ट्र बचाउने नेतृत्व नहुँदा सुस्तावासीले समस्या बेहोर्दै आएको बताए । धेरै पटक आन्दोलन गरियो । बिद्यार्थीकालदेखि सुस्ताको बिषय उठाउदै आइयो – अध्यक्ष गुरुङले गुनासो गरे– नेताको अवस्था फेरियो तर जुनसुकै ब्यवस्था आएपनि सुस्तावासीको समस्या समाधान भएन । अध्यक्ष गुरुङले सुस्तामा मात्र ४१ हजार ८ सय ३९ हेक्टर भूमि मिचिएको जानकारी दिए।

त्यस्तै सुस्ता बचाउ आन्दोलनका उपाध्यक्ष तथा सुस्त गाउपालिका वडा नम्बर ५ का वडा सदस्य आदम खाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्तावासीहरुसंग भेंट समेत नदिएको आक्रोश पोख्नुभयो । भारत ठुलो होला महान होला – खाँले भने – हाम्रा लागि हामै्र देश महान छ । हाम्रो भुमि महान छ । ठुल्दाईले सिमा मिच्दाँ चँु सम्म नबोल्ने शासकहरुका कारण समस्या भयो । उनले चुनावअघि गरेका बाचा नभुल्न सरकारलाई चेतावनी दिए । हामी असोज नौ गते काठमाण्डौ गएर बिभागीय मन्त्री भेट्यौ– उनले भने– प्रधानमन्त्री विदेश थिए । तर आइसकेपछि पनि समय दिएनन् । अगुवा खाँले नेतृत्वले भारत सामु पुच्छर लुकाउने गरेका समेत टिप्पणी गरे ।

कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीका सचिव छविलाल खरेलको अध्यक्षता सचिवालय सदस्य चुडामणि भण्डारीको संचालनमा भएको कार्यक्रममा देशभक्त जनणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष राजु खनालले समेत मन्तव्य राखे । सो कार्यक्रममा सुस्ताका समाजसेवी युवा रविन्द्र जैसवाल सुस्ता बचाउ आन्दोलनकी नेतृ नुरजहाँ लैला बेगमलगायत सहभागी थिए ।

क्रान्तिकारी माओवादीका बिभिन्न जनसंगठनका नेता कार्यक्रमले मिचिएको सुस्ता भुमिको अवलोकन समेत सो अवसरमा गरेका थिए । उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा महंगी, भ्रष्टाचारी, तस्करी, दलाली र बलात्कारको विरोधमा नाराजुलुस समेत गरेका थिए । त्यस्तै क्रान्तिकारी माओवादीले लिपुलेक–कालापानी क्षेत्र बिनाको नक्सा प्रयोगमा ल्याएका सरकारी कार्यालयहरुमा समेत माओवादीले अनुगमनको तयारी समेत गरेको बताइएको छ । जनप्रर्दशनपछि स्थानीय तहमा भएका भ्रष्टाचार बिरुद्ध कडा रुपमा प्रस्तुत हँुदै जनप्रतिरोध गर्ने माओवादीको योजना रहेको छ । क्रान्तिकारी माओवादीको मंसिर १२ देखि १७ गतेसम्म बुटवलमा बसेको केन्द्रीय समितिको बैठकको योजना मुताबिक प्रर्दशनको तयारी गरिएको थियो ।

सुस्तामा गरिएको उक्त जनप्रदर्शनको पत्रकार रामप्रसाद पौडेलले क्यामेरामा कैद गरेका तस्बिरहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।