यतिखेर नेपाल मण्डल नाउँ गरेको जङ्गेराजमा एक जोडी शेरहरूको दर्जनौँ गुट र उपगुटले भरिपूर्ण गुटेपाटीको थाई कमिटीको अस्थाई बैठक धुम्बाखाडामा चलिरहेको छ । त्यहाँ शेरहरूका विरुद्ध साढे तीन दर्जन स्यालहरू जोड जोडले ह्वीय्या ह्वीय्या गर्दै कराउँदै, उफ्रँदै, चिथोराचिथुर गरिरहेका छन् । शेरहरूको समर्थन र विरोधमा हान्दोहोरी गर्दै घारघार घुरघुर गरिरहेका छन् । बैठकमा पिठ फर्काएर घाँटी जोडिएका एक जोडी शेरहरूले आफ्ना कामकुराको बखान गर्दै लेखिएको म्हपूजा (आत्मपूजा)ले भरिभराउ लेखौटो पेस गरेका छन् ।

शेरहर्ले पेस गरेको लेखौटो ठिक भएन भन्दै एकजना स्वर्गद्वारीतिरबाट झरेका गोत्तेस्यालले काउन्टर लेखौटो पेस गरे । त्यसपछि शेरहरूको लेखौटो र गोत्तेस्यालको काउन्टर लेखौटाका बीचमा एकार्काका समर्थन र विरोध गर्दै गाँड कोराकोर गरेर ह्वीय्याउन थाले । यो ह्वीय्याउने क्रम हप्तासम्म चल्यो र आज मात्रै स्याल ह्वीय्याउने म्याद गुज्रिने भएको छ । त्यसपछि केही तयारी गरेर शेरहर्ले जवाफ दिने पालो आउने छ ।

हार्दिक शुभकामना !

शेरहर्को लेखौटो ठिक भएन भन्दै आफ्नो लेखौटो पेस गरेका गोत्तेस्यालले शेरहर्को लेखौटो थोत्रो भएको, काम नलाग्ने, आत्मपूजाले भरिएको, राजकाज गतिलोसँग गर्न नसकेर बिगारेको, सबै स्यालहर्लाई भागशान्ति विलो नदिएर एक्लै हसुरेको, दुइटा शेर मिलेर मनमानी गरेको, निरङ्कुसता मच्चाएको, गुटेपाटीलाई बदनाम गराएको, कसैलाई काखी च्यापेर डन बनाएको कसैलाई लात्ति हानेर ढिकबाट खसोलेको भनेर शेरहर्को भण्डाफोर गरे ।

उनले एकनम्बरी शेरतर्फ चोरऔँला ठड्याउँदै अहम्वाद जागेर चुली नाघेको, अरूको हक अधिकार खोसेर आफू सर्वेसर्वा भएको, शासनको निर्णय गर्दा आफूहर्लाई नसोधेको । कामकुरो एकातिर छाडेर कुम्लो बोकी इसाइको कलो खान दगुरेको भनेर शेरको खोइरो खने । आफूले पनि केही कलो पाउन पर्च भनेर भन्दा जताततैबाट उछुट्याएको, आफ्ना हनुमानलाई बिरोध गर्न लगाएर लखेटेको भनेर सोह्रैआनाको लेखौटो पेश गरे । त्यसपछि अरू स्यालहरू पालै पालो ह्वीय्याउन थाले ।

यसरी ह्वीय्याउने स्यालहरू पनि दुई कित्तामा बाँडिए । सिंहासनका वरिपरि बसेर भागविलो डकारीरहेकाहर्ले शेरको बचाउ गर्दै आफ्नो मालिकभक्ति दर्शाए । अर्काथरीले शेरहर्को छालै काड्नेगरी कोतरे, चिथोरे र घ्यारघ्यार र घुरघुर गर्दै बिरोध गरे । मुखले ह्वीय्याउने मात्रै नभएर लेखौटो नै तयार गरेर शेरहर्का अगाडि चाङका चाङ लगाए । प्रत्यकले को भन्दा को कम भन्दै लेखौटो तेर्स्याए । कतिले शेरहर्को बचाऊ गर्दै स्वामीभक्ति देखाए, कसैले आफ्ना मालिक हुन भन्ने पनि विर्सिएर शेरहर्को छाला काडेर नाङ्गो हुन्जेल खुइल्याए । कसैले दुइटा शेरलाई अलग अलग गरेर दुई नम्बरी शेरलाई उकास्ने र एकनम्बरीलाई पछार्ने गर्न थाले ।

उता ढेँडु स्यालहर्को बिरोध र घुर्की त पहिलादेखि नै छताछुल्ल भएकै छ । एउटा ढेँडुको अगुवा र पछुवाको किचलो पनि ज्युँदै छ । शेरहरू नसच्चिए ठिक नहुने भन्दै आफ्नो माग पूरा गर्न शेरहर्लाई थर्काएका छन् । अर्का ढेँडुले आफ्नो गुटलाई सौतेलो ब्यवहार गरेकोले शेरहर्को पूजा गरेर बस्न सकिँदैन भन्दै असौजा मैना पेस गरेको लेखौटो पनि ब्युँताएकै छन् ।

दुईटा छुट्टाछुट्टै गुँडमा जन्मिएर हुर्किएका र विगतमा एकार्कालाई शत्रु मानेर मारामार, कुटाकुट, कोराकोर, लुछालुछ गरेका शेरहरू गएको जेठा मैना एउटै गुँडमा सामेल भएर एउटै दापमा दुइटा तरबार जस्तै दुई थान शेरको पगरी गुथेका हुन् । शेरहर्ले त घाँटी जोडे तर तलतलका स्यालहरू अझैसम्म पनि आआफ्नै गुँडतिर भौँतारिएर हिँडेका छन् । स्यालहर्को यस्तो कन्तबिजोग पार्नुमा यिनै शेरहर्को काम हो भन्दै उनीहर्को चर्को आलोचना पनि भयो । कसैले शेरहर्ले जङ्गे शासन फर्काएको पनि भने ।

उनले जङ्गेका तीन सन्तान जस्तै आफूहर्लाई पनि तेस्रो दर्जामा झारेर सिंहासनतिरको जुठोपुरो खान त के चाट्न समेत नदिएर एक्लै हसुरेको भन्दै आक्रोस पोखे । यसरी शेरहर्को बैठकमा स्यालहरू ह्वीय्याउने क्रम सकियो ।

सुन्नेलाई सुनको माला, लेख्नेलाई काउछाको माला, यो कथा धुम्बपुरीमा जाला, शेरेको सत्ता कस्तो भयो सबैले चाल पाउला ।

प्रतिक्रिया

सम्बन्धित खवर