काठमाडौंलाई हराउँदै भैरहवा ग्याडियटर्स फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

प्रकाशित मिति : २०७५ पुस ५

काठमाडौं । बुधबार सम्पन्न दोस्रो क्वालिफायरमा काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्याडियटर्स दोस्रो पटक एभरेष्ट प्रिमियर लिगको फाइनलमा पुगेको छ ।

ईपिएल पहिलो सिजनको उपविजेता भैरहवाले शनिवार हुने फाइनलमा ललितपुर प्याट्रियट्सको सामना गर्नेछ । ललितपुर यसअघिको क्वालिफायरमा जित निकाल्दै फाइनलमा पुगिसकेको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभर खेल्दा पुरै विकेट गुमाएर १०० मात्र बनायो । जसमा सन्दीप रिजाले सर्वाधिक २७ रनको पारी खेले । २६ बलको सामना गरेका सन्दीपले १ छक्का र १ चौका प्रहार गरे । यस्तै प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न भैरहवाका कुशल मल्लले ३ विकेट लिए । चार ओभरको स्पेलमा उनले २० रन खर्चे । यस्तै मोहम्मद नाभिदले २ तथा शरद भेषावकर र अविनाश बोहराले एक एक विकेट लिए ।

काठमाडौंले दिएको १०१ रनको सामान्य लक्ष्य भैरहवाले ३ ओभर बाँकी छँदै ४ विकेटको नोक्सानीमा भेट्टायो ।  भैरहवाका लागि रायन टेन ड्यासच्याटले ४५ रनको पारी खेल्दै टोलीको जित सुनिश्चित गरेका थिए । ३८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । यस्तै भैरहवाका रविइन्दर सिंहले ३१ रनको पारी खेले ।

खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्सको सामना गर्नेछ । ललितपुर यसअघि नै फाइनलमा पुगिसकेको छ । खेलमा म्यान अफ दि म्यान कुशल मल्ल भए ।