काठमाडौं । कीर्तिपुरको होल्डिंग सेन्टरमा रहेका थापाथलीका सुकुम्बासी डम्बर तामांगलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रेसरका रोगी डम्बर तामांगलाई सिभिलमा गएका प्रहरीलेलाई उपचार गराइदिने भन्दै होल्डिंग सेन्टरबाट गिरफ्तार गरेको उनको परिवार स्रोतले जानकारी दिएको छ । होल्डिंग सेन्टरमै रहेकी उनकी श्रीमती गायत्री श्रेष्ठका अनुसार आइतबार साँझ सिभिलमा गएका प्रहरीले डम्बरलाई सोधी खोजी गरेका थिए । विरामी रहेछौं, उपचार गराइदिन्छौं भनेर उनलाई लिएर गएका थिए । अस्पतालमा होइन, प्रहरी चौकीमा पुर्याएछन् । तामांगलाई हाल सिंहदरवार प्रहरी परिसर अनामनगरमा राखिएको छ । उनलाई किन पक्राउ गरिएको हो भन्ने बारेमा प्रहरीले केही पनि जानकारी दिएको छैन ।

दुई छोरी (सात वर्ष र चार वर्ष) र श्रीमतीसहित होल्डिंग सेन्टरमा बस्दै आएका तामांग सुगर र प्रेसरका पीडित हुन् भने उनको प्रेसरका कारण पटक पटक आँखाको अपरेशन समेत गरिएको थियो । उनकी श्रीमती पनि मुटुको रोगी रहेको परिवार स्रोतले जानकारी दिएको छ ।
कीर्तिपुर होल्डिंग सेन्टरमा भएको सरकारी बेवास्ता र होल्डिंग सेन्टर छाड्न सरकारले दिएको अल्टिमेटमको उनले विरोध गर्दै आएका थिए । विना कारण गिरफ्तार गरिएका तामांगलाई तत्काल रिहाइ गर्न अखिल क्रान्तिकारी सुकुम्बासी संघले जोडदार रुपमा माग गरेको छ ।





























