डम्बरबहादुर तामांगलाई तत्काल रिहाइको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदर्शन

डम्बरबहादुर तामांगलाई तत्काल रिहाइको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदर्शन

काठमाडौँ । कीर्तिपुरको होल्डिंग सेन्टरबाट उपचार गरिदिन्छु भनेर झुक्याएर पक्राउ गरिएका थापाथलीका सुकुम्बासी युवा डम्बरबहादुर तामांगको रिहाइको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सिंहदरबारमा ‘खुकुरी लिएर छिर्ने’ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बरबहादुर तामाङको रिहाइको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँगै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले समेत आन्दोलनको चेतावनी दिएको छ।

सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं जिल्लाको आयोजनामा तामाङकी श्रीमती गायत्री श्रेष्ठको समेत सहभागितामा डम्बरबहादुर तामांगको अविलम्ब रिहाइ गर्दै प्रदर्शन गरिएको थियो । प्रदर्शनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश तामांग, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका नेता तथा संयुक्त राष्टिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरुंगले गिरफ्तार तामांगलाई तत्काल रिहा नगरिए सडक संघर्ष चर्काउने चेतावनी दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन पार्टीका केस झनक श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सुकुम्बासीहरुलाई विना स्थायी विकल्प होल्डिंग सेन्टरबाट नहटाउन, क्षतिपूर्तिसहित उचित वैकल्पिक पुनर्वासको व्यवस्था गर्न, सुकुम्बासीहरुलाई न्याय दे भन्दै नाराबाजी समेत गरिएको थियो ।


कार्यक्रममा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको तर्फबाट तामाङलाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दै जारी गरिएको प्रेस वक्तव्य नेता दलमर्दन कामीले वाचन गरेर सुनाउनु भएको थियो । मोर्चाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका २८ वर्षीय डम्बर तामाङलाई प्रहरीले छलछाम गरेर गैरकानुनी रूपमा पक्राउ गरेको आरोप लगाएको छ।

 

विज्ञप्तिअनुसार असार १४ गते ‘कागजात लिएर आउनुस्, सहयोग गर्छौं भन्दै होल्डिङ सेन्टरबाट बाहिर बोलाएर अनामनगरस्थित सिंहदरबार प्रहरी वृत्तमा थुनामा राखिएको दाबी गरिएको छ। मोर्चाले यसलाई अवैधानिक, अलोकतान्त्रिक र मानवअधिकारविपरीतको कदम भनेको छ।

 

मोर्चाका अनुसार राज्यद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासीको बस्ती हटाइएपछि विस्थापित भएका तामाङ केही समयदेखि अस्वस्थ थिए। उचित उपचार र जीविकोपार्जनको अभावका कारण मानसिक तनावमा रहेका बेला उनले आवेगमा केही अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई आधार बनाएर पक्राउ गर्नु अन्यायपूर्ण भएको मोर्चाको भनाइ छ।

 

मोर्चाले तामाङलाई तत्काल बिनासर्त रिहा गर्न, होल्डिङ सेन्टरमा रहेका बिरामी तथा असहाय नागरिकको निःशुल्क उपचार र जीविकोपार्जनको व्यवस्था गर्न तथा वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य रोक्न सरकारसँग माग गरेको छ।

 

माग सम्बोधन नभए चरणबद्ध र सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि मोर्चाले दिएको छ। उता, प्रहरीले भने तामाङलाई प्रधानमन्त्रीलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।