सोलोडोलो एकता होइन, क्रान्तिकारी ध्रुवीकरण आजको आवश्यकता

सोलोडोलो एकता होइन, क्रान्तिकारी ध्रुवीकरण आजको आवश्यकता

देश र जनताको मुक्तिको आन्दोलन नै कम्युनिस्ट आन्दोलन हो । तर यो आन्दोलन अहिले रक्षात्मक अवस्थामा छ । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा हुनुको कारण आज संसारभरका मेहनतकश, श्रमजीवी जनता तथा गरीब र कमजोर राष्ट्रहरु शोषित, उत्पीडित र अपहेलित छन् । कम्युनिस्ट आन्दोलन कमजोर हुनुका विविध कारणहरु छन् । ती विविध कारणहरुमध्ये एउटा कारण हो– कम्युनिस्ट पार्टी र आन्दोलनमा हुने फुट र विभाजन । फुट र विभाजनका पनि विविध कारण हुन्छन् । दृष्टिकोणमा आउने बिकृतिले दैनिक जीवन, ब्यबहार र विचारमा बिकृति ल्याइदिन्छ ।

दैनिक जीबन, ब्यबहार र विचारमा आएको विकृतिले आन्दोलनमा बिचलनको संकेत देखाउछ । विचलनको त्यही संकेत क्रान्तिकारी आन्दोलनको निम्ति फुट र विभाजनको एउटा कारण बन्छ । श्रमजीवी वर्गमाथिको आफ्नो हैकम जारी राख्नका निम्ति दुनियाँभरका प्रतिक्रियावादीहरु कम्युनिस्ट आन्दोलनको अन्त्य चाहन्छन् । विभिन्न हथ्कण्डाहरु प्रयोग गरेर कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्नका निम्ति प्रतिक्रियावादीहरु निरन्तर खटिरहेका हुन्छन् ।

दमन, जेल, नेल र आमहत्या गरेर कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्नु प्रतिक्रियावादीहरुको धर्म हो । कम्युनिस्ट आन्दोलनमा लागेका कतिपय कायर व्यक्ति समुहले प्रतिक्रियावादी दमनको बेला केवल जीवन रक्षाकै निम्ति गडबडी गर्छन् । पिठ्युँ फर्काएर भाग्छन् । त्यही अस्वभाविक गडबडी र भगौडा प्रवृत्ति नै पार्टी फुट र विभाजनको अर्को कारण बन्छ । पार्टी र आन्दोलनमा हुने प्रतिक्रियावादी घुसपैठ, जसले आन्दोलनका नेता कार्यकर्तालाई खसी, बोका झैँ किनबेच गरिदिन्छ । ती बिकेका बस्तुहरुले पार्टीमा गडबडी गर्छन् । त्यो गडबडी पनि पार्टी फुटको कारण बन्छ । कम्युनिस्ट आन्दोलन दुःख पाएकाहरुको आन्दोलन हो र अन्तिमसम्म दुःख गरेर सुख प्राप्त गर्ने आन्दोलन हो ।

तर आन्दोलनमा आएकाहरु सबै मान्छे दुःखकस्ट झेल्न सक्दैनन् । जसले सक्दैनन्, तिनीहरु भौतिक सुख र ऐशआरामको खोजीमा आन्दोलनबाट पलाएन हुन्छन् । त्यो पलायन पनि पार्टी र आन्दोलनमा फुट र विभाजनको कारण बन्छ । त्यसका साथै बुझाइमा विविधता, निम्नपुँजीवादी अधैर्यता र अकर्मण्यता पनि पार्टी र आन्दोलनमा कहिलेकाहीं फुट, विभाजनको कारण बन्छन् । समाज वर्गीय छ, पार्टीको जन्म यही समाजमा भएको कारण समाजको वर्गीय छायाँ पार्टीमा हुनु अस्वभाविक होइन । साथै, पार्टी भित्रका वर्गीय प्रतिनिधिहरुबीच एकता र संघर्ष चल्नु र कहिलेकाहीं त्यो एकता र संघर्ष फुटमा परिणत हुनु पनि अस्वभाविक होइन । सारमा क्रान्तिकारी पार्टी र आन्दोलनमा हुने फुट र विभाजनको कारण यही हो ।

विभाजन बाध्यता हो र एकीकरण आवश्यकता । निरपेक्ष रुपमा फुट सधै बेठीक र एकता सधै ठीक हुदैन । समय सापेक्ष रुपमा कहिले एकता ठीक फुट बेठीक र कहिले एकता बेठीक फुट ठीक हुन्छ । क्रान्तिकारी सिद्धान्तको रक्षा गर्न र क्रान्तिका कार्यभार पूरागर्नका निम्ति एकता आवश्यक हुन्छ, तर त्यहि कामको निम्ति कहिलेकाहीं विभाजन बाध्यता हुन्छ । एकतामा सबै राम्रा मात्रै आएका हुँदैनन् र फुटमा सबै नराम्रा मात्रै गएका हुदैनन् । कैयौं कारणहरुले एकताको नाममा गलत चिजहरु भित्रिने र फुटको नाममा राम्रा चिजहरु बाहिरिने यथार्थलाई क्रान्तिकारीहरुले नजर अन्दाज गर्नु हुँदैन । एकतापश्चात् शुद्धीकरण र फुटपश्चात् ध्रुवीकरणको कार्यलाई क्रान्तिकारी पार्टीले निरन्तर सञ्चालन गरि रहनुपर्दछ ।

अक्सर पार्टी विभाजन पश्चात् पार्टी एकताका चर्चा चल्ने र पहल हुने गरेको देखिन्छ । नेपालमा पार्टी एकताका विभिन्न भद्दा प्रवृत्तिहरु देखापरेका पनि छन् । यी प्रवृत्तिहरुमध्ये केपी–पीके प्रवृति र बादल प्रवृति मुख्य हुन् । संसदमा कृतिम बहुमत देखाउने र रास्ट्रिय(अन्तरास्ट्रिय मालिकहरुसंग लम्पसार परेर पुरानो सत्ता भोग गर्नका निम्ति गरिने पार्टी एकतासम्बन्धी प्रवृत्ति नै केपी–पिके प्रवृति हो । त्यस्तै क्रान्तिका सारा सपना र योजनालाई आकस्मिक परित्याग गरि केवल भौतिक सुख, सुबिधा ऐस, आराम र विलासी जीवनको खोजीको निम्ति गरिने एकतासम्बन्धी प्रवृति नै बादल प्रवृत्ति हो । वास्तवमा विगत लामो समय देखि केपी–पिके कम्युनिस्ट थिएनन् । बादल पनि कम्युनिस्ट रहेनन् । तसर्थ, उनीहरु उक्त प्रवृत्तिको स्रोत बन्नु कुनै अनौठो होइन । तर यसखालको एकता प्रवृत्ति क्रान्तिकारीहरुको निम्ति लज्जास्पद र घृणासपद एकता प्रवृत्तिहरु हुन् । क्रान्तिकारीहरुले यसलाई खारेज गर्दछन ।

सिद्दान्ततः पार्टी एकता बेठिक होइन, तर त्यो भन्दा ध्रुवीकरण ठिक हो । मार्क्सवादले भन्छ ब्यबहारमा लचकदार बन, सिद्दान्तमा दृढ बन । पार्टी एकतामा सोलोडोलो एकताको कुरा हुन्छन् सिद्दान्तका सौदावाजी हुन्छन् वैचारिक–राजनैतिक लाइनमा लेनदेन हुन्छन । सोलोडोलो एकताको कारण भएका सम्झौता र लेनदेनले क्रान्तिकारी आन्दोलन कुरुप भएका उदाहरण हाम्रा सामु प्रशस्तै छन । ०३५ मा झापा आन्दोलनको क्रान्तिकारी समुह र अन्य केहिका बीच भएको सोलोडोलो पार्टी एकताले झापा आन्दोलनको क्रान्तिकारी ईतिहास, जोस, जाँगर र उत्साहलाई समाप्त पार्यो ।

०४७ मा भएको मार्क्सवादी–माले बीचको एकताले बचे खुचेको तत्कालिन मालेलाई बहुदलीय जनवादमा पुर्यायो । ०४७ मै भएको पूर्व मशालसहितको एकताले झन्डै पुर्व मशाललाई सिध्यायो । एकताकेन्द्रबाट माओवादी जन्मेपश्चात् बल्ल पूर्व मशालको बिरासत बच्यो र महान जनयुद्धको पहल लियो । ०६२ पछिको एकताकेन्द्र–मसाल र माओवादी बीचको सोलोडोलो एकताले नेपालको माओवादी आन्दोलनलाई अपांग बनायो । त्यो अपाङ्ग माओवादी आन्दोलनलाई सपाङ्ग बनाएर अघि बढाउन बौद्ध भेलाले महान आँट गर्यो ।

इतिहासको बस्तुवादी मुल्यांकन अत्यन्तै महत्वपूर्ण कुरा हो । इतिहासको सहि मुल्यांकन गरियो भने बल्ल हामी बर्तमान मा ठीक ठाउँमा उभिन सक्छौ र भविष्यमा ठीक ठाउँमा पुग्न सक्छौ । ००७ लाई लामाजीले क्रान्ति भन्नुहुन्थ्यो अरुले सामान्य राजनैतिक घटना । चौम फुटका बिबिध कारण संगै इतिहासको मुल्यांकन पनि एउटा कारण थियो । यसले स्वत पुस्टि गर्दछ इतिहासको मूल्यांकन कति महत्वपूर्ण छ । जनयुद्धलाई महान जनयुद्ध भन्ने र सहिदको खेति भन्ने बीच सोलोडोलो पार्टी एकतामा कहानिर सम्झौता गरियला ?

जनयुद्धमा बगेको शहिदका रगतलाई महिलाको मासिक प्रक्रियामा बग्ने रगत सरह भन्ने र त्यस्लाई त्याग, बलिदानको उच्च आदर्श मान्ने हरु बीच सोलोडोलो एकतामा कहानिर सम्झौता हुन् सक्ला ? जनयुद्धलाई समय नआउदै सुरुगरिएको र जनता सहभागी नभएको दुस्साहसबादी ठान्ने र ठिक समयमा सुरु गरियको र आम जनता सहभागी भएको मालेमावादी मान्ने हरु बीच सोलोडोलो पार्टी एकतामा कसरि सम्झौता होला ?

राष्ट्रिय–अन्तरास्ट्रिय घटना परिघटनालाई हेर्ने, बुझ्ने दृष्टिकोण के हो भन्ने कुराले हामि कता जादै छौ ? के गर्दैछौ? र भबिस्यमा कहाँ पुग्छौ ? भन्नेकुराको पुस्टि गर्दछ । माओकालीन चिन र वर्तमान चिन बीच आकास–पाताल अन्तर छ । कसैले चीनमा पुजिवाद देख्छ कसैले समाजवाद । वर्तमान चिनमा पुजिवाद देख्नेले माओकालीन चिनलाई समाजवादी देख्छ । कसैले वर्तमान चिनलाई नै समाजवाद देख्छ । चीनमा पुजिवाद देख्नेले चाउ एन लाई, लिउसाओ चि र तेङ्ग आदि बारे माओ को विश्लेषणलाई सोझै ठिक भन्छ । चीनमा समाजवाद देख्नेले माओ बारे चाउ, लिउ र तेङ्ग को विश्लेषण घुमाओरो पाराले ठिक भन्छ । चीनमा पुजिवाद देख्नेले माओकालीन चिनिया समाजवाद नै हाम्रो लक्ष भन्छ ।

चीनमा समाजवाद देख्नेले अहिले कै चिन हाम्रो लक्ष भन्छ । चीनमा पुजिवाद देख्नेले बर्तमान चीनमा देखिने बिदेसी पुंजी लगानी, व्यक्तिगत सम्पति, व्यक्तिगत नाफामुलक ब्यबसाय, पश्चिमा छाडा संस्कृति, भ्रस्टाचार, तस्करी, घुसखोरी, घरेलु कामदार, धनि–गरिव बिचको खाडल, मानसिक र शारीरिक श्रम बिचको खाडल आदि लाई आधार मानेर यो समाजवाद होइन पुजिवाद हो भन्छ ! समाजवाद देख्नेले त्यसलाई समय सुहाउदो समाजवाद भन्छ ।

चीनमा प्रति क्रान्ति भयो पूजीवादको पुनर्स्थापना भयो भन्ने र चीनमा समाजवाद छ भनेर बर्तमान चिनलाई आदर्शको रुपमा हेर्नेहरु बीच सोलोडोलो पार्टी एकतामा कहानेर मेलमिलाप होला ? पार्टी एकता पश्चात पार्टीको लक्ष माओकालीन चिन या अहिलेको चिन ? नेपालमा नया जनवादी क्रान्तिको आवस्यकतावोध गर्ने र त्यो क्रान्तिको पिरियड सक्किसकेको ठान्नेहरुका बीच कसरि लेनदेन होला ? पार्टी जिबन भित्र चल्ने दुईलाईन संघर्ष सम्बन्धी आकास–पातालका झैँ देखिने बुझाईमा कसरी तारतम्य मिल्ला ? सोलोडोलो पार्टी एकतामा यी र यस्ता अरु अनगिन्ती प्रश्नका सहि सम्बोधन कसरी होला ? यी र यस्ता सबै जिज्ञासाहरुलाई उचित सम्बोधन गरेर एकता द्वारा जन्मिने पार्टी कस्तो होला ?

सोलोडोलो पार्टी एकतामा यस्ता प्रश्नका कैयौ पहाडहरु हुन्छन जसलाई पन्छाएर अघि बढ्न गाह्रो हुन्छ । जब त्यहाँ गाह्रो पर्छ, जब त्यहा अप्ठ्यारो आउछ ठिक त्यहि ठाउमा केपी–पिके प्रवृति र बादल प्रवृतिको जन्म हुन्छ । बिचार, सिद्दान्तमा सम्झौता गरेर गरिने एकतामा बिचार समुहहरु जीवित हुन्छन र तिनीहरुको कारण पार्टी एकता दिगो रहन सम्भव पनि हुदैन । सोलोडोलो एकता गरेर बनेको एकताकेन्द्र लामो समय अघि बढ्न सकेन छिट्टै माओवादी र एकताकेन्द्र दुई वटा पार्टी बन्यो । फेरि एकताकेन्द्र र मसाल मिलेर एकताकेन्द्र–मसाल बन्यो त्यो पनि फेरि तुरुन्तै फुटमा परिणत भयो एकताकेन्द्र र मसाल दुई वटा पार्टी बन्यो । त्यसको मुख्यकारण हो फरक फरक विचार, सिद्धान्तहरुका बीच सम्झौता । सम्झौतापश्चात पार्टी एकता त भयो तर फरक फरक बिचार, सिद्धान्त बोकेका समुहहरु जीवित रह्यो जसको कारण पुस्नः फुट भयो ।

जापानी साम्राज्यवाद संगको प्रतिरोध संघर्षमा क्वमिन्तांग सेना र जनमुक्ति सेनाको संयुक्त संघर्षको बारेमा महान माओ भन्नु हुन्थ्योः “यो एकता होईन ! एकताको निम्ति क्वमिन्तांगको केहिकुरा हामीले लिने र हाम्रा केहिकुरा क्वमिन्तांगले लिने हुन्छ । याहा त हाम्रो नेतृत्व,नीति र योजनामा क्वमिन्तांगलाई सहभागी गराइएको छ । त्यसकारण यो त जनमुक्ति सेनाले क्वमिन्तांगका सेनालाई निलेको हो, ठुलो माछाले सानो माछालाई निले झैँ । हो, यहाँ केहि कुरा लिएर, केहि कुरा दिएर गरिने सोलोडोलो एकता होइन, क्रान्तिको निम्ति, क्रान्तिकारी बिचार, सिद्धान्तको निम्ति क्रान्तिकारी ध्रुवीकरण आजको आवस्यकता हो । बिबिध कारणले विभिन्न ठाउमा छरिएर रहेका क्रान्तिकारीहरुलाई एउतै घेरा भित्र गोलबन्द गर्ने उपयुक्त माध्यम नै क्रान्तिकारी ध्रुविकरण हो ।

क्रान्तिकारी ध्रुविकरणमा सम्झौताका कुरा हुदैनन्, लेनदेनका कुरा हुदैनन् । यसमा क्रान्तिकारी शक्ति आर्जनका निम्ति क्रान्तिकारी संगठनले क्रान्तिकारी व्यक्ति, समुहलाई बिना पूर्वाग्रह र बिनासर्त आफूभित्र गोलबन्द गर्ने काम हुन्छ । त्यस्तै क्रान्तिकारी व्यक्ति, समुहहरुले क्रान्तिको निम्ति, सम्पूर्ण उत्पीडित बर्ग, समुदायको मुक्तिको निम्ति आ–आफ्नो सानातिना समुह र पृथक पहिचानलाई परित्याग गरेर निसर्त क्रान्तिकारी संगठनमा, क्रान्तिकारी आन्दोलनमा समाहित हुने काम हुन्छ । माओ कै शब्दमा भन्नु पर्दा ठुलो माछाले सानो माछालाई निल्ने र सानो माछा ठूलो माछाबाट निलिने काम हुन्छ ।

०५२ सालमा महान जनयुद्धको सुरु प्रक्रियामा पार्टी ठुलो थिएन । एकता गरेर होईन बिभाजन गरेर पार्टी जनयुद्धमा गएको थियो । सिमित जिल्लाहरुमा मात्र पार्टीको पकड र उपस्थिति थियो ।’ कार्यदिशा ठिक या बेठिक हुनु ले नै सबै कुराको निर्धारण गर्दछ’ भन्ने माओवादी मान्यता चरितार्थ भयो । बिचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रमको आधारमा पार्टी महान त थियो नै जनयुद्धको सहि कार्य्दिशाले सांगठानिकरुपमा पनि पार्टी महान भयो । ०५२ देखि ०६२ सम्म बिचार, सिद्दान्तको लेनदेन हुनेगरी सोलोडोलो पार्टी एकता कसै संग भएन । क्रान्तिकारी व्यक्ति, समुह र आम जनता मालेमावादी सिद्धान्त र जनयुद्धको कार्यदिशामा ध्रुविकृत हुन आए । सोहिनुसार पार्टीले सबैलाई गोलबन्द गर्यो ।

ठिक त्यसरी नै आम जनसमुदाय र सबै क्रान्तिकारी व्यक्ति समुहलाई मालेमावादी सिद्दान्त र सशस्त्र जनविद्रोहको कार्यदिशामा गोलबन्द गर्नको निम्ति सोलोडोलो पार्टी एकता होइन, क्रान्तिकारी ध्रुविकरण नै आजको आवस्यकता हो ।