अमेरिकी हिंसामा नश्लवाद

अमेरिकी हिंसामा नश्लवाद

काठमाडौं । अमेरिकामा पछिल्लो पटक हुने गरेका र हुँदै आएका हिंसाको प्रवृत्ति बढी नश्लवादी रहँदै आएको अनुसन्धानले देखाएको छ । हिंसामा बढी काला जातिका मानिसहरु तथा आप्रवासी रहँदै आएको तथ्य पनि खुलेको छ । यद्यपि ट्रम्प प्रशासनले यसको दोष आप्रवासीहरुमाथि नै लगाउने गरिरहेको छ । मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने अमेरिकी प्रशासन आप्रवासी र कालाहरुमाथि हुने हिंसाका घटना स्वाभाविक भएको तर गोराहरुलाई केही पनि हुन नहुने जस्तो रहेको देखिन आएको छ ।

साम्प्रदायिक र नश्लीय रुपमा अभिभव्यक्त यी हिंसात्मक घटनाहरु बढी बन्दुकका कारणले भएका पनि अनुसन्धानमा खुल्न आएको छ । घटनामा मृत्युको हुनेहरुको संख्याको रेकर्डमा यस्तो प्रवृत्ति देखा परेको छ । संयुक्तराज्य अमेरिकामा अघिल्लो वर्षको तथ्यांकअनुसार करीब ४० हजार मानिसहरु बन्दुकद्वारा मारिएका छन् । ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’को तथ्यांक अनुसार बन्दुकले हुने मृत्युमा यो केही दशक यताकै सबैभन्दा ठूलो र खतरनाक मृत्यु हो ।

यस्तो खालको विषयमा गहिरो अनुसन्धान ‘एडुकेसनल फण्ड टु स्टप गन भ्वाइलेन्स’ ले पनि गरेको थियो । यी अनुसन्धान अनुसार सन् २०१७ मा ३९,७७३ मानिस बन्दुकबाट मारिएका थिए यो संख्या भनेको सन् १९९९ को भन्दा १० हजार बढी हो । त्यो वर्ष २८, ८७४ मानिस बन्दुकबाट मारिएका तथ्यांकले जनाएको छ । बन्दुकबाट हुने यो मृत्युदर सन् १९९९ मा मात्र प्रति १ लाखमा १०.३ प्रतिशत रहेको थियो भने सन् १९१७ मा थप बढ्न गई १२ प्रतिशतसम्म हुन पुगेको छ ।

मृत्युको यो आँकडामा आत्महत्या गर्नेहरुको पनि संख्या समावेश गरिएको छ । आत्महत्या पनि आफूले आफैलाई गोली हानेर गरिएकोमा गोरा मानिसहरुको र त्यसमा पनि गोरा पुरुषहरुको संख्या बढी रहने गरेको छ ।