काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको संकट धुम्बाराहीको हो कि बालुवाटारको भन्ने विषयमा नेकपाभित्रै निकै अन्यौलता छाएको छ । विगत पाँच महिनादेखि यो सरकारी पार्टीको वैठक अन्यौलतामा रुमलिएको छ । केन्द्रीय समितिको वैठकको कुरा त छाडौं पार्टी स्थायी कमिटीको वैठक पनि खुलेर बस्न सकिरहेको छैन । प्रायःजसो प्रधानमन्त्रीको निवास वालुवाटारमा बस्ने यो पार्टीको शीर्ष नेताहरुको बैठक अहिले बाटो बिराएर धुम्बाराहीमा बस्न थालेको छ ।
केन्द्रकै वैठक नियमित रुपमा बस्ने र आवश्यक निर्णय लिन सक्ने अवस्थामा नरहेपछि प्रदेश र स्थानीय कमिटीका वैठकहरु त ‘श्री पशुपतिनाथको शरणमा पुगिसकेको’ भनी स्थानीय कार्यकर्ताहरुले हँसाउन थालेका छन् । काम भएन र वैठक पनि भएन भनेर कामको गति र बैठकको नियमितता खोज्नेलाई ‘असन्तुष्ट’ को संज्ञा दिइने हुनाले हरेक जम्मेवारीबाट ओली–दाहाललाई पन्छन निकै सजिलो भएको छ ।
बालुवाटारको काम पनि राम्रो भएन, जनतामा विश्वास नै हरायो आदि भनेर धरातलीय यथार्थताको कुरा गर्दा ओली जंगिन थाल्ने र धुम्बाराहीको काम कुराको सेट मिलेन भन्दा दाहाल जंगिन थाल्ने भएपछि सचिवालयका नेताहरु नै अचम्भित हुन पुगेका छन् ।
यसै डाँवाडोलका बीचमा बालुवाटारे सरकारी काम, पार्टी एकीकरण, जनसंगठनहरुको परिचालन, हालसम्मका कामहरुको समीक्षा आदिवारे सचिवालयको वैठक बसी छलफल गरिने भनिए पनि सोको चाजोपाँजो हालसम्म मिल्न सकेको छैन एको छ ।
ओली सरकारले सरकारका कामहरुका बारेमा सूचनाहरु लुकाउने निर्णय गरेपछि देशका जनताहरु अन्धकारमा त छँदै छन्, सरकारी पार्टी र यसको नेताहरु पनि कुहिरोका काग बन्न पुगेका छन् । कुरा त यतिसम्म पनि भएका छन् कि सचिवालयका सदस्यहरु उपस्थित नभएको वैठकले लिएका निर्णयहरु पनि सचिवालयको निर्णय भनेर एकलौटी लाद्ने गरिएको छ । स्थायी कमिटीका नेताहरु महासचिव विष्णु पौडेलको खप्की खाएर बस्नु परेको गुनासो गर्ने गरिरहेका छन् ।
पार्टीमा सिण्डिकेट चलाएर बसेका अध्यक्ष द्वय आलोचना सुन्नुभनदा मिटिङ नै स्थगन गर्न बढी जोड दिने गरेका छन् । यही प्रवृत्तिका कारण बारम्बार बैठक स्थगित हुँदै आएको सबैले सहजै स्वीकार गर्ने गरेका छन् । पार्टीको एकता छेपाराको कथा बन्न पुगेपछि कार्यकर्ता र जनतामा निराशाले घर गर्दै गइरहेको छ । उता सरकारको गाईजात्रे चालले जनतामा प्रतिशोध र बबदलाको भावना जागृत गरेको छ । तर यसका लागि न त कोही जिम्मेवार छ, न त कसैले जवाफदेहिताको महसुस गरेको छ ।