नेकपामा भागबण्डाको खिचडी : ‘सरकारले पार्टी चलाएको आरोप’

नेकपामा भागबण्डाको खिचडी : ‘सरकारले पार्टी चलाएको आरोप’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोे बैठकमा नेता वामदेव गौतमको फरक मतको राजनीतिक प्रतिवेदन आएपछि उक्त पार्टीमा केही वैचारिक बहस चल्ने देखिएको छ । कांग्रेसी महासमितिको वैठकमा गुट तथा लबिङको कुराहरु निकै उठिरहँदा नेकपामा पनि फरक मत देखिएपछि नेपाली राजनीतिको निम्नपुँजीवादी धरातलीय यथार्थता संसदीय पार्टीहरुमा सतहमा देखा परेको छ । यसलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता भए पनि अझै मन अझै मल्ने नसकेको भनी अथ्र्याउन थालेका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबारदेखि सुरु भएको वैठकमा अध्यक्षद्वय ओली र दाहालका साथै अन्य नेताहरुले पनि उक्त भिन्नतालाई स्वीकार गरेका छन् । यो स्वीकारोक्ति वचनमा मात्र नभई उनीहरुले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि उल्लेख गरिएको छ । संघीय निर्वाचनका बखत निर्माण गरिएको वाम गठबन्धनको प्रसंगलाई कोट्याउँदै प्रतिवेदनमा ‘निर्वाचनमा सहकार्य र पार्टी एकताको ऐतिहासिक घोषणासंगै पार्टीमा आम रुपमा वैचारिक स्पष्टता र भावनात्मक निकटता कायम भएको’ तर पनि हालसम्म आउँदा सरकार निर्माणदेखि पार्टी एकताका लागि गरिएका सबै प्रयत्नहरुका बाबजुद ‘भिन्नभिन्न पृष्टभूमि, अलग–अलग स्कुलिङ र छुट्टै कार्यशैलीका कारण अझै पनि केही भिन्नता बाँकी’ रहेको भनिएको छ ।

यसका लागि पूर्व विचार र मत भिन्नताहरुका साथै कार्यशैलीहरु सुधार गरेर भिन्नतालाई मेटाउन र विचार तथा व्यवहारमा सोको अभिव्यक्ति गर्न केही नयाँ प्रयासहरु गरिनु आवश्यक रहेको कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल पनि एक भएको घोषणा गरिएका तर भिन्न बसाइ र पद्धतिमा रहेका पूर्व दुवै पार्टीमा आआफ्ना आर्थिक कारोबारहरु चलाउँदै आएका छन् । पूर्व एमालेकाहरुले कपी ओलीकहाँ र पूर्व माओवादी केन्द्रकाहरुले दाहालकहाँ आफ्ना आर्थिक लेबीहरु बुझाउने र कारोबार गर्ने गरिरहेका छन् । यस अतिरिक्त पछिल्लो पटक पार्टी तथा सरकारको कामकारवाही र कार्यशैलीप्रति विरोध जनाउँदै आएकाहरुका तर्फबाट वामदेव गौतमले लिखित प्रतिवेदनका रुपमा आफ्ना विचारहरु राखेका छन् ।

पार्टी र सरकार व्यवस्थित हुनुपर्ने भन्दै फरक मतका प्रस्तोता गौतमले सरकार सञ्चालन तथा पार्टी सञ्चालनमा दुवै अध्यक्षहरुको विरोध गरेका छन् । यो विरोध विचारभन्दा पनि कार्यशैलीलाई लिएर गरिएको छ । गौतम बढी राजनीतिक नियुक्ति, सरकारी काम र संगठन एकीकरणका कुराहरुमा गहिरिएर गएका छन् । उनले पद्धतिका कुराहरु उठाउँदै गर्दा प्रम ओलीले मन्त्रीहरु नियुक्त गर्दा पार्टीलाई केही पनि नसोध्ने र आफूखुशी गर्ने गरेको बताएका छन् ।

उनले प्रस्तुत गरेको प्रतिवेदनमा सरकार र पार्टी बीचको अन्तरससम्बन्ध केलाउँदै भनिएको छ– ‘दुःखका साथ भन्नु पर्छ पार्टीले सरकार त चलाएकै छैन, सरकारले पार्टी चलाउने कुरै आउँदैन्’ । तर यथार्थमा सरकारले नेकपा चलाइरहेको छ । गौतमले त यतिसम्म पनि भनेका छन् फोरम नेपाललाई सरकारमा सहभागी गराउँदासमेत् प्रम ओलीले पार्टीमा एक वचन पनि सोधेका र छलफल गराएका थिएनन् । गौतमले अन्तर्राष्ट्रिय गैरसरकारी धार्मिक संस्था युनिभर्सल पिस फेडरेशनको कार्यक्रममा सरकार आयोकका रुपमा रही सहभागी भएको र ओलीले सोल्टी होटलमा तीनदिनसम्म डेरा जमाएको कुराको पनि विरोध गरिएको छ । वामदेव गौमको फरक मत विचारमा नभई झिनामसिना कुराहरुमा मात्र छ ।

यस्तो छ सरकारी उपलब्धि !

धुम्बाराही वैठकले सरकारको नौ महिने उपलब्धीको चर्चा गरेको छ । सबैभन्दा पहिलो कुरा त सरकारमा बसेर देश र जनता दोहनका लागि गरिएको सरकारी सहमतिलाई ‘वृहत्तर राजनीतिक समतिको संज्ञा दिइएको छ । यसबीचमा नेपालको सीमा अतिक्रमण र नेपालको भूमि भारतले हडपेर १० हजार वर्ग किलोमिटर मिचेकोलाई मुलुकको बाह्य सम्बन्ध सुधारका रुपमा व्याख्या गरिएको छ । भारतीय तथा चिनियाँ रेलका कुरा गरेर देशको अर्थतन्त्र सुदृढीकरणको दिशामा अघि बढेको बताइएको छ । हालसम्म प्रदेश तथा स्थानीय सरकारमा कर्मचारी समायोजन पनि गर्न नसकेको कुरालाई लाजै नमानी सार्वजनिक प्रशासनको उचित व्यवस्थापन गरिएको भनिएको छ ।

तीनै तहका सरकारहरुको सञ्चालन, कानुन निर्माणका कुराहरुलाई एकातिर पन्छाएर संविधान कार्यान्वयन गरिएको भन्दै उपलब्धिका रुपमा व्याख्या गरिएको छ । यसै गरी याातायात सिण्डिकेटमा सरकार र सरकारका मानिसहरु छिराएर लामो समयदेखि यातायात क्षेत्रमा विद्यमान सिण्डिकेटको अन्त्य गरिएको भनिएको छ । सुन तस्करीमा सरकारको नांगो संलग्नातालाई तस्करीको जालोमाथि प्रहार गरिएको दाबी गरिएको छ । यसका साथै सरकारले यति राम्रा कामहरु गर्दै गइरहेका बेला आफ्नो स्वास्र्थ वैधानिक, कानुनी रुपमा प्राप्त हुन नसक्ने शक्ति कुनै न कुनै हिसाबले सक्रिय भई अस्थिरता सृजना गर्ने, सामाजिक सदभाव खल्बल्याउने, सामुदायिक बिद्वेष फैलाउने, सरकार विरुद्ध भ्रामक प्रचार गर्ने र जनताका गुनासालाई असन्तुष्टिमा र असन्तुष्टिलाई अशान्तिमा रुपान्तरित गर्न योजनावद्ध ढङ्गले लागिरहेको भनी गुनासो पनि पोखिएको छ ।