काठमाडौं । वर्तमान संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमितिको वैठक शनिबारदेखि सुरु भएको छ । महासमितिका लागि तयार पारिएका विधान मस्यौदा, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठानिक प्रतिवेदन महासमितिमा पेश भएका छन् । ती सबै यस अघि केन्द्रीय समितिमा प्रस्तुत भएर छलफल भई आएका थिए ।
आश्चर्यको कुरा त के छ भने प्रस्तुत गरिएका चारबवटा प्रतिवेदनमध्ये आर्थिक प्रतिवेदन मात्र केन्द्रीय समितिबाट पारित भएको हो । बाँकी प्रतिवेदनहरु महासमितिको थाप्लोमा छाडिएका थिए । वैठकमा सर्वसम्मत हुन नसकेपछि यी कामहरुमा महासमितिले टुंग्याउने भनी सहमति भएको थियो । महासमिति चलिरहेका बखतमा पनि कांग्रेसी नेताहरु भने यसमा सर्वसम्मत जुटाउन कसरत गरिरहेको स्रोतले बताएको छ ।
यी आन्तरिक कुराहरु बाहेक कांग्रेस महासमितिमा चर्को बनेर आएको विषय छ–स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा कम्युनिस्ट गठबन्धनले हासिल गरेको दुईतिहाइ बहुमतको सवाल । हालको नेकपाले तात्कालिन एमाले र माओवादी केन्द्रका बीचमा गठबन्धन निर्माण गरी बहुमत ल्याइएपछि यो कांग्रेसीजनहरुका लागि टाउको दुखाइको विषय बन्दै आएको छ । त्यसपछि अचानक खुम्चिन बाध्य भएको नेपाली कांग्रेस निकै कमजोर र भूमिकाबिहीन बन्दै आएको छ ।
अर्कोतिर पार्टी नेतृत्वमा विवादैविवाद र गुटउपगुटको माखे सांगलोमा बेह्रिएको कांग्रेस गाउँदेखि केन्द्रसम्म शिथिल प्राय बनेको छ । यस्तो अवस्थामा महासमितिले सङ्घीयताअनुसारको उपयुक्त विधान अनुमोदनसँगै भावी कार्यदिशा तय गर्ने जिम्मा पाएको छ । यदि यसो हुन गयो भने नेपाली काँग्रेस अपेक्षा गरेअनुसार सुधारउन्मुख हुने विश्लेषकहरुको दाबी रहेको छ ।
सभापति शेरबहादुर देउवाको संस्थापन गुट, नेता रामचन्द्र पौडेलको अर्को गुट र महामन्त्री सशांक कोइरालाको अर्को गुट निकै क्रियाशील रहेका छन् । यसले गर्दा पनि महासमिति वैठक निकै परसम्म तानिने देखिएको छ । महासमितिको वैठकमा कांग्रेसी प्रजातान्त्रिकरणका कुराहरु पनि उठेका छन् । यो कुरा बढी सैद्धान्तिक भएकाले प्राविधिक र भागबण्डाकै कुराहरुले स्थान पाउने ददेखिएको छ ।
कांग्रेसी महासमितिमा उठेको अर्को प्रश्न भनेको माओवादी केन्द्रसँगको सहकार्य पनि हो । कांग्रेसीहरु यसलाई कम्युनिस्टहरूसँग सहकार्य भन्ने गरेका छन् । पुष्पकमल दाहालको वाक्छलमा परेका कांग्रेसीहरु दाहालको छोरी रेणुको मत मागेर सिद्धिएको अधिकांशको ठम्याइ रहेको छ । तर सभापति शेरबहादुर देउवा भने यो स्वीकार गर्न तयार छैनन् । महासमितिमा देउवा बरु कांग्रेसको आन्तरिक कलह र अन्तरघातका कारण हारेको निष्कर्षमा पुगेका छन् ।
महासमितिमा पुस्ताका कुरा पनि उठेको र उठाइएको छ । तथापि युवा पुस्ता भन्नेहरुले पनि कांग्रेसी समाजवादको कुनै पनि उच्चारणसम्म गरेका छैनन् । त्यसैले महासमितिमा भेला भएकाहरुका लागि यो वैठक गुटका भेला र तिनले काठमाडौंमा दिएको भोज जस्तो हुन पुगेको छ ।
कांग्रेसी महासमितिको वैठकमा हिन्दु राष्ट्रका बारेमा पनि निकै चर्चा गरिएको छ । यतिसम्म कि हस्ताक्षर पनि संकलन गरिएको बताइएको छ । हस्ताक्षर नेताहरुले पनि गरिरहेका भन्ने कुराहरु सार्वजनिक भएको छ । यद्यपि कांग्रेसले घोषित रुपमा हिन्दू धर्म र हिन्दु राष्ट्रको वकालत भने गरेको छैन ।
कांग्रेसमा देखिएको यो गुटगत कसरत अन्त्यमा गएर गुटको व्यवस्थापनसहित टुंगो लाग्ने देखिन्छ ।