एजेन्सी । विश्वकै पहिलो हाइड्रोजन ट्रेनको परिक्षण हालै जर्मनीले गरेको छ । ‘कोराडियो आइलिन्ट’ नाम दिइएको उक्त ट्रेन जिरो एमिसन प्याटर्नमा आधारित छ । यो ट्रेनले कार्बनडाइअक्साइडयुक्त धुवा नफाल्ने हुन्छ ।
यो ट्रेनमार्फत कार्बनडाइअक्साइडको सट्टा हाइड्रोजनयुक्त वाफ निक्लिन्छ । त्यसका लागि ट्रेनमा हाइड्रोजन फ्युल सेल जडान गरिएको छ । जसले केमिकल रियाक्सनमार्फत विद्युत् उत्पादन गर्नेछ । यसबाट उत्पादन भएको बिजुली लिथिएम आयन ब्याट्री चार्ज गर्न सकिनेछ । जसको मद्दतले ट्रेन चल्ने उल्लेख छ ।
ध्वनी प्रदुषणसमेत कम गर्ने यो ट्रेनको गति र यात्रु क्षमता डिजल ट्रेनको जस्तै छ । यसको उच्च गति एक सय ४० किलोमिटर प्रतिघण्टा रहेको निर्माताले जनाएको छ । ध्वनी प्रदुषण कम गर्ने तथा गति र यात्रु क्षमताका हिसाबले डिजेल ट्रेनजस्तै भए पनि सञ्चालन खर्चका हिसाबले भने यो महँगो पर्न जाने उल्लेख छ । यो ट्रेनमा प्रयोग भएको एक ट्यांकी हाइड्रोजनले हजार किलोमिटर पार गर्न मद्दत गर्ने जनाइएको छ । यो ट्रेनलाई प्रदुषणमुक्त ट्रेनको विकल्पको रूपमा हेरिएको छ ।





























