झर्रोटर्रो : नयाँ जुग

प्रकाशित मिति : २०७५ मंसिर १७

- कैलुब्राह

यतिखेर नेपाल मण्डलमा नयाँ जुगको सुभारम्भ भएको छ । अर्थात् पुरानो जुग सकिएको छ । अब एक्काइसौँ सताब्दी सकिएर बाइसौँ सताब्दीको सुरुआत भयो । अर्थात् पञ्चाङ्ग पात्रो अनुसार कलेर्गताब्दा यानेकि कलिजुग सकियो । दलिजुग यानेकि दलालजुगको आरम्भ भयो । यसलाई पञ्चाङ्गको भाषामा देलेर्गताब्दा भन्नु पर्ने हुन्छ । यो कुराको घोषणा नेपाल सरकारका पर्धानमन्तरी मिस्टर उखानप्रसादले तामझामका साथ गरेका छन् । अब नेपाल मण्डलमा पुरानो जुगको समाप्ती भएकाले त्यसको कुनै गुन्जाइस छैन । जुग बदलिएकाले यहाँका मनुखे पनि स्वतः बदिलिने कुरो भैगयो । अब कसैले पनि आफूलाई पुरानो छु भन्ने छैन । भन्न पाइने पनि छैन । सबै मनुखेजति नयाँ भए, सबै नयाँ भएकाजति मनुखे भए । नयाँ जुगका नयाँ मनुखे ।

नयाँ जुगको सुरुआत विजुलीका पोल पोलबाट सुरु भएको छ । यसलाई पोल जुग भने पनि हुन्छ । नेपाल मण्डलका पर्धानमन्तरीले करोडौँ खर्च गरेर, उर्फ खर्च गर्न लगाएर राजधानीका पोल पोलमा आफ्नो फुटा टाँस्न लगाए । अब पर्धानमन्तरीलाई पोल पोलमा देख्न पाइने भयो । यो त नयाँ जुगको विकासे काइदा पनि हो । यो शान्ती र समृद्धीको ढाँचा अर्थात् नमुना हो । अब यी पोलहरूमा कुनै पनि रैती मनुखेले आफ्ना फुटा टाँस्ने वा झुण्डाउने गर्न पाइने छैन । कुनै मरे मारिएका ठिटा ठिटीको फुटा टाँस्न झुण्डाउन त झनै पाइने छैन । पर्धानमन्तरीसँग जोरतोर भएर समान हैसियत देखाएको ठहरिने छ । अझ मरे मारिएका मनुखेको टाँस्दा त पर्धानमन्तरीलाई पनि मरेकोसँग तुलना हुने भएकाले त्यसो गर्न त अपराधै हुने छ । अटेरी गरेर कसैले भुण्डाएमा उसलाई यमराजका दैत्यहरू आएर तत्क्षण घोक्¥याउँदै लगेर भ्mयालखानामा झुण्डाउने छन् ।

जुगको वर्णन पनि भिन्ना भिन्नै प्रकारको छ । धर्मकर्मको भाषामा सत्य जुग, त्रेता जुग, द्वापर जुग र कलि जुग । मनुखे जगतको आधुनिक भाषामा कविला जुग, सामन्ती जुग, पुँजीवादी जुग र साम्राज्यवादी जुग भनियो । यो पछिल्लो जुगलाई विज्ञान प्रविधिको भाषामा एक्काइसौँ शताब्दीको जुग पनि भन्दछन् । अब नेपाल मण्डलमा सरकारले जुगको नयाँ परिभाषा गरेको छ । त्यो हो दलाल जुग । दलाल जुगमा सबै कामकुरा दलाल मार्फत् गरिन्छ । जताततै दलालै दलाल फिट गरिन्छ । गाउँ वस्तीमा दलाल, सहर गल्लीमा दलाल । जल, जमिन, जंगलमा दलालै दलाल । मठ मन्दिरमा दलाल, स्कुल कलेजमा दलाल । बाटोघाटो र चौतारीमा दलालै दलाल छ । अड्डा अदालतमा दलाल, शासन प्रशासनमा दलाल । पार्टीमा दलाल, सरकारमा झन् महा दलाल छ । यसरी जताततै दलालै दला भएकाले यो दलाल जुग हो ।

जग्गा किनबेचमा दलाल, घरघडेरी किनवेचमा दलाल । उद्योगमा दलाल, कृषि उत्पादन र बेचबिखनमा दलाल । अस्पतालहरूका मालिक दलाल, स्कुल कलेज खोल्ने दलाल । तरकारी फलपूmलका मण्डीहरूमा दलाल, सामान ओसारपसरमा दलाल । उत्पादनमा दलाल, बिक्रीमा दलाल । मालपोत, अदालत, प्रशासन, ठानाचौकी, भन्सार, कर, यातायात, विद्युत, टेलिफोन आदि इत्यादि सरकारी अड्डाहरूमा जताततै दलालै दलाल । नगरपलिका, गाउँपालिका, वडादेखी प्रदेश र देशका सरकारका मन्त्रालय मन्त्रालयहरूमा दलाल । असारे विकासमा दलाल । बाटाघाटा बनाउने दलाल, पुलपुलेसा बनाउने दलाल । खोलानदी बेच्ने दलाल, किन्ने दलाल । बजेट बनाउने दलाल, बजेट खर्च गर्ने दलाल । यसरी दलालहरू उत्पाद गर्ने कारखाना बनेको छ नेपाल मण्डल । सरकारवादी र सरकारको वरिपरि फन्का मारेर ढुकेर बसेका पाटीहरूमा दलालै दलाल । नेता दलाल, मान्य, मन्तरीदेखि पर्धानमन्तरी सबै दलाल । यसरी चारै दिशा चारै कुना, आकाश पाताल सबैतिर दलाल भएकाले यो जुग दलाल जुग रहन गएको हो । अहिलेसम्म वितेका जुगहरूमा यो दलाल जुग त नयाँ हो । त्यसैले नेपाल मण्डलका पर्धानमन्तरीले यो जुग आरम्भ भएको कुरा सगौरव घोषणा किन नगर्ने ? घोषणा गरे । दलाल जुगको घोषणा गर्ने माहामानव उर्फ महादलालको फुटा पोलपोलमा टाँसेर जुगजुगसम्म स्थापित त गर्नै परो । जसरी कुनै कुराको आविष्कार गर्ने वैज्ञानिक, दार्शनिक, विचारक, ऋषिमुनीहरूको नाउँ स्थापित भएको छ त्यसैगरी यत्रो जुगको घोषणा गर्नेलाई पनि स्थापित गर्नै परो । त्यसैले हाम्रा पर्धानमन्तरीको फुटा पोल पोलमा टाँस्नु सोह«ैआना मुनासिव कुरो हो ।

तलदेखि माथिसम्म दलालै दलाल भएकाले चुनाउमा पनि दलालले नै टिकेस पाउने हो । किनकि दलालसित पैसाको छेलोखेलो हुन्छ । यो दलाल जुगमा चुनाउ पनि पैसा हुनेले मात्रै जित्छ । ‘सोझा र सज्जन कवै नलिनु दलैमा, पार्टी चलाउनु सँधै छल औ बलैमा’, भनेर त अलवर भै¥याले उहिल्यै जयभुँडी लेख्दा भनेका हुन् । दलालले चुनाउ जितेपछि त मान्य, मन्तरी सबै दलाल हुने भैगयो । दलालहरूको महादलाल मात्रै पर्धानमन्तरी चुनिने कुरा भयो । यिनलाई सञ्चालन गर्न छिमेक हुँदै सातसमुन्द्र पारिबाट दलालहरू खटिखटाइएका छन् । तिनले एनजिओ आइएनजिओ खोलेर ढडिया थापेर बसेका छन् । यसरी दलाल युगमा फड्को मारेको हुनाले त्यसको विधिवत घोषणा भएको हो । हुन त यो दलाल युग नेपाल मण्डलमा अलि पहिलादेखि नै सुरुआत भएको थियो । तर, अहिले त्यो निकै विकसित, समृद्ध र क्रम भङ्ग गर्दै गुणात्मक छलाङ हानेको हुनाले पर्धानमन्तरीले सगौरव घोषणा गरेका हुन् । दलाल जुगको जय हो, दलाल जुगको जय हो । महादलालको जय हो ।
१६ मङ्सिर २०७५