जर्जियाले पायाे पहिलो महिला राष्ट्रपति

प्रकाशित मिति : २०७५ मंसिर १३

एजेन्सी । जर्जियामा भएको राष्ट्रपति निर्वाचनमा सालोेम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार दिएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।

एएफपीले जानकारी दिए अनुसार करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्व कुटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गरेकी हुन् ।

राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । परिणाम आफ्नो अनुकुल नभएपछि विपक्षी दलहरुले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् ।

एघार विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गरेका छन् । हाल निर्वासनमा रहेका पूर्व राष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो ।

यस निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणका रुपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ ।

साथै सन् २०२० मा हुने संसदीय निर्वाचनलाई समेत यस पटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्नेछ । उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैवटा विपक्षी दलहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

जर्जियन ड्रिम पार्टीले जुराबिशभिलीलाई राष्ट्रपतिका लागि समर्थन गरेको छ । जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो ।

नवनिर्वाचित ६६ वर्षीया जुराबिशभिली रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ सरेका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् ।

उनी जर्जियाको स्वतन्त्र सांसद पनि भएका थिए । पूर्व राष्ट्रपति साकाशभिलीले उनलाई विदेशमन्त्रीमा समेत नियुक्त गरेका थिए ।