पोखरीमा डुबेर एक बालकको मृत्यु

पोखरीमा डुबेर एक बालकको मृत्यु

सांकेतिक फाेटाे

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा एक बालकको मंगलबार बेलुका पोखरीमा डुबेर मृत्यु भएको छ । त्रियुगा नपा–२ मिलनचौकका केदार पाण्डेका ३ वर्षीय छोरा रोशन पाण्डेको स्थानीय चन्द्रबहादुर मगरले माछापालनका लागि बनाएको पोखरीमा डुबेर ज्यान गएको हो ।

 

बिहानदेखि वेपत्ता भएका बालकलाई आफन्तले साँझ पोखरीमा डुबिरहेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

सामान्य श्वासप्रश्वास चलिरहेको अवस्थामा फेला परेका बालकलाई प्रहरी चौकी जोगिदहको सहयोगमा स्थानीयले उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको डीएसपी भाटले बताए ।

यता मृतकका आफन्तले भने शव पोष्टमार्टम गर्न मानेका छैनन् । मापदण्ड विपरित घेराबेरा नलगाई पोखरी सञ्चालनमा ल्याएकाले सञ्चालकलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने बालकका आफन्त बोधिका पाण्डेले बताइन् ।