एजेन्सी । मंगलबार राती अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणका ५० जनाको मृत्यु भएको छ । एक ठाउँमा भेला भएका इस्लाम विद्वानहरूलाई लक्षित गरी उक्त आक्रमण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहले उक्त आक्रमणमा परी ८३ जना घाइते भएको र तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।
काबुल प्रहरीका अनुसार आक्रमणबाट पीडित व्यक्तिहरू सबै धार्मिक विद्वान् थिए । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका उनीहरूमाथि आक्रमण भएको थियो । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले उक्त आक्रमणको भत्र्सना गरेका छन् । उक्त आक्रमण इस्लामी मूल्य र पैगम्बरका अनुयायीमाथिको आक्रमण भएको उनले बताएका छन् ।
विस्फोट गराइएका बेला त्यहाँ करिब एक हजार मानिस भेला भएका थिए । अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स (आईएस) लडाकु समूहले नियमितजसो बम हमला गर्दै आएका छन् । यसअघि गत नोभेम्बर १२ का दिन प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको थियो । अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतंककारी आक्रमणमा कुनै कमी आएको छैन ।