एजेन्सी । प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल)ले प्रमुखमा दक्षिण कोरियाका किम जोङ याङलाई चयन गरेको छ । यसअघि उनले इन्टरपोलका कार्यवाहक अध्यक्ष भएर काम गरेका थिए । किमका विरुद्ध रूसी अधिकारी अलेक्जेन्डर प्रोकोप्चुकले अध्यक्ष पदमा दाबी गरेका थिए। प्रोकोप्चुक यसअघि इन्टरपोलका उपप्रमुख थिए ।
अमेरिका समर्थित किमका विरुद्ध रूसको उम्मेदवारी परेपछि पश्चिमा शक्तिले चिन्ता व्यक्त गरेका थिए । रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई अस्वीकार गर्न अभियान चलाएका थिए । यसअघि चिनियाँ नागरिक मङ होङवई इन्टरपोलका अध्यक्ष थिए । उनलाई गत सेप्टेम्बरमा भ्रष्टाचार आरोपमा चीनले पक्राउ गरेको थियो ।
त्यसपछि किमले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए । अध्यक्ष चयनका लागि विश्वका नेताहरू सोमवार दुबई पुगेका थिए । मंगलवार अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले किमको समर्थन गरेपछि रूस पछि हटेको थियो । उनको कार्यकाल सन् २०२० मा पूरा हुनेछ ।