वर्ग संघर्ष इतिहासको चालक शक्ति

वर्ग संघर्ष इतिहासको चालक शक्ति

हामी सबैलाई थाह भएको कुरा हो कि संसारका रहेक वस्तुहरुको अस्तित्व विपरीत तत्वहरुको एकता र संघर्षमा टिकेको छ । ती वस्तुहरु जतिसुकै ठूला अजंगका वस्तु हुन् वा अणुका ससाना टुक्राहरु पनि, ती विपरीतहरुको एकत्व हुन् । विज्ञानका अनगिन्ती शाखामध्ये सबैभन्दा जटिल विज्ञान भनेको समाज विज्ञान हो । अरु विज्ञानका ट्याक्क जवाफ वा प्रतिफल आउँछन् । सबै मानिसले सजिलै स्वीकार गर्छन् । तर्कको आधारमा प्रमाणित भएपनि मानिसले खण्डन गर्न अघि सर्छन् ।

त्यसै भएर महान् लेनिनले मार्क्सवाद र संशोधनवाद लेखको पहिलो लाइनमै “यदि मानिसको जीवनमा प्रभाव पार्ने भए रेखा गणितको स्वयम्सिद्ध तथ्यको पनि मानिसले खण्डन गर्न तम्सिन्थ्यो” भन्नुभएको छ । समाज विज्ञानको अकाट्य नियम, वर्गसंघर्ष, बल प्रयोगद्वारा वर्गीय शासनको परिवर्तन, सर्वहारा वर्गको अधिनायकत्व, निरन्तर क्रान्ति जस्ता विषय मानिसको इच्छाभन्दा बाहिर स्वतन्त्र वस्तुगत रुपमा नियमबद्ध हुन्छन् । वर्गको उत्पत्ति भएदेखि वर्गसंघर्ष चलिरहेको छ र एक वर्गले अर्को वर्गमाथि अधिनायकत्व लगाउँदै आइरहेको छ । मार्क्सले वर्गसंघर्षको आविष्कार आफूले गरेको नभई इतिहासको भौतिकवादी अध्ययन, वर्गको उत्पत्ति भएदेखि गरिएका वर्गसंघर्षको व्यवस्थित रुपमा मैले उजागार गरेका” भनेर उल्लेख गर्नुभएको छ । त्यसकै जगमा टेकेर लेनिनले जसले वर्ग संघर्ष मात्र मान्दछ, ऊ कम्युनिस्ट हुन सक्तैन र जसले वर्ग संघर्षलाई सर्वहारा अधिनायकत्वसम्म पुर्याउँदैन, ऊ कम्युनिस्ट हुनै सक्तैन” भन्नुभएको छ ।

आज कम्युनिस्टका नाममा विभिन्न कम्युनिस्टहरु जन्मिएका छन् । पूर्व, पश्चिम, उत्तर दक्षिण नामधारी यस्ता कम्युनिस्टहरुले उत्तर आधुनिकता नाममा विषयलाई टुक्राउने, अखण्ड, विश्व व्रह्माण्डलाई अन्धाले हात्ती छामे जसरी वस्तुलाई टुक्राटुक्रा पारेर संग्लो वस्तु चिन्न बुझ्न र देख्न नसक्ने असफल प्रयत्न गर्ने गरेको छन् । पञ्चायती व्यवस्थाले “वर्ग–समन्वयको माध्यमद्वारा शोषणरहित समाजको श्रृजना गर्ने, सिद्धान्तलाई अपनाउने र आफूलाई खाँटी कम्युनिस्ट बताउने बग्रेल्ती कम्युनिस्ट नेता नेपाली धर्तीमा जन्मिएका छन् ।

आज पुँजीपतिले समेत स्वीकार गरिसकेको वर्ग संघर्षलाई मान्न अस्वीकार गर्ने मानिसले आफूलाई कम्युनिस्ट भनेको सुन्दा उदेक लागेर आउँछ । दलाल, नोकशाह र सामन्त वर्ग मिलेर बनेको प्रतिक्रियावादी राज्य सत्ता नभत्काइकन, नयाँ जनवादी क्रान्ति सम्पन्न नगरी वैज्ञानिक समाजवादी क्रान्ति गर्ने युटोपिया सपना देखाएर मासिनहरुलाई भुलभुलैयामा फसाएको देख्दा सिद्धान्त नामको कुन चरो हो थाह नहुने अवस्थामा पुग्न थालिएको छ । समय बदलिएको छ, हिजोको जस्तो समाज आज छैन । त्यसैले हिजोको मार्क्सवाद आज काम छैन, नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउनु पर्छ ।

आजको मार्क्सवाद भनेको, मिलेराँवाद, त्रातस्कीतिर ढल्किएको मार्क्सवाद हो भन्दै, कम्युनिस्ट पार्टी र झण्डा नै हटाउने स्वनामधन्य ‘विद्वान’ मार्क्सवादीहरु पनि हाम्रै पालामा देख्न पाइयो । अझ अगाडि बढेर वर्ग–संघर्षबाट बच्न त सकिदैन, तर वर्ग संघर्षलाई कम गर्न पर धकेल्न र ‘आफू मरेपछि जो सुकै राजा (शासक)’ भनेझैं दोस्रो विश्व युद्धपछि पुँजीपतिहरुले जनताका दैनिक आवश्यकता वस्तुहरु पीठो, चामल, दाल, तेल, नुन जस्ता उत्पादनका उद्योग र व्यापारमा ५१ प्रतिशतभन्दा बढी शेयर लगानी गर्ने र खुल्ला बजार अर्थतन्त्रको मान्यताविपरीत बजारलाई नियमन र नियन्त्रण गरेर फैलदो समाजवादी क्रान्तिलाई नियन्त्रण गरेझैं, कथित ‘वाम’ र मधेशी समाजवादी फोरम मिलेर बनेको दुईतिहाईको सरकारले कांग्रेसले सुरुआत गरेको युवा बेच्ने अभियानलाई निरन्तरता मात्र होइन, गुणात्मकता दिएको छ । यसले दुईवटा कुरा एकैचोटी फाइदा गरेको छ । प्रथम यसले तीव्र वर्ग संघर्ष विहान खाए बेलुका के खाउँ र बेलुका खाए विहान के खाउँ भन्ने भोकको डरलाग्दो विद्रोहलाई अलि शान्त पारेको छ । विदेशबाट आयातित पैसाले आयात गरिएकै भए पनि खाद्यान्नले पेट भरेको छ ।

द्वितीय यसले सरकारका अन्याय–अत्याचार, हत्या हिंसाको विरोधमा सडकमा उत्रने युवा तागतलाई संसारका १७० देशमा छरेर संगठित आवाजलाई कमजोर पारेर आफ्नो आयु बिढाउने काम गरेको छ । यसको डरलाग्दो परिणाम त भविष्यमा देखिने छ । राज्य संचालित उद्योगधन्दा कलकारखाना बचेर दलाल पुँजीवादलाई प्रश्रय दिने पूर्व अर्थमन्त्री रामशरण महतलाई साम्राज्यवादले तक्मा दिँदा नेपाली जनताले हराइ दिए भने हरेक निर्वाचन क्षेत्रबाट २०० जना युवालाई विदेशमा बेच्ने घोषणापत्र निकाल्ने कांगे्रसलाई यो हालतमा नेपाली जनताले पुर्याइदिए । वर्ग सघंर्षबाट छल्न तत्काल गरेको यो पिशाबको न्यानो, न्यानो सकिसकेपछि के हालत हुन्छ ? यो दुईतिहाईको सरकार त्यही हालतमा पुग्नेछ । नेपाललाई, अमेरिका, सिंगापुर, मलेसिया, स्वीटजरल्याण्ड बनाइदिन्छु भन्ने धेरै आए । त्योभन्दा सजिलो त भारत या चीन बनाइदिन्छु भन्दा हुने थियो । त्यसो भन्नासाथ नेपाली जनताले मारिहाल्छन् र पो ।

के आफूलाई कम्युनिस्ट भन्ने, वामपन्थी भन्ने सरकारले पुँजीवादी देशजस्तो बनाउने भन्ने हो । स्थायित्व, समृद्धि र विकास भन्ने नाराभित्र हिङ त परै जाओस् हिङ बाँधेको टालोको गन्ध जति कम्युनिस्ट गन्ध आउँछ । के एउटा कम्युनिस्टले, वामपन्थीले, समानताको ‘स’ उच्चारण गर्नु पर्दैन । यस्ताले समाजवादी क्रान्ति गर्छु भन्नु त धिक्कार छ । समाजवाद, कम्युनिस्ट, वामपन्थी काम त परै जाओस पुँजीवादी, इजरायल, स्केण्डिभियाली देशहरुले गरे जति जमीनको निजी स्वामित्व अन्त्य गरेर राज्यको स्वामित्वमा मिलेर खेती गर्नेलाई लिजमा दिने काम गरेमात्र पनि ठूलो कुरा हुन्थ्यो । तर यो प्रतिक्रियावादी सरकारले “यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था हो” भनेर संविधान बनाउने र सही धस्काउनेबाट स्याउको बोटबाट सुन्तलाको आश गर्नु जस्तै हो ।

नेपालमा विकास र स्थायित्व नभएको संसदमा बहुमत नभएर होइन । २०१५ सालको दुईतिहाई, ०४८ र ०५६ को कांगे्रसको बहुमत आउँदा आउँदै पनि ००७ सालदेखि अहिलेसम्म कुनै सरकार ५ वर्ष टिकेका छैनन् । यो सरकारको विरुद्ध भित्रभित्रै ज्वारभाटा जम्मा भइरहेको यही सरकार र यसका मन्त्रीहरुले अनुभूत गरेका छन् । पूववर्ती सरकारले भन्दा कुनै पनि अर्थमा यो सरकारले फरक काम गर्न सकेको छैन । २४ घण्टामा पुरिसक्नु पर्ने खाल्टो पुर्न त १ वर्षदेखि सकिरहेको छैन भने अरु के आश गर्ने ! यदि जनताको विश्वास हुन्थ्यो पर्याप्त आत्मगत शक्ति क्रान्तिकारी पार्टीमा हुन्थ्यो भने यो सरकारको विरुद्ध वर्ग–संघर्षको आँधीबेहरी आइसक्थ्यो । तर पनि ऐलेको सन्नाटा, आँधीबेहरी आउनुभन्दा अगाडिकै सन्नाटा हो ।

वर्ग संघर्षलाई तीव्रता दिन र त्यस्को नेतृत्व गर्न हाम्रो पार्टी (क्रान्तिकारी माओवादी) ले प्रयत्न गर्दै आएको छ । यसले तीनवटा कार्यभारलाई सँगसगै अगाडि बढाउनु पर्दछ । प्रथम, वर्तमान संसदीय व्यवस्था र संचालक पार्टीहरुबाट यो समस्याको हल संभव छैन । नेपालमा संसदीय व्यवस्थाको र दलाल, नोकरशाही पुँजीपति र सामन्त वर्गको असली प्रतिनिधि नेपाली कांग्रेस हो । उसले समस्या समाधान गर्न सक्तैन भन्ने कुरा घटनाक्रमले पुष्टि भइसकेको छ । कार्यगत एकता गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर संघर्षमार्फत् जनताका माग पूरा गराएर विश्वास बढाउँदै रणनीतिक लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नु पर्छ । आजको वर्ग संघर्ष संचालन गर्ने मुख्य चुरो कुरा हो ।

 

‘संसदीय व्यवस्थाको भ्रममा नपरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं’ भन्ने मूल नारा अन्तरगत आधा नेपाली जनतालाई नेकपा (माओवादी) को झण्डामुनी ल्याएर २४० सिटमध्ये १२० सिट जितेर नयाँ जनवादी (जन–गणतन्त्रात्मक) संविधान बनाउने नभए विद्रोह मार्फत् काम सम्पन्न गर्ने निर्णय लिइएको सन्दर्भमा मुख्य नेतृत्वले धोका र गद्दारी गरेर संसदीय व्यवस्थाविरोधी बनिसकेको जनमत संविधानमार्फत् संसदीय व्यवस्थाभित्रै कैद गरेपछि ठूलो अविश्वास पैदा भएको छ । संसदीय व्यवस्थाबाट बाहिर निकालेको जनमतलाई विश्वास दिलाउन सक्दा त्यो भौतिक शक्तिमा बदलिन्छ । जति जति संसदीय व्यवस्था पुन नाङ्गिदै जान्छ । क्रान्तिकारी शक्ति गुणात्मक ढंगले वृद्धि हुँदै जान्छ । त्यस्को लागि भण्डाफोर गरेर नथाकिकन र सिद्धान्त नछाडिकन अगाडि बढ्नुको विकल्प छैन ।

दोस्रो, पार्टी एकता गर्ने हाम्रो पार्टीले अगाडि सारेका छ–बुँदा सैद्धान्तिक मान्यतामा नेकपा (मसाल) विस्तारै संसदवार र वर्तमान प्रतिक्रियावादी सत्ता र सरकारतिर ढल्किन र नयाँ जनवादी क्रान्ति र कार्यदिशामा नेकपा (विप्लव समूह) अस्पष्ट र ढुलमुले नीति अपनाउनु समस्याको कारण बनेको छ । यसबारे प्रष्ट हुँदै अगाडि बढ्न जरुरी छ । तेस्रो, प्रतिक्रियावादी सत्ता र सरकार संचालक कथित ‘वाम’ सरकारविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाउन नेपाली वामपन्थी जनमतमा जुन भ्रम खडा छ, त्यसलाई चिर्दै संघर्षका कार्यक्रम अगाडि बढाउन जरुरी छ । वर्ग संघर्षको आजको यो मूल कार्यभार हो ।

यही कार्यभार पूरा गरेर वर्गसंघर्ष अगाडि बढाउँदै समाजलाई गतिशील र उद्देलित बनाउनु र समाजलाई प्रगतिशील दिशातर्फ चलायमान गराउनु नै आजको वर्ग–संघर्षको कार्यभार हो ।