कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्व जगतबहादुर श्रेष्ठलाई गरियो नागरिक अभिनन्दन

कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्व जगतबहादुर श्रेष्ठलाई गरियो नागरिक अभिनन्दन

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) चितवनको पहलमा नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्व जगतबहादुर श्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको छ । श्रेष्ठका सहकर्मी यमुनाप्रसाद न्यौपानेको नेतृत्वमा बनेको नागरिक अभिनन्दन मूल समितिको आयोजनामा बुधबार (२८ कार्तिक) भरतपुर स्थित उद्योग वाणिज्य संघको सभाहलमा जगतबहादुर श्रेष्ठलाई अभिनन्दन गरिएको हो ।
चितवन कम्युनिस्ट पार्टीका संस्थापक नेता समेत रहनुभएका जगतबहादुर श्रेष्ठलाई उहाँकै निवास पुल्चोक नारायणगढबाट बाजागाजासहितको शोभायात्रासहित श्रेष्ठको नागरिक अभिनन्दन गरिएको थियो ।

नारायणगढको पुलचोकबाट सुरु भएको शोभा यात्रा उद्योग वाणिज्य संघको भवन नारायणगढमा पुगेर नागरिक अभिनन्दनमा परिणत भएको थियो । श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने समारोहमा बरिष्ठ वामपन्थी व्यक्तित्व पुष्पगोपाल श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।

नागरिक अभिनन्दन मूल समितिका संयोजक यमुनाप्रसाद न्यौपानेले जगतबहादुर श्रेष्ठ सारै सरल, कम्युनिस्ट विचारधारा बोकेका एक असल र देशभक्त व्यक्ति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबभन्दा ठूलो उहाँको गहना भनेको देशभक्ति हो । त्यसको अलावा उहाँ सानैदेखि कम्युनिस्ट विचारधारामा लागेर हाल पनि क्रान्तिकारी विचारका धनी हुनुहुन्छ । जगतबहादुर श्रेष्ठ देशभक्त तथा प्रगतिवादी साहित्यकारको रुपमा पनि स्थापित हुनुहुन्छ ।
नागरिक अभिनन्दन कार्यक्रममा क्रान्तिकारी माओवादीका केस ईश्वरचन्द्र ज्ञवाली, केस तथा चितवन जिल्ला इन्चार्ज अम्बिका मुडभरी, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, विजय सुवेदी, नयाँ शक्ति पार्टीका नेता विष्णुहरि तिमिल्सिना, नेकपाका नेता लालबहादुर विसीलगायतले अभिनन्दन मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा जगतबहादुर श्रेष्ठका बारेमा विभिन्न व्यक्तिहरुले लेखेका लेखहरुको सँगालो ‘जगत अभिनन्दन ग्रन्थ’ सार्वजनिक गरिएको थियो ।

जगतबहादुर श्रेष्ठ १९८६ साल कार्तिक २२ गते गोर्खाको जौबारीमा जन्मनुभएको हो । २०१० सालदेखि कम्युनिस्ट आन्दोलनमा आबद्ध रहनुभएका श्रेष्ठ २०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको गोर्खाको उत्तरी क्षेत्रमा उम्मेदवार हुनुभएको थियो । उहाँले आफूलाई निरन्तर कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारामा उभ्याउँदै आउनु भएको छ । हाल उहाँ क्रान्तिकारी माओवादीको सल्लाहकार हुनुहुन्छ ।