उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सकिएको छ । हिन्दुहरुका चाडहरुमध्ये यो एक महत्वपूर्ण चाड हो । प्राकृतिक तथा सर्वश्रेष्ठ शक्तिका रुपमा गरिने पूजा तथा आराधना छठ पर्वको विशेषता हो । यो विधिवत रुपमा विभिन्न कार्यक्रमहरु एकपछि अर्को गरी सम्पन्न गर्दै गरिन्छ ।
चार दिनसम्म मनाइने यस पर्वमा व्रत बस्ने, पूजाआजा गर्ने र मनमा शान्ति लिने तथा शुभ कामना गर्ने गरिन्छ । पहिलो दिनमा नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वका कामहरु पूरा गरिन्छ ।
छठमा सूर्यको पूजा र आराधना गरिए पनि ती सबैका लागि पानी, खोला, नदी र तलाउहरु अति आवश्यक पर्दछन् । काठमाडौंको बाक्लो बस्तीमा छठ मनाउन निकै गाह्रो छ । एक त पानी अपर्याप्त छ, अर्को कुरा, नदीहरुको पानी दुषित छ । तै पनि उपत्यकामा रहेका वागमती, गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र आदी नदी तथा तलाउका छेउँ, किनारामा छठ पर्वका सबै कामहरु सकिए ।
ठूला नदीहरु वागमती र गुह्येश्वरीमा छठ पर्व समापनका लागि भक्तजनहरुको बाक्लो भीड लागेको थियो ।