निर्मला पन्तको न्यायको लागि जारी अनिश्चितकालीन अनशनमा क्रान्तिकारी माओवादीको ऐक्यबद्धता

निर्मला पन्तको न्यायको लागि जारी अनिश्चितकालीन अनशनमा क्रान्तिकारी माओवादीको ऐक्यबद्धता

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको एक सय बाह्र दिन पुग्दासम्म पनि राज्यले अपराधीहरुलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याएको भन्दै कञ्चनपुरमा न्यायका जारी अनिश्चितकालीन अनशनमा क्रान्तिकारी माओवादीले ऐक्यबद्धता जाहेर गरेको छ ।
पन्तको हत्यारा पत्ता लगाई कडा कारवाही गर्न माग सहित पछिल्लो पटक परिवार, सामाजिक, अधिकारवादी संघ, संगठनहरु र राजनीतिक दलहरुको संयुक्त अगुवाईमा विभिन्न ढंगका दवावमूलक कार्यक्रमहरु भइरहेका छन् ।

चार दिन पहिले शुरु गरिएको अनिश्चितकालीन अनशनप्रति नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले आफ्नो पूर्ण एक्यवद्धता रहेको जनाएको छ । अनशन स्थलमा पुगेर मंगलबार क्रान्तिकारी माओवादी कञ्चनपरका सेक्रेटरी हरि सुवेदी पन्तको न्यायका लागि आफू पनि अनशनमा बसे ।

अनशनमा रहेको सेक्रेटरी सुवेदीले भने– ‘हाम्रो पहिलेदेखि समर्थ रहेको थियो । हामी निर्मला पन्तको न्यायको लागि जस्तो सुकै आन्दोलन गर्नु परे पनि तयार छौं ।’

सुवेदीले समाजिक न्याय दिनानुदिन अपहरण भैरहेको र जनतन्त्र कमजोर भैरहेको तर्क गर्दै भने–‘वर्तमान सरकार असफल भइसकेको छ, अब त्यसको विकल्पमा जनन्यायिक व्यावस्थाको संघर्ष उठाउनु जरुरी छ । नाममा दुई तिहाइको भनिने सरकारले हत्यारा पत्ता लगाउन सक्दैन यो कस्तो दुई तिहाई हो ?’

निर्मला पन्तका बुवा यज्ञराज पन्तले राज्यले अहिलेसम्म छोरीका हत्याराहरु पत्ता लगाई कारबाही नगरेकाले दवाव दिनका लागि आफुहरु अनिश्चितकालिन अनशनमा बसेको बताए । उनले हत्यारालाई कारवाही नगरेसम्म अनशन नरोकिने समेत बताएका छन् ।
उनले भने–‘हामीले सरकार र त्यसका विभिन्न निकायहरुसँग पटक पटक न्यायका लागि अनुरोध गर्यौ, तर न्याय नपाएपछि अन्तिम अवस्थामा अनिश्चितकालीन अनशन शुरू गर्न बाँध्य भएका हौं ।’

उनले निर्मलाका लागि शुरु गरिएको अनशनमा नागरिक समाज, राजनितक दलका नेता, विद्यार्थी, पत्रकार, महिला, व्यापारी र सबै न्यायप्रोमि मानिसहरुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन । उनले फेरी कुनै पनि छोरीहरुले यस्तो घटना भोग्नु नपरोस भन्दै सामाजिक न्यायको पक्षमा सबै मिलेर आवाज उठाउनुपर्ने धारणा समेत राखेका छन् ।

कञ्चापुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा पटक पटक आन्दोलन समेत भए । आन्दोलन हुँदा त्यहाँ एक जनाको मृत्यु समेत भएको थियो ।