‘राष्ट्रियताको रक्षा क्रान्तिकारीहरुले मात्र गर्न सक्छन् भन्नेमा जगतबहादुर श्रेष्ठको दृढ विश्वास छ’

‘राष्ट्रियताको रक्षा क्रान्तिकारीहरुले मात्र गर्न सक्छन् भन्नेमा जगतबहादुर श्रेष्ठको दृढ विश्वास छ’

तपाई जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिको संयोजक हुनुहुन्छ । जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गर्नुपर्ने कारण के हो ?
जगतबहादुर श्रेष्ठ साह्रै ठूला देशभक्त र सादा जीवन उच्च विचारका एक उदाहरणीय र अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । अविछिन्न रुपले कम्युनिष्ट पार्टीमा रहँदै असजिलो अवस्थामा समेत अविचलित रुपले आन्दोलनलाई सहयोग गर्दै आउनु भएको छ ।

तपाईले जगतबहादुर श्रेष्ठ नेपाल कम्युनिष्ट आन्दोलनको अविचलित योद्धा र निष्ठा आदर्शको धरोहर भन्नुभयो, नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको ऐतिहासिक भूमिकाको बारेमा संक्षिप्त भनिदिनुस् न ?

मैले जानेअनुसार २००८ सालदेखि नै उहाँमा कम्युनिष्टको प्रभाव प¥यो । २०११ सालमा कम्युनिष्ट पार्टीको उम्मेदवार बन्नुभयो । उहाँको चुनावी बुथ मुच्चोकमा स्वयम् पुष्पलाल प्रतिनिधि बस्नुभयो । त्यस्तै मसिल बुथमा अर्का हस्ती कृष्णलाल प्रधान प्रतिनिधि बस्नुभयो । गोरखा जिल्लामा विद्यार्थी संगठन र भकारी फोर आन्दोलनमा सक्रिय रहनुभयो । २०१६ सालमा चितवन झरेपछि सुरुमा शिक्षक त्यसपछि सानोतिनो श्रम र पुस्तक पसल मुग्लिङ रोडमा निर्माणको काम पनि गर्नुभयो । गौरीभक्त प्रधान र पुण्यप्रताप राणाहरुसँग काम गर्दैजाँदा केन्द्रमा भाँडभैलो भएको कारणले ‘ननसेन्टर कमिटीको संस्थापक सदस्य बन्नुभएपछि ननसेन्टर कमिटी केन्द्रीय न्यूक्लसमा विलय भयो । केन्द्रीय न्यूल्कसले चौथो महाधिवेशन ग¥यो । फेरि भाँडभैलो भयो । माओवादीको जनम भयो । माओवादी युद्धताका उहाँको ठूलो भूमिका रह्यो । चौथो महाधिवेशन र त्यसपछि माओवादी युद्धकालमा धन्नै देशका सबै जिल्लाको सम्पर्क व्यक्ति बन्नुभयो । फेरि भाँडभैलो भयो । हाल मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीको केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।

तपाईको जगतबहादुर श्रेष्ठसँगको राजनीतिक सहकार्य कहिले र कसरी सुरुभयो ?
अखिल नेपाल विद्यार्थी फेडरेशन गोरखा जिल्लाको पहिलो अधिवेशन २०११ साल वैशाखमा उत्तर गोरखाको स्वारागाउँमा भएको थियो । जौबारीबाट जगतबहादुर श्रेष्ठ र शक्ति विद्यालय पोखरीथोकबाट म प्रतिनिधि थियौं । ४ दिनको त्यहाँको बसाइमा उहाँको सरल स्वभावले मलाई ठूलो छाप पा¥यो । आखिरी दिनमा मलाई पखाला लाग्यो, जगतबहादुर श्रेष्ठ र शिवभक्त श्रेष्ठले गाउँले औषधीमूलो गरी निको पार्नुभयो । उहाँ उत्तर गोरखाको उम्मेदवार हुँदा म उत्तरतर्फ मेरो प्रभाव भएका संगठन गरेका र नातागोता भएका गाउँहरुमा मोती वाणाको साथमा चुनाव प्रचार गर्थे ।

जगतबहादुर श्रेष्ठ राजनीति सँगसँगै साहित्यमा पनि उत्तिकै सक्रिय पात्र हुनुहुन्छ । साहित्यमा उहाँको लगनशीलताको बारेमा बताइदिनुहुन्छ कि ?
मैले स्वारागाउँको अधिवेशनबारे भनिसकेंं गरमागरम बहस हुँदा सबै साथीहरु थकित जस्ता हुन्थे । अनि बीच–बीचमा नाचगान गीत कविता प्रस्तुत गरिन्थ्यो । अरु सबै मैले बिर्सिसके जगतबहादुर श्रेष्ठले मीठो स्वरमा झ्याउरे भाकामा गाउनुभएको ‘नरोउन न्याउली चरी तिम्लाई भन्दा झन् मलाई उराठी’ को गीत गाउँदा हाउसले दोहो¥याउन अनुरोध गथ्र्याे । धेरै पत्रपत्रिकामा अनेकौं लेखरचना अहिले पनि लेख्नुहुन्छ । कविता संग्रहका २–३ पुस्तक पनि छन् । जे–जति लेखहरु छन् । सबै देशभक्तिपूर्ण छन् । जब उहाँ लेख्न कलम हातमा लिनुहुन्छ अनि देशभक्तिका शब्दहरु निक्लन थाल्छन् ।

ननसेन्टर कमिटीमा जगतबहादुर श्रेष्ठको भूमिका बताइदिनुस् ?
मैले पहिले नै संकेत गरिसकेको छु जतिखेर ननसेन्टर कमिटी गठन भयो, त्यतिखेर चितवनमा ५ वटा जिल्ला कमिटी थिए । सबैले आफूलाई आधिकारिक पार्टीको दाबी गर्थे । त्यस्तो अवस्थामा गठन भएको ननसेन्टर कमिटीले राम्रै संगठन ग¥यो । शिक्षा क्षेत्रमा आनन्ददेव भट्ट, स्वास्थ्य क्षेत्रमा डा. मथुराप्रसाद श्रेष्ठ, बजार क्षेत्रमा जगतबहादुर श्रेष्ठ, गाउँले क्षेत्रमा यमुनाप्रसाद न्यौपानेको कामको जिम्मा थियो । सदरमुकामको काम र बजारको किनमेल र राजनीतिक सम्पर्कस्थल जगतबहादुर श्रेष्ठ नै भएकाले उहाँलाई नै बढी बोझ पथ्र्याे ।

ननसेन्टर कमिटी र चितवनको कम्युनिष्ट आन्दोलनको सम्बन्ध कस्तो रह्यो ?
यसबारेमा पनि मैले कही भनिसकेको छु । पाँचवटा त जिल्ला कमिटी थिए, राम्रो सम्बन्ध हुने त कुरै भएन । तर ननसेन्टर कमिटीको संगठन राम्रो थियो । जिल्लाभरिका शिक्षक र विद्यार्थी कुनै न कुनै रुपले वीरेन्द्र कलेजका प्रिन्सिपल आनन्ददेव भट्टसँग सम्बन्धित हुन्थे, बजार क्षेत्र जगतबहादुरले हेर्ने हुँदा गाउँलेहरुलाई उहाँको आवश्यक पथ्र्याे । म आफू चाहीं गाउँघरमा बढी नै सेल कमिटीहरु गठन गर्थे । जब ननसेन्टर कमिटी केन्द्रीय न्यूक्लसमा समाहित भयो । त्यसपछि त्यो बेलामा झापाली पार्टीबाट ठूलो चुनौती आयो । तर अरु त्यसै सेलाए ननसेन्टर कमिटी केन्द्रीय न्यूक्लस र चौथो महाधिवेशनसम्म आउँदा झापाली पार्टीसँग तीव्र प्रतिस्पर्धा रह्यो ।

ननसेन्टर कमिटी र केन्द्रीय न्यूक्लससमेतको नेतृत्वमा रहेका जगतबहादुर श्रेष्ठ किन बनारसमा भएको चौथो महाधिवेशनमा प्रतिनिधिमा पर्नु भएन ?

जगतबहादुर श्रेष्ठ एक सरल स्वभावका कर्ममा विश्वास गर्ने नेतृत्वमा कुनै महत्वाकाङ्क्षा नराख्ने व्यक्ति हुनुहुन्छ । केन्द्रले कसरी प्रतिनिधि चयन ग¥यो, मलाई थाह भएन । खम्बसिंह कुँवर, नरबहादुर खाँड, विष्णु घिमिरे आधिकारिक प्रतिनिधि र यमुनाप्रसाद न्यौपाने मताधिकार नभएको पर्यवेक्षकको रुपमा भाग लिने गरी खबर भयो । मेरो अलि मूल्यांकन भएन भनेर होइन, बिरामी भएकोले म पनि गइन । त्यहाँ भाग लिनको लागि नामांकन नभएकोमा जगतबहादुर श्रेष्ठलाई कुनै किसिमको कुण्ठा भएन ।

चौथो महाधिवेशनदेखि आजसम्म आउँदा उहाँको राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
उहाँको राजनीतिको मुख्य पाटो देशभक्तितर्फ छ । पार्टी, नेता जब राष्ट्रियतामा अलिकति पनि गल्ती गर्छन्, अनि उहाँमा विरोधको ज्वाला उठ्छ । नेपालको भूगोल र नेपाली जनता उहाँका लागि साह्रै प्रिय छन् । यसको रक्षा क्रान्तिकारीले मात्र गर्छन् भन्ने उहाँमा दृढ विश्वास छ । यो नब्बे वर्षको उमेरमा पनि यही चिन्तनधारामा चुर्लुम्म हुनुहुन्छ, शक्तिशाली क्रान्तिकारी पार्टी हुनै पर्छ भन्नेमा दृढ हुनुहुन्छ ।

 कतिपयले नागरिक अभिनन्दनलाई व्यक्ति पूजासँग पनि जोडेर हेरेको पाइन्छ, यस विषयमा तपाईलाई कस्तो लाग्छ ?

आहा क्या राम्रो प्रश्न गर्नुभयो । कसैले व्यक्तिपूजा भन्छन् भने उहाँहरुलाई धन्यवाद दिनुपर्छ । देश र जनताको हित हेतु क्रान्तिकारी पार्टीमा लाग्नु देशभक्तिपूर्ण उच्छवास प्रकट गर्ने देशभरिका जुनसुकै ठाउँका जोसुकै भए पनि सकेदेखि खोजी–खोजी पूजा गर्नुपर्छ ।

                                                                                                                                                         प्रस्तुति : अशोक शर्मा