काठमाडौं । धादिङमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रुको मृत्यु हुन पुगेको छ । जिल्लाको रोराङ गाउँपालिका–५ मा यूपी–७५ एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका–५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्यास बुलेटले अनियन्त्रित भई उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ग्यास बुलेटको चालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
पैदल यात्रुलाई ठक्कर दिएको ग्यास बुलेट सडकबाट २० मिटर तल खसेको छ ।