केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम : अनुभव र अनुभूतिहरु

प्रकाशित मिति : २०७५ कार्तिक २०

- खगेन्द्र छन्त्याल

प्रशिक्षण खास गरी तिन प्रकारका हुन्छन । क्रान्तिकारी, अवसरवादी र प्रतिक्रियावादी यसका प्रकार हुन् । क्रान्तिकारी, अवसरवादी र प्रतिक्रियावादी प्रकारका प्रशिक्षणहरुको आआफ्नै उद्देश्य हुन्छन । क्रान्तिकारी प्रशिक्षण क्रान्तिकारीहरुले संचालन गर्दछन र त्यसको उद्देश्य क्रान्तिको निम्ति योग्य नेता र कार्यकर्ता उत्पादन गर्नु हो । अवसरवादी प्रकारको प्रशिक्षण अवसरवादीहरुले संचालन गर्दछन र त्यसको उद्देश्य क्रान्तिप्रति निराशा फैलाउनु र जनतामा भ्रम सिर्जना गर्नु हो । क्रान्तिकै नाममा क्रान्तिको गला रेट्नु, मार्क्सवादको नाममा मार्क्सवादकै जरो उखेल्नु यसप्रकारको प्रशिक्षणको सार हो । गैर मार्क्सवादी चेतना र चिन्तन बोकेका नांगा प्रतिक्रियावादी प्रशिक्षकहरुद्वारा मार्क्सवादको बारेमा प्रशिक्षण दिलाइनु यसको काम हो । प्रतिक्रियावादी प्रकारको प्रशिक्षण प्रतिक्रियावादीहरुले संचालन गर्दछन । सोझै क्रान्तिको विरोध गर्नु, प्रतिक्रियावादको पक्षपोषण गर्नु र त्यसप्रकारको निम्ति जनमत तयार गर्नु यसको उद्देश्य हो ।

पार्टी केन्द्रिय समितिको निर्णय, स्थायी समितिको पहल र केन्द्रिय स्कुलिङ विभागको योजना निर्माणमा कार्तिक ११ देखि १७ सम्म पार्टीको केन्द्रिय प्र्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासचिव क. किरणले उद्घाटन गरी उहाँद्वारा नै पहिलो क्लास लिएर सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम पुनः कमरेड महासचिव नै प्रमुख अतिथि रहेको एक संक्षिप्त समापन समारोह आयोजना गरी समापन भयो ।

तथ्य आफै बोल्छ– क्रान्तिकारी प्रशिक्षकहरु तयार गर्नु र अन्ततः क्रान्तिको आधार निर्माण गर्नु यो प्रशिक्षण को उद्देश्य हो । अत्यन्तै केन्द्रिकृत यो प्रशिक्षणमा ३ नम्बर प्रदेशका १३ जिल्लाबाट जम्मा ७ जनाले सहमागी हुने मौका पाएका थिए । त्यसैगरी देशभरबाट जम्मा ३० जना प्रशिक्षार्थी छानिएका थिए । काठमाडौँले पाएको एकजनाको कोटामा काठमाडौं जिल्ला स्कुलिङ विभाग प्रमुखको नाताले उक्त प्रशिक्षणमा मैले प्रतिनिधित्व गर्ने प्रस्ताव जिल्ला कमिटीको पूर्ण बैठकले पारित गरे अनुसार नै उक्त कार्यक्रममा मेरो सहभागिता रहेको थियो ।

सुरुमा आफ्नो क्लास सुरुगर्ने क्रममा प्रशिक्षक कमरेड हस्त के.सी. भन्दै हुनहुन्थ्योः आमसभाको आयोजना गरेर प्रचण्डहरु प्रशिक्षण भन्छन वास्तविक प्रशिक्षण त यो हो कमरेडहरु ! हो, आमसभारुपी त्यस्ता प्रशिक्षणमा कैयौं पटक सहभागी भएको छु म । तर यसप्रकारका विशेष प्रशिक्षणमा सहभागी हुने अवसर मैले अत्यन्तै थोरै पाएको छु । ०४६ सालमा कमरेड मोहनबिक्रम सिंह मुख्य प्रशिक्षक रहेको तत्कालिन युवक संघको एकहप्ते केद्रिय विशेष प्रशिक्षण पहिलो र ०४७ मा कमरेड रामसिं श्रीस प्रमुख प्रशिक्षक रहेको पार्टी जिल्ला स्तरीय एकहप्ते विशेष प्रशिक्षण मेरो जीवनका दोस्रो राजनैतिक प्रशिक्षण कार्यक्रमहरु हुन् ।

यसै बीच बाध्यात्मक अवस्थामा ०४७ कै अन्त्यतिर पार्टीमा कुरा राखेर, पार्टीको अनुमतिमै मैले नेपाल छोडे । मेरा १८ वर्ष विदेशि भूमिमै बिते । यो अठार वर्षले मलाई व्यक्तिगत रुपमा धेरै पछाडि पार्यो । तर १८ वर्षमा कुनै १ सेकेन्ड मैले पार्टी संगको सम्बन्ध र सम्पर्क तोडिन । विदेशमा मैले मजदुरी गरें, पार्टीको निर्देशनमा विदेशको परिस्थितिनुकूल पार्टीमा काम गरें र फुर्सद निकालेर बढी से बढी स्वअध्यनमा जोड दिए । मेरो स्वअध्ययनमा कमरेड डी.एन.शर्मा, स्व.क. भागिरथ खरेल, मेरो साला सुरेश महत र युवराज खरेल लगायतका धेरै साथीहरुको निक्कै ठूलो र बिर्सनै नसक्ने भूमिका रहेको छ । मेरो स्वअध्ययनले म निक्कै जान्ने भए भन्ने साहस गर्न त मैले सक्दिन, तर अहिले मैले जति जान्दैछु, बुझ्दै छु, त्यसको आधारमा मेरो त्यही स्वअध्ययन हो भन्ने दाबी चाहीं गर्न सक्छु ।

तथापि, विदेशमा हुनुको कारण स्वदेशका कुनै पनि प्रशिक्षणमा मैले सहभागी हुने अवसर पाएन । स्वदेश फर्के पश्चात् ०७३ को नेवा राज्यस्तरीय एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षणमा सहभागी भए । मेरो निम्ति यो तेस्रो विशेष प्रशिक्षण थियो । राज्यस्तरीय नै भए तापनि उद्देश्य, प्रशिक्षकहरुको हैसियत, क्षमता र विषयवस्तुका दृष्टिले त्यो प्रशिक्षण पनि निक्कै महत्वपूर्ण थियो ।

कमरेडहरु किरण, गौरव, राजवीर, परिलगायत ११ जना नेतृत्व र विषयविज्ञ कमरेडहरुद्वारा प्रशिक्षण दिइएको यो पछिल्लो केन्द्रिय प्रशिक्षणमाः प्रत्येक दिन बिहान आठ बजेदेखि खाना र खाजाको दुई घण्टा समय काटेर साँझ पाँच बजेसम्म अर्थात दैनिक सात घण्टा प्रशिक्षण भयो । एक हप्तामा जम्मा एकतीसवटा क्लास संचालन गरिए । मार्क्सवादी दर्शन, राजनीति, अर्थशास्त्रदेखि सौन्दर्य शास्त्र, संयुक्त मोर्चा, आदिवासी र जनजाति आन्दोलनहुँदै उत्तर आधुनिकतावाद र नवमार्क्सवाद सम्मका विषयहरुमा प्रशिक्षण भए ।

एउटा प्रशिक्षार्थीको आँखाबाट हेरेर समीक्षात्मक अनुभूति राख्नु पर्दा के भन्न सकिन्छ भने प्रशिक्षकहरुको प्रशिक्षणकला र प्रस्तुति अनुकरणीय र सह्रानीय रह्यो । यति हुँदाहुँदै पनि अपवादको रुपमा कुनै प्रशिक्षकले कुनै विषयमा आवश्यकताभन्दा बढी विश्लेषण गरेको र कुनै विषयमा आवश्यक विश्लेषण पनि गर्न नभ्याइएको पाइयो । प्रशिक्षार्थीहरुको मेहनत, परिश्रम र इच्छाशक्ति सुन्दर रह्यो । साथै, प्रशिक्षार्थीहरुमध्ये केहीबाट सामान्य कमजोरी पनि भए । अपवादको रुपमा क्लास टाइममा मोवाइल अफ नगर्ने, साइलेन्स मोडमा नराख्ने, बाहिरबाट फोन आएमा क्लास चल्दाचल्दै बाहिर गएर फोनमा बोल्ने, एकभन्दा बढी संख्यामा शौचालय जाने इत्यादि कमी कमजोरीहरु पनि भए । आगामी दिनमा संचालन हुने सबै स्तरका प्रशिक्षणहरुमा यो कमजोरी दोहोरिनु हुँदैन ।

प्रशिक्षणमा दोहोरो छलफल भएनन । अपवाद बाहेक विषय वस्तुलाई दोहोर्याएर व्याख्या विश्लेषण पनि गरिएनन । प्रशिक्षक बन्न योग्य देश भरबाट छानिएर आएको सचेत नेताहरुको टिम जस्तो थियो, प्रशिक्षार्थीहरुको समुह । त्यसकारणले पनि कुरा दोहोर्याइ रहनु आवश्यक ठानेनन प्रशिक्षकहरुले । त्यो ठीकै हो भन्ने लाग्यो । कार्यक्रमको स्प्रिट पनि त्यही अनुसारको थियो । मुख्य कुरा स्वअध्ययन हो । प्रशिक्षणको काम त केवल विषय वस्तुको दिशाबोध गर्ने मात्रै हो भन्ने बोध गराउँदै कुन पुस्तकको सार के हो ? कुन पुस्तक पढ्ने ? कसरी पढ्ने, कसरी पढाउने ? कसरी सिक्ने, कसरी सिकाउने ? इत्यादि पनि प्रशिक्षणको मुख्य विषयभित्र परे, जो एकदम स्वभाविक थियो ।

व्यवस्थापन पक्ष धेरै राम्रो रह्यो । पिउने पानी, चिया, नास्ता, खान, बस्न, सुत्नमा गुनासो गर्ने ठाउँ रहेन । शौचालयको सुविधा पनि राम्रो थियो । यस सम्बन्धमा ३ नम्बर प्रदेश कार्यालयलाई धन्यवादको श्रेय जान्छ । विविध आवश्यक सहयोगको निम्ति प्रशिक्षण अवधिभर पार्टीको केन्द्रिय कार्यालय बिहानदेखि साँझसम्म नै एलर्ट पोजिशनमा रह्यो र ज्यादै सहज ढंगले सहयोग उपलब्ध गराइरह्यो ।

मेरो आफ्नै कुरा गर्नुपर्दाः अन्य समयका प्रशिक्षणबाट भन्दा यसपटकको प्रशिक्षणबाट केही बढी सिकियो कि जस्तो लागिरहेको छ । मान्छे लोभी हुन्छ । बढि नै आशावादी पनि हुन्छ । बढी नै अपेक्षा गर्दछ । हो, मैले पनि अझ धेरै बुझ्ने, अझ धेरै सिक्ने आशा, अपेक्षा गरेको थिए होला, त्यो अनुरुप नहुन सक्छ । त्यो आफ्नो ठाउँमा छ । अझ बढी सिक्न र बुझ्नको निम्ति एउटा मेरो क्षमता र अर्को समयमा भर पर्दछ । त्यसको निम्ति कि मेरो क्षमता धेरै हुनुपर्यो, कि सिक्नको निम्ति समय धेरै हुनु पर्यो । थोरै समयमा धेरै सिक्ने क्षमता भएको मान्छे म होईन । धेरै समयमा धेरै सिक्न प्रयास गर्ने मान्छे हो म । त्यसकारण जति सिकें, जति बुझें, त्योभन्दा बढी सिक्न र बुझ्नको निम्ति मलाई यो प्रशिक्षणको समय कमी भएको हो कि जस्तो लागिरहेको छ ।

सम्भव भएसम्म क्रान्तिकारी पार्टीले नियमित प्रशिक्षण, स्कुलिङको निम्ति स्थायी पार्टी स्कुलको निर्माण गर्नुपर्ने हुन्छ । यदि त्यो सम्भव नभएमा समय सन्दर्भमा संचालन गरिने प्रशिक्षण र स्कुलिङहरु नियमित गरिनु पर्दछ र त्यसको समयावधि कमसेकम १५ दिनको हुनुपर्दो रहेछ भन्ने बोध भएको छ । प्रशिक्षणको स्तर, प्रशिक्षणको विषय, प्रशिक्षकहरुको परिपक्कता र प्रस्तुति आदि इत्यादिलाई हेर्दा मेरो आजसम्मको जीवनमा सबभन्दा महत्वपूर्ण प्रशिक्षण यही हो भन्ने अनुभूति भैरहेको छ ।

अन्त्यमा, यो महत्वपूर्ण कार्यक्रमको आयोजनाबारे निर्णय गर्ने हाम्रो गौरवशाली पार्टीको केन्द्रिय कमिटी, केन्द्रिय स्कुलिङ विभाग, ३ नम्बर प्रदेश कमिटी र काठमाडौँ जिल्ला कमिटी साथै सिंगो पार्टीप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछु ।