पश्चिम सेती नबनोस तस्करहरुको खेती

प्रकाशित मिति : २०७५ कार्तिक २०

काठमाडौं । नेपालीहरुको शेयर संकलन गरेर निर्माण गरिने भनिएको पश्चिम सेती फेरि अहिले चर्चामा आएको छ । ७५० मेगावाट विद्युत क्षमता भएको पश्चिम सेती भारतीय तथा चिनियाँ कम्पनीहरुको चासोबाट मुक्त भएपछि नेपालीहरुको शेयर संकलन गरेर नमूनाको रुपमा निर्माण गरिने भनिए पनि अहिले यो अलपत्रको अवस्थामा छ ।

पश्चिम सेती बेचेर मालामाल हुने सपना देखिरहेको मन्त्रीहरु आयोजना संझौता कार्यान्वयनको विफलताले फेरि अर्को घनचक्करमा लागेका छन् । त्यो हो, उनीहरु मोटो सरकारी रकम खर्च गरेर फेरि पश्चिम सेतीको शुन्यबाट अध्ययन अनुसन्धान गरिने तरखरमा लागेका छन् । यो अध्ययन करिब एकडेढ महिनाभित्र सकिने बताउँदै ‘उर्जा र कार्यदल’ गठन गरेर काममा लागि पर्ने बताएका छन् ।

तर प्राविधिकहरुका अनुसार पचिम सेतीको पुनः अध्ययन कुनै जरुरी नै छैन । उनीहरुका अनुसार यो सरकारी रकमको दुरुपयोगका लागि मात्र गरिन लागेको हो । जे जस्तो भए पनि तस्करहरुको खेलमा सरकार नाच्ने गरेकाले यस्ता हाँसो मजाक आउने खालका कामहरु नेपालमा लाज नै नमानेर दोहरिने गरेका उनीहरुको अनुभव रहेको छ ।

पछिल्लो चरणमा चिनियाँ कम्पनी थ्रीगर्जेजले पश्चिम सेतीबाट हात झिकेपछि सरकार र सरकारसँग आवद्ध जल माफियाहरुको डिजाइनमा अध्ययनका नाममा यसरी मोटो खर्च हुन लागेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता सरकारी तथा आधिकारिक निकायहरु यसबारेमा चनाखो हुन जरुरी रहेको विज्ञहरुको आग्रह छ ।