ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरका सेक्रेटरी दीपकले एक वक्तव्य जारी गरी जिल्ला सदस्य निरन तुलाधरमाथि सांघातिक आक्रमण गर्ने तत्वहरुमाथि कडा कारबाही गर्न गृहप्रशासनसँग जोडदार माग गरेका छन् । कार्तिक १९ गते साँझ ५ ः ४५ मा ललितपुर महानगरपालिका वडा नं. २२ बुङमतिमा स्थानीय जनतासँग उनीहरुका समस्याहरुका विषयमा छलफल गरिरहेको अवस्थामा एक्कासी छापामार शैलीमा सांघातिक आक्रमण गरेको भन्दै सेक्रेटरी दीपकले उक्त घटनाको घोर निन्दा एवम् कडा शब्दमा भत्र्सना गरेका छन् । वक्तव्यमा अविलम्ब आक्रमणकारीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही नगरिएर जनस्तरबाटै प्रतिरोध गरिने पनि चेतावानी दिइएको छ ।
वक्तव्यमा घटना राजनीतिक संरक्षणमा भएको ठहर गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विकराल समस्याहरुको वास्तविक समाधानका लागि नयाँ जनवादी क्रान्तिको तयारीमा अहोरात्र खटिरहेका क्रान्तिकारी योद्धाहरुमाथि गरिने यस्ता आक्रमणले क्रान्तिकारी हतोत्साहित होइन बरु अझ दृढताका साथ देश र जनताको मुक्ति र परिवर्तनका लागि लागिरहने उच्च दायित्वबोध गराउँछ भनिएको छ ।
वक्तव्यमा बुङमतिका जनताले जायज माग राखी सञ्चालन गरिराखेको आन्दोलन र उनीहरुका जायज मागहरुको यथाशिघ्र समाधान गर्न पनि सरोकारवाला सबै पक्षहरुलाई गम्भीर बन्न हार्दिक आग्रह गरिएको छ । मंगलबार गरिएको वक्तव्यमा आक्रमणबाट घाइते भएका निरनको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।