बिगेसोद्वारा वुद्धनगरमा देउसीभैलो

बिगेसोद्वारा वुद्धनगरमा देउसीभैलो

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) द्वारा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलवार देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको छ । दीपावली, नेपाल सम्वत, छठ, उधौली, ल्होसार, चासोक तथा तङनाम आदि पर्वहरुको अवसरमा शुभकामना दिन उक्त कार्यक्रम आयोजना गरिएको बिगेसोका सभापतिले जानकारी गराएका छन् ।

देउसीभैलो कार्यक्रम आयोजना गर्नुको पछाडिको औचित्यतामाथि प्रकाश पार्दै सभापति पदमसुन्दर लिम्बुले पहिलो त नेपाली मौलिक परंपरा र संस्कृतिको जगेर्ना गर्नु रहेको कुरामा जोड दिएका छन् । दोस्रो कुरा, नेपालका राष्ट्रिय तथा जातीय स्वाभिमानमाथि भैरहेको अतिक्रमण र तदनुरुप गरिएका असमान सन्धिसंझौता तथा गोर्खा ब्रिटिशहरुमाथि गरिएको भेदभावका विरुद्ध आन्दोलनात्मक सन्देश जनताका बीचमा पुर्याउने कुरामा जोड दिए ।

अतिथि तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपीगजुरेल बिगेसोका सभापति पदमसुन्दर लिम्बुले भने झैं नेपालमा बिगेसोले संगठनात्मक गतिविधि सफलतापूर्वक अघि बढाइरहेको र नेपालमा साँच्चै नेपाली हुनुको नाताले रष्ट्रियका साथै नेपाली स्वाभिमानका कुराहरु उठाएको विषयमाथि प्रकाश पारेका थिए । देउसीभैलो यो संगठनको प्रचारात्मक अभियान पनि रहेको बताएका थिए ।

प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले गोर्खामात्र नामोच्चारणले समग्र नेपालीहरुलाई सम्बोधन नगर्ने भएकाले यसलाई नेपाली भन्ने शब्दावलीसँग पनि जोड्नु पर्ने कुरामा जोड दिंदै बिगेसोले उठाएका कुराहरु जायज भएका, जनताले पनि यसलाई बुझ्दै गएका र यो संगठनले रणनीतिक महत्वका कुराहरु तथा मागहरु सूत्रबद्ध गरेर अघि बढाएको कुरामा जोड दिएका थिए । पार्टीले पनि यो जायज कुरालाई साथ दिइरहेको बताए ।

देउसीभैलोमा प्रस्तुत विभिन्न नृत्य तथा गीतहरुले कार्यक्रमलाई निकै चित्ताकर्षक बनाएका थिए ।