सडकमा मात्र होइन, समग्र सोचमा पनि खाल्डाखुल्डी पुर्नुपर्छ कि ?

प्रकाशित मिति : २०७५ कार्तिक १७

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्पतालबाट निको भएर आउने वित्तिकै राजधनी सहरमा भएका खाल्डाखुल्डीहरु पुर्न निर्देशन दिए । यो आश्चर्य लाग्दो निर्देशन थियो । राज्य यति धेरै निकम्मा र लतरो भएकै हो त ? कि हाम्रा नेताहरुको सोच नै निम्नकोटीको रहेको छ ?

उनको निर्देशनलाई जनताले दुई अर्थमा लिएका छन् । एउटा हो नेपाल अब काम नै नलाग्ने अवस्थामा पुगिसक्यो । राज्य र यसका संयन्त्रहरुले आफ्ना सामान्य कामहरु पनि गर्न छाडेका छन् । अथवा प्रायः मृत अवस्थामा छन् । त्यहाँ काम गर्न निर्वाचित भएका, चुनिएका, नियुक्त गरिएका, पठाइएका वा सरुवा गरिएका वा जिम्मा दिइएकाहरु निकै अशक्त, विवेकहीन, जाँगरहीन, सडेगलेका र सामान्य कुरा सोच्न सक्ने हैसियत पनि गुमाएकाहरु छन् ।

यिनलाई प्रधानमन्त्रीको वाणीवचनको रिमोटले चलाउनु पर्छ । सडकका खाल्डाखुल्डी पुर, खाना पकाएर खाऊ, पानी तिर्खालाग्दा मिनिरल वाटर खाउ भनेर पनि अह्राउनु पर्छ ।

दोस्रो कुरा हो, वर्तमान सरकार यति निरंकुश तथा कन्द्रीकृत छ कि यसले चाहिने रकम, कर्मचारी, साधनस्रोत तथा अनुमति पनि आफूले पोको पारेर राखेको छ । सामान्य कुराहरुमा पनि स्पष्टीकरण लिने, किचकिचे र बुहार्तन कमाउने प्रवृत्तिको छ । बस्दा र उठ्दा पनि मलाई सोध्नु है भन्ने गरेको छ ।
देशका निर्माण मन्त्रालयदेखि सडक विभाहरु कहाँ सुतिरहेका छन् ? सरकार र अझ त सरकारको प्रमुख प्रधानमन्त्रीलाई पनि थाह छैन । त्यसैले खाडाखुल्डी सडकहरुमा मात्र होइन, दिमागमा पनि छन् । त्यो पनि समग्र दिमागमा, त्यो पनि पुर्नु पर्छ कि ?