काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र क्रान्तिकारी युवा लिग, नेपाल काठमाडौं जिल्ला कमिटिको आयोजनामा १५ गते कार्तिकमा दोस्रो चरणको अभियान स्वरुप काठमाडौंका ७ वटा नगरपालिकामा नक्कली नक्सा प्रयोगका विरुद्धमा अनुगमन, स्मरण पत्र तथा सक्कली नक्सा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । “नेपालको वास्तविक नक्सा प्रयोग गरौं, भारतद्वारा निर्मित नक्कली नक्साको खारेज गरौं” भन्ने मूल नाराका साथ गरिएको अनुगमन प्रभावकारी रुपमा सम्पन्न भएको आयोजकहरुले जानकारी दिएका छन् ।
प्राप्त जानकारी अनुसार काला झण्डा, व्यानर र टि–सर्टसहति ३० वटा बाइकमा खटिएको अनुगमन टोलीले विहान १० बजे बुढानिलकण्ठ नगरपालिकाबाट अभियानको थालनी गरेको थियो । अनुगमत टोलीको तर्फबाट बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाई देजमो नेपालकी काठमाडौं उपाध्यक्ष इन्दिरा घिमिरे र क्रान्तिकारी युवा लिग नेपाल काठमाडौंका अध्यक्ष असल वाइवाले संयुक्त रुपमा स्मरण पत्र बुझाएका थिए भने नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठले आयोजकको तर्फबाट बनाइएको सक्कली नक्सा मेयर खरेललाई हस्तान्तरण गरेका थिए ।
क्रान्तिकारी माओवादी केस तथा काठमाडौं सेक्रेटरी शारदा महत, इलाका र नगर कमिटिका इन्चार्ज, सेक्रेटरीहरुको समेत सहभागिता रहेको टोलीलाई ठाउँ ठाउँमा प्रहरीले स्कटिङसमेत गरेको थियो ।
टोलीले टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, नागार्जुन नगरपालिकाकी उपमेयर शुशिला अधिकारी, चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरी, कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्का र दक्षिणकाली नगरपालिकाका मेयर मोहन वस्नेतलाई स्मरण पत्र बुझाउनुका साथै नेपालको वास्तविक नक्सा हस्तान्तरण गरेको थियो ।
नागार्जुन नगरपालिकामा क्रान्तिकारी युवा लिगका अध्यक्ष वाइवासँगै देजमो काठमाडौंका कोषाध्यक्ष ढोगप्रसाद अधिकारी र दक्षिणकाली नपामा देजमोका बरिष्ठ सदस्य पदम भण्डारीले स्मरण बरिष्ठ सदस्यले स्मरण पत्र बुझाएका थिए भने अन्य नपामा देजमोकी काठमाडौं उपाध्यक्ष घिमिरे र युवा नेता वाइवाले बुझाएका थिए । सबै नगरपालिकामा पार्टी केस सुरेश श्रेष्ठले नेपालको वास्तविक नक्सा प्रयोगको लागि अनुरोध तथा आव्हान गर्दै नेपालको वास्तविक नक्सा हस्तान्तरण गरेका थिए । अनुगमनको क्रममा प्रायः सबै नपामा भारतद्वारा निर्मित कालापानी क्षेत्र गायब पारिएको नेपालको नक्कली नक्सा प्रयोग गरिएको पाइएको अनुगम टोलीमा सहभागी नेताहरुले जानकारी दिए ।
क्रान्तिकारी माओवादीका केस तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठका अनुसार सबै नगरपालिकाका मेयर तथा उपमेयरले मोर्चा र युवाको यो अभियानलाई सकारात्मक रुपमा लिंदै भने, “राष्ट्रियताको सन्दर्भमा तपाईहरुले चलाएको अभियान एकदमै सान्दर्भिक छ । नेपालको एक इन्च भूभाग पनि सम्झौता राज्यले गर्नुहुन्न । यसको निम्ति हामी प्रतिबद्ध छौं र आफ्नो ठाउँबाट विषय उठाउने छौं ।” उनीहरुले भनेका छन्, “केन्द्र सरकारले जुन नक्सा पठाएको छ, त्यही नक्सा प्रयोग भइरहेको हो । यस विषयमा केन्द्रीय सरकारसँग आवाज उठाउँछौं । सिडिओ कार्यालय मार्फत् निशाना छाप सच्चिएको जानकारी सुरक्षा निकायमा आए पनि केन्द्र सरकार मार्फत् स्थानीय निकायमा नआएको विषय गम्भीर बनेको र यो विषय उपत्यका नगर फोरममा साझा धारणा बनाएर हामीले केन्द्र सरकारसँग विषय राख्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
नेता श्रेष्ठले विचार र आस्था फरक भएपनि राष्ट्रियताको सन्दर्भमा बुझाई एउटै बनाएर जाऔं भनेर सबै नपामा आफूहरुले अनुरोध गरेको जानकारी दिंदै नेपालको वास्तविक नक्सा बनाउने र प्रयोग गर्ने सन्दर्भमा सर्वपक्षीय अन्तरसम्वाद कार्यक्रम राखेर अगाडि बढ्ने तयारी भइरहेको पनि जानकारी दिए । उनले भने, “त्यसपछि पनि नेपालको वास्तविक नक्साको प्रयोग कार्यान्वयनमा आएन वा गरिएन भने संघर्षको कार्यक्रमसहित अगाडि बढ्छौं ।”