‘कोमा’ बाट फर्कदैन कांग्रेस

‘कोमा’ बाट फर्कदैन कांग्रेस

मुलुकमा के.पी.–पी.के.को सरकार छ । राष्ट्रघात र जनघातले देश आक्रान्त छ । सीमा अतिक्रमण, बलात्कार, हत्याहिँसा, महंगी, घुसखोरी, तस्करी र भ्रस्टाचार बढ्दो छ । तर सदनमा प्रतिपक्ष भनिएको कांग्रेस हिजोआज कतै देखिदैन, भेटिदैन । कांग्रेस सरकारमा, सदनमा, सडकमा कहिँ छैन । प्रश्न उठ्छ– कहाँ छ त कांग्रेस ? सही जवाफ हो कांग्रेस ‘कोमा’ मा छ ।

हो, कांग्रेस ‘कोमा’ मा छ, यो कुरा कंग्रेसजन सबैलाई थाहा छ । कांग्रेसजनहरु अपेक्षा गर्दछन : ओली सरकारको कुकृत्यमा र उसको पतनमा कांग्रेसको भलो छ । त्यसैले, ओली सरकारले जति कुकृत्य गर्यो, त्यति चाँडो निको हुँदै जान्छ कांग्रेस ! जति चाँडो सरकार पतन भयो, त्यति चाँडो उठ्छ कांग्रेस ! तर कांग्रेसी यो अपेक्षा मनको लड्डु घिउसँग खाने’ जस्तै हो । कतिपय चिज भित्रको समस्याको समाधान त्यो चिजको विकास गरेर मात्र सम्भव हुन्छ, विनास गरेर होइन । समाजमा देखिएका समस्याहरुको समाधान समाजलाई अघि बढाएर मात्र सम्भव हुन्छ, समाजलाई पछाडी धकेलेर होइन । प्रतिक्रियावादी /पुनरुत्थानवादीहरु अघि बढ्ने, नयाँ ढंगले विकास गर्ने कुरामा विश्वास गर्दैनन् । देश र जनताको क्रान्तिकारी रुपान्तरण र विकासमा उनीहरुले सधै प्रतिक्रिया जनाउने, पछाडी फर्कने र पुराना चिजहरुको पुनरुत्थानमा जोड दिने भएको कारण नै उनीहरुलाई प्रतिक्रियावादी पुनरुत्थानवादी भनिएको हो ।

सत्ताबाट फ्याँकिएका वर्ग र व्यक्तिले पुनः सत्तामा फर्कने सपना देखिरहन्छन । सपना देख्ने छुट सबैलाई हुन्छ । सपना देख्नु, चाहना राख्नु र अपेक्षा गर्नु अपराध होइन । हिजो राणा शासनको अन्त्य पश्चात आएको कांग्रेसी शासनमा राणाहरुले कांग्रेसको पतन पश्चात पुनः राणाकै पालो भन्दथे र त्यसैमा जोड दिन्थे । तर कांग्रेसको पतन पश्चात समयले पंचायत ल्याइदियो, भलै कांग्रेसभन्दा प्रतिगामी भएतापनि त्यो राणा शासन भन्दा एक कदम प्रगतिशील थियो । ०४६ को जनान्दोलनले निरङ्कुश राजतन्त्रात्मक पंचायतको अन्त्य गर्यो, संवैधानिक राजतन्त्रात्मक संसदवादको आरम्भ भयो । त्यतिबेला पूर्वपंचहरु भन्थे संसदवादको पतन पश्चात फेरि पालो पंचायती निरङ्कुश राजतन्त्र कै हो ।

तर महान जनयुद्धको जगमा भएको जनान्दोलनले राजतन्त्रकै अन्त्य गर्यो । राजतन्त्रको अन्त्य पश्चात जनता जनगणतन्त्रको स्थापना चाहन्थे, तर महान जनयुद्ध र जनान्दोलनका केही निर्णायक नेताहरुको गद्दारीका कारण मुलुकमा जनगणतन्त्र होइन, सामान्य गणतन्त्र स्थापना भयो । यो सामान्य गणतन्त्रको पनि अन्त्य अवश्यमभावी छ । पुनरुत्थानवादीहरु यसको अन्त्य पश्चात निरङ्कुश राजतन्त्रको पुनर्स्थापना चाहन्छन । प्रतिक्रियावादी यथास्थितिवादीहरु यही सामान्य गणतन्त्रको निरन्तरता चाहन्छन र त्यही सपना देख्छन । क्रान्तिकारीहरु यसको अन्त्य पश्चात जनगणतन्त्रको स्थापना चाहन्छन र त्यसको निम्ति अघि बढ्छन ।

ओली सरकारको पतन अवश्यम्भावी छ । ओलीको पतन पश्चात ‘कोमा’ मा रहेको कांग्रेस उठेर घुम्ने मेचमाथि बसेको सपना देख्ने छुट कांग्रेसजनलाई छ । ०४६ देखि ०७४ सम्म यो या त्यो ढंगले सत्तामा रहेको कांग्रेस ओलीको उदय पश्चात सत्ताच्युत भएर पानीबिनाको माछी झैँ भएको छ । यो अवस्थामा सत्तामा गडबढी देख्ने बित्तिकै कांग्रेसले आफ्नो सत्तारोहणको सपना देख्नु अस्वभाविक होइन । ओलीको यही गतिविधि रहेमा कमसेकम अहिले यही परिस्थिति मै र बढी से बढी अर्को चुनाव पछिको सरकारमा कांग्रेस उक्लिने कुरामा कांग्रेसजन ढुक्क देखिन्छन । तर सत्तामा बसेर कांग्रेसले गरेका देश घात र जनघातका कैयौ प्रमाणहरु जनताका खल्तीमा सुरक्षित छन । अर्को कुरा, पछाडी फर्केर होइन, आगाडी बढेर समस्याका समाधान खोजिनु पर्दछ । ओलीको बिकल्पमा कांग्रेस ल्याउनु/आउनु भनेको देशलाई पछाडी फर्काउनु हो । ओलीको विकल्प कांग्रेस सोच्नु पश्चगामी सोच हो, देश समाजलाई पछाडी धकेल्नु हो । विनास गर्नु हो । विनास, पश्चगमन, यथास्थितिवाद र पुनरुत्थानवाद समस्याको समाधान होइनन । कांग्रेश पुरानो सडे गलेको प्रतिक्रियावादी पार्टी हो, कांग्रेसलाई ओलीको विकल्प रोज्नु यथास्थितिवाद मात्र होइन पुनरुथानवाद पनि हो ।

के.पी.–पी.के को पार्टी नवप्रतिक्रियावादी पार्टी हो, त्यो पार्टीबाट नै ओलीको विकल्प खोज्नु यथास्थितिवाद हो । यथास्थितिवाद परिवर्तनको बाधक हो ! ओलीको ठाउँमा कांग्रेस, कांग्रेसको ठाउँमा पंच गर्दै पछाडी फर्कदै गर्दा हामी १०४ बर्षे जहानिँया शासनसम्म पुग्ने निश्चित हुन्छ ! के हामी पुग्न चाहेको ठाउँ त्यही हो ? अवश्य होइन । तसर्थ, ओलीको विकल्प प्रतिगमनमा होइन, अग्रगमन खोज्नु पर्दछ । विनासमा होइन, विकासमा खोज्नुपर्दछ । पछाडी होइन, आगाडी खोज्नु पर्दछ । यथास्थितिमा होइन, परिवर्तनमा खोज्नु पर्दछ । सारमा विकल्प ओली भन्ने एउटा पात्र र उसको सकारको होइन, सिंगो प्रतिक्रियावादी संसदीय ब्यवस्थाको खोजिनु पर्दछ । अर्को शब्दमा संसदीय ब्यवस्था अन्तर्गतको सरकार, व्यक्ति परिवर्तन होइन, प्रतिक्रियावादी संसदीय ब्यवस्थाको नै खारेजी गर्नु पर्दछ । र, त्यसको ठाउँमा नयाँ जनवादी ब्यवस्था स्थापना गर्नु पर्दछ ।

कांग्रेस २००७ को संघर्षमा तत्कालिन सत्ता र शासनका विरुद्ध लड्ने संघर्षशील शक्ति थियो । ०१७ देखि ०३६ हुँदै ०४६ सम्म केवल बहुदलको निम्ति मात्र भए पनि निरङ्कुश पंचायती सत्ताको विरुद्ध लड्ने सामान्य परिवर्तनकामी शक्ति थियो । र ऊ आमूल परिवर्तनकारी आन्दोलनको मित्र शक्ति थियो । तर ०४६ देखि ०५२ हुँदै आजपर्यन्त समयको गतिशीलतामा कांग्रेसले गति लिन सकेन । समाज विकासको नियम तथा देश र जनताको आमूल परिवर्तनको चाहनालाई उसले बुझ्न सकेन । बरु सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको शाससत्ताको ऊ रक्षाकवच बन्यो । अतः कांग्रेस नेपाली क्रान्तिको दुस्मन शक्ति बन्यो ।

समय, परिस्थिति तथा आन्दोलनको आवस्यकतामा पार्टी, संगठनहरुको जन्म र बिघटन हुन्छन । कुनै पनि पार्टी संगठनले एउटा निश्चित वर्गको प्रतिनिधित्व गर्दछ । निश्चित वर्गको प्रतिनिधि पार्टी संगठन रुपमा जेजस्ता र जेजति देखिए पनि सारमा अन्ततः एउटै र एकीकृत हुन्छन । सामन्त दलाल र नोकरशाही पुँजीपति वर्गको पुरानो प्रतिनिधि पार्टी हो कांग्रेस ! नेपाली जनताले गरेको ००७ को सशस्त्र संघर्षको कांग्रेसले नेतृत्व गर्यो । ०३६, ०४६ र ०६२/०६३ को जनान्दोलनमा यसले विशेष भूमिका निभायो, त्यो समयको माग थियो । अहिले समय धेरै अघि बढेको छ, परिस्थिति बदलिएको छ, तर कांग्रेस हिजो जहाँ थियो, आज पनि त्यहीं छ । उसको शोच, चिन्तन, कार्यशैली र कार्यदिशा हिजो जेजस्तो थियो, आज पनि उही र उस्तै छ । यसर्थ, कांग्रेसले अबको आन्दोलनको नेतृत्व गर्न सक्दैन । कांग्रेस रुढिग्रस्त, थोत्रो र जीर्ण भएको छ, तर समस्या नयाँ छन ।

यसर्थ, नयाँ परिस्थितिको सामना गर्न पुरानो कांग्रेसले नसक्ने भएपछि आफ्नै वर्गले कांग्रेसको साथ छोडेको छ । स्वदेशका सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गले पुरानो कांग्रेसको साथ छोडेर नयाँ कांग्रेस (नेकपा) गठन गरेको छ । नयाँ समस्याहरुसंग जुध्न र नयाँ भ्रम सिर्जना गरेर नेपाललाई थप लुट्ने माध्यम बनाउन पुरानो कांग्रेस अयोग्य देखे पश्चात विदेशी प्रभुहरूले पनि नयाँ कांग्रेस (नेकपा) लाई नै आफ्ना नयाँ दलाल चयन गरिसकेका छन । यो अवस्थामा अब ‘कोमा’ मा रहेको कांग्रेस के गर्ला ? यो प्रश्न न्यायप्रेमी ईमान्दार तथा देशभक्त कांग्रेसजनको निम्ति चिन्ताको प्रश्न हो । यो विषय सर्वसाधारणको निम्ति जिज्ञासा र कौतुहलताको विषय पनि हो । अबश्य यो अवस्थामा कांग्रेसको निम्ति सम्भव र असम्भव चारवटा बाटा छन ।

पहिलो : आफूलाई शीरदेखि पैतालासम्म रुपान्तरण गरेर, टाउकाले टेकेर पश्चिम हिँडेको मान्छे खुट्टाले टेकेर पूर्व हिँडे झैँ हिँड्नु अर्थात सर्वहारा वर्गको प्रतिनिधि पार्टी र नेता बन्ने । यो बाटो व्यक्तिगत रुपमा इमान्दार, न्यायप्रेमी, उत्पीडित तथा देशभक्त कांग्रेसजनहरुको निम्ति सम्भावनाको बाटो हो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका थुप्रै दिग्गज नेताहरु विगतमा रुपान्तरित भएर कांग्रेसबाट यसरी नै आएका छन । पुष्पलाल, मोहनबिक्रम, निर्मल लामा लगायत सयौं यस्ता उदाहरण हामीसंग छन । तर संस्थागत रुपमा यो बाटो कांग्रेसको निम्ति लगभग असम्भव छ । 

दोस्रो :  नयाँ कांग्रेस (नेकपा) मा समाहित हुने । व्यक्तिगत स्वार्थ र लाभ हानीको कुरा मिलेको खण्डमा सिद्धान्त, विचार, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति एउटै भएकोले यो सम्भावनाको बाटो हो । तेस्रो : नयाँ प्रजा परिषद बन्ने । नयाँ नीति, नेता, विचार, दृस्टिकोण, सिद्दान्त, कार्यक्रम, कार्यशैली, कार्यदिशा, कार्यनीति र रणनीतिको विकास नगर्ने केवल इतिहासको ब्याजबाट मात्रै पार्टी चलाउने दुस्साहस गरेमा यो पनि सम्भावनाको बाटो हो । चौथो : पार्टी विघटन गर्ने । कांग्रेसको वर्तमान गतिविधि हेर्दा सबभन्दा बढी सम्भावना बोकेको बाटो यही हो । यो सम्भावना यथार्थ साबित भयो भने सुनिश्चित छ ‘कोमा’ बाट फर्कदैन कांग्रेस !